नेकपाद्वारा कञ्चनपुरको बेलौरीमा जनसभा

नेकपाद्वारा कञ्चनपुरको बेलौरीमा जनसभा

काठमाडौँ : कञ्चनपुरको बेलौरीमा नेपाल कम्युनिस्ट पार्टीले जनसभा सम्पन्न गरेको छ । नेकपा कञ्चनपुरको आयोजनामा मङ्गलबार बेलौरीको गोकुलपुरमा जनसभा भएको हो ।

जनसभालाई नेकपाका केन्द्रीय सदस्य ओमप्रकाश पुनले सम्बोधन गरेका छन् । पुनले आफुहरुले सबैलाई समान अधिकार प्रदान गर्ने वैज्ञानिक समाजवाद सहितको राज्यसत्ता स्थापना गर्न चाहेको बताएका छन् ।

उनले आफ्नो पार्टीले यो देशमा भएका अन्यायको विरुद्ध आवाज उठाउँदा, जनताको अधिकारको पक्षमा बोल्दा, भ्रष्टाचारको विरोध गर्दा, नेपालमा समान शिक्षा प्रणाली लागु हुनुपर्छ, सबै गरिबका छोराछोरीले पढ्न पाउने शिक्षा प्राविधिक र व्यवहारिक शिक्षा हुनुपर्छ भन्दा प्रतिबन्ध लगाएको बताए । कैयौँ नागरिकहरू स्वास्थ्य उपचार नपाई तड्पिएर मरिरहेको भन्दै स्वास्थ्य उपचारमा सबैको पहुँच हुनुपर्ने उनले बताए ।

उनले नेपालमा कृषकहरूको स्वामित्वमा जमिन नभएको तर केही मुठ्ठिभर दलाल र सामन्तको नियन्त्रणमा हजारौँ बिगाह जमिन रहेको भन्दै आफुहरूले भुमि माथिको असमान स्वामित्व अन्त्य गर्न चाहेको बताए ।

सबै किसानले भूमि पाउँछ भने, यहाँ युवालाई रोजगारी दिइन्छ भने, उत्पीडित जनतामाथिको उत्पीडन हट्छ भने, ६० लाख सुकमबासीलाई जमीन दिइन्छ भने हाम्रो पार्टी सबैसँग सहकार्य गर्न तयार छ उनले भने । आज पनि नेपालमा दलितमाथि छुवाछुत कायमै रहेको, महिलामाथिको उत्पीडन नहटेको भन्दै उनले सबैखाले असमानताको अन्त्य गर्न वैज्ञानिक समाजवाद आवश्यक रहेको बताए । वर्तमान दलाल संसदीय व्यवस्थाका कारण देशमा हत्याहिंसा बलात्कार जस्ता जघन्य अपराधका घटना बढिरहेको र सरकारले नै अपराधीको संरक्षण गरिरहेको उनको भनाइ थियो । सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि हटाथ प्रतिबन्ध लगाएर जनताको आवाजमाथि बन्दुकले दमन गर्न खोजेको भन्दै सरकार प्रतिबन्ध हटाउन तयार भएपछि आफ्नो पार्टी वार्तामा आएको उनको भनाई थियो । तीन बुँदे सहमति पछि नेकपा सरकारमा जान खोजेको, केपी ओलीसँग एकता गर्न लागेको जस्ता भ्रम फैलाइएको भन्दै आफ्नो पार्टी जनताको अधिकार स्थापित नगरेसम्म लडिरहने बताए । वर्तमान संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था भनेर व्यवस्थाको फैसला गर्ने अधिकार जनतालाई दिनुपर्छ भन्ने आफ्नो पार्टीको भनाई रहेको उनले बताए ।

‘हामीले वार्तामार्फत हामी सरकारसँग सहकार्यमा छौँ, तर सरकारले वार्ताका क्रममा गरेका प्रतिबद्धता पूरा गर्नुपर्छ, उनले भने । तर, सरकारले वार्तामा गरेका सहमतिलाई कार्यान्वयन गर्न ढिलाई गरेकोले सरकार सहमतिप्रति इमानदार छैन कि भन्ने शंका पैदा भएको उनको भनाई थियो । आशा छ सरकारले आफ्नो इमान्दारिता पक्कै देखाउने छ ।

नेकपा बेलौरी इन्चार्ज मनसिंहको अध्यक्षतामा भएको कार्यक्रममा व्युरो सदस्य विवेक कुमाल, कञ्चनपुर जिल्ला इन्चार्ज आकाश, महिला नेतृ पुर्णिमा धामीलगायतका नेताकार्यकर्ताले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :