रुन त तिमीहरू पर्ने हो !

श्रमिक मजदुर विरोधी शासकको अवसान निश्चित छ

यतिखेर रुनेहरू हाँसिरहेका छन् । हाँस्नेहरू डाँको छोडिरहेका छन् । मुस्कान हराएको हाँसोको कुनै अर्थ छैन तर पनि कृतिम हाँसो हाँस्नेहरू र वास्तविक रोदन आँसु खसाल्नेहरूको बीचमा द्वन्द्व चर्किरहेको छ । व्यवस्था उल्टिएको छ । बाध्यता बढ्दो छ समस्या यत्रतत्र बग्रेल्ती असरल्ल अवस्थामा ज्यूँकात्यूँ नै छन् । हाँसी हाँसी बलिदान दिन तयार रहेका सपुतहरू आज संकट र समस्याको खातमा पल्टिरहेका छन् भने गरिब श्रमजीवी मजदुर किसान दुःखी जनताहरूलाई मृत्यु शैय्यामा शूली चढाई आफूहरू भने भव्य तथा आलिसान महलमा मखमली विछ्यौनामा च्यादर ओच्छाई मस्त निद्रामा डुबिरहेका छन् । तिनीहरूलाई चिन्ता आफ्नै छ । चासो आफ्नै छ । दुनियाँको जेसुकै होस् मतलब छैन । लोभ र लालचमा रमाइरहेका यिनीहरू लोभ र पापको कुण्डमा डुबेका छन् । सन्तान सुखतम् परम सुखमा भन्ने परात्मावादी सोचबाट ग्रसित छन् । केवद आफ्ना शाखा सन्तान नातागोता इष्टमित्र आसोपासेको खुबै चासो राख्दछन् तर यहाँको बहुसंख्यक श्रमजीवी मजदुरहरूको यिनीहरूलाई रत्तिभर चिन्ता छैन । व्यक्तिगत लोभ र लाभमा अलाप रप्ने श्रमजीवी जनताको वास्तविक जीवनको ख्याल नगर्ने समूह र भिडलाई वाध्य भएर नेताको उपाधी दिनुपरेको छ ।

यिनीहरूको महिमा गाउनुपरेको छ । यिनीहरूलाई आफू नेता भएकोमा गर्भ त लाग्ला तर अशान्ति, भोकमरी, गास बास शिक्षा स्वास्थ्यमा आफ्नो पहुँच राख्न नसक्ने लाखौँ श्रमजीवी मजदुर र जनताहरूले यिनीहरूलाई कसरी हेरिरहेका छन् मजदुर विरोधी व्यवस्था जन्माउने यी नालायकको विकल्पमा आम श्रमजीवीहरूले के सोचिरहेका होलान् प्रश्न अनुत्तरित छन् तर श्रमजीव उत्तर खोजिरहेका छौँ । जवाफ मागिरहेका छौँ । वास्तविक जीवन भोगाईहरूमा अत्यन्तै कठीन र जोखिम जीवन बिताउन बाध्य श्रमिक मजदुर वर्ग हो । यिनीहरूका संघर्ष अभाव र दैनिकीको विषयमा संसारका चर्चित लेखक, साहित्यकार, चिन्तक विचारकहरूले लेखे कहानी बनाए पुरस्कार हात पारे तारिक कमाए तर १६ औँ शताब्दीदेखि नै आफ्नो अमूल्य जीवनको कुनै पर्वाह नगरी विश्वव्यवस्था बदल्न संघर्षरत श्रमिक मजदुर वर्गले अहिलेसम्म अर्थात् २१ औँ शताब्दीसम्म पनि के उपलब्धि हासिल गरे ? दुईछाक टार्न पाउनुपर्ने सपना त्यत्तिकै अधुरो रहेको छ ।

श्रमिक मजदुर वर्गको आशा र भरोसाको ढोका त्यतिबेलाको महान् गुरु कार्ल माक्र्स एंगेल्सले सन् १८४७÷४८ मा कम्युनिस्ट घोषणा पत्रमार्फत् संसारका मजदुर एक होऔँ भन्ने मूल नाराको साथ खोलिदिए पनि झण्डै १६९ वर्ष बितेको छ । श्रमिक मजदुरहरूको सामान्य परिवर्तनबाहेक मजदुर शोषणको जंजिर सदाको लागि चुँडाल्न सहिरहेका छैनौँ । कारणहरू विभिन्न हुन सक्छन् तर प्रमुख कारण भने पुँजीपति वर्गको वर्गीय सत्ता खोस्न नसक्नु खोसेको सत्ता टिकाउन नसक्नु नै मुख्य कारण हुन् । जतिखेर पनि पुँजीपति शासक वर्गसँग ज्यू हजुरी गर्नुपर्ने । प्राप्त गरेका अधिकारहरूको रक्षा गर्न नसक्नु रगा र विकासको सन्तुलन कायम राख्न नसक्नु आफैँभित्रक खराबीहरूलाई चिर्न नसक्नु, दुनियाँ बदल्न हिंडेकाहरूमा नै गम्भीर समस्या देखियो । हाम्रा आन्तरिक समस्यले गर्दा बाहिरी परजीवीहरूको संक्रमण देखिनै रहेका छन् । श्रमजीवी मजदुरहरूको रोजीरोटीको मागलाई आफ्नो पथप्रदर्शक बनाउने उनीहरूको दुखकष्टमा मल्हमपट्टी नलगाउने तत्वहरूले मजदुर संगठनलाई प्रदुषित मात्र गराएका छैनन्, एकपछि अर्को ध्वस्त बनाउँदै हिंडिरहेका छन् । यिनै सेरोफेरोमा मजदुर संगठनहरू फेरो मारिरहेको छ । गोलचक्कर काटिरहेको छ । त्यसकारण अब हामीले पुरानो ढर्राबाट होइन नयाँ शिराबाट अगाडि बढाउनुको विकल्प छैन । यसको सर्वप्रथमत पार्टीको कार्यदिशाअनुसार मजदुरहरूलाई बुझाउने बदल्ने विकास गर्ने सिद्धान्तमा आधारित संगठनहरू आवश्यक छ । शोषणको चरित्र बदल्ने विश्व पुँजीवादले अनेकौँ षड्यन्त्रमा मजदुर वर्गमाथि शासन सत्ता थोपरिरहेका छन् । गरिब देशका श्रमशक्तिलाई सस्तोमा खरिद गरी नारकीय दास जीवन जिउन बाध्य बनाइएका छन् भने देशका दलाल सत्ताले मजदुरको सामान्य अधिकारसम्म पनि कटौती गर्ने विदेशमा पलायन बनाउन लागि परेको देखिन्छ । उद्योगधन्दाको विकास गर्नेभन्दा पनि विभिन्न वहानामा अन्य देशमा श्रम बेच्न धकेलिरहेका छन् । त्यसकारण यिनीहरूको प्रतिवाद गर्न स्वदेशमै रोजगारीको सिर्जना गराउन संघर्ष अगाडि बढाउन अनिवार्य हुन आउँछ । त्यसका लागि सर्वप्रथम मजदुर संगठन भनेको के हो ? अहिलेको वर्तमान परिस्थितिमा यसको चारित्रिक विशेषता कस्तो रहेको छ ? संगठन निर्माण र परिचालन कसरी गर्न सकिन्छ भन्ने विषयमा आधारभूत ज्ञान हासिल गर्नुर्दछ ।

१. मजदुर संगठन भनेको के हो ?

दलाल पुँजीपति वर्गको दासत्व जीवन जिउन बाध्य पारेका आधुनिक श्रमिको अधिकारको लागि पहलकदमी लिने समूह दस्ता वा मोर्चालाई मजदुर संगठन भनिन्छ । मजदुरहरूको दैनिक जीवनमा बाँच्नसम्म पनि धौधौ पार्ने श्रमिकहरूको वेतन सुविधामा अन्याय गर्ने अधिक श्रम लगाउने श्रमको तुलनामा कम ज्याला दिने सुविधा कटौती गर्ने खालको हर्कतहरू मालिकले गरिरहेका हुन्छन् । औद्योगिक कलकारखाना फ्याक्ट्रीहरूमा अहिलेको बुर्जवा श्रम ऐन कानुनसम्म पनि पालना गरिरहेका हुन्छन् । पैसाको आडमा राज्यको कानुन हातमा लिई मुनाफा असुलीरहने दलाल पुँजीपतिहरूको विरुद्ध निर्मम संघर्ष चलाउने, अधिकारको लागि सचेत गराउने सचेत अगुवा तथा अग्रगामी दस्ता नै संगठन हो । राज्यको सत्तावर्ग चरित्रको कारण सत्तासीन र मालिकको छलफल र सहकार्यबाट शोषणको रूपलाई झन् बलियो बनाउने कानुनको रूपमा श्रम ऐन बनाएर लागू गर्दछन् । श्रम ऐन नियमहरू श्रमिक मजदुर विरोधी हुँदाहुँदै पनि हात मुख जोड्नुपर्ने बाध्यताले गर्दा कानुनको अधीनमा मजदुर वर्गलाई वाध्य पारिन्छ । विभेदको सामना गरेर भए पनि रोजीरोटीको लागि भोक टार्न श्रम गरिरहेका मजदुर हरूलाई न्याय स्वतन्त्रता अधिकारको लागि स्थापित संगठन नै मजदुर संगठन हो । यस विभेदकारी नारकीय जन्जिरको घेरा तोडन्का लागि संगठित हुने आफ्ना जायज माग तथा गुनासाहरूलाई मालिकसामु प्रस्तुत गर्न मागहरूलाई कार्यान्वयन गराउन मजदुर संगठनको मद्दत चाहिन्छ । त्यसैले कानुनी अधिकारको सुनिश्चित गर्न शोषणकारी श्रम अधिकारको रक्षा गर्न भए पनि संगठन बनाउन मजदुर बाध्य हुन्छन् । यसलाई पुँजीपति वर्गको भाषामा ट्रेड युनियन अधिकार पनि भनिन्छ । जब ट्रेड युनियन ट्रेड युनियनवादमा फस्दछ, त्यसले पुँजीपति वर्गको कालो कानुन लागु गराउने दिशातिर उन्मुख बन्दछन् । यसमा हामी सबै सचेत हुन आवश्यक हुन्छ । ट्रेड युनियनवादले मजदुरहरूको जुझारुपना क्रान्तिकारी हस्तक्षेप र संघर्ष तथा विद्रोहहरूलाई निस्तेज पार्न ट्रेड युनियन अधिकार नै ट्रेड युनियनवाद हो भन्ने व्याख्या गर्ने गर्ने गरेको छ । दुनियाँभरि श्रम ऐन र ट्रेड युनियन अधिकारलाई पूरक बनाएर हेर्ने गर्दछ ।

मजदुर विरोधी नीतिलाई लागू गर्न मजदुर विरोधी ऐनको अधीनमा राखी यसलाई लागू गर्ने प्रयत्न गरिन्छ । यी सबै खराबीहरूलाई समाप्त पार्नकै लागि आम श्रमिक मजदुर वर्ग संगठित हुन जरुरी हुन्छ । दुई वा दुईभन्दा माथिको संख्यामा रहेका प्रतिष्ठानका मजदुरहरूले ट्रेड युनियन गठन र निर्माण गर्न सकिन्छ । ट्रेड युनियन अधिकारलगायत पेसाको रक्षा एवं हक अधिकारको लागि श्रम विभागले एकाइ समिति वा ट्रेड युनियन दर्ता गर्न सक्ने व्यवस्था गरेको छ । मुख्यतः विद्यमान श्रम ऐन ट्रेड युनियन अधिकारलाई कार्यान्वयनको तहमा पु¥याउने अधिकारकर्मीहरूलाई नै संगठित सदस्य । यो आर्थिक राजनीतिक सामाजिकसँग पनि सम्बन्धित हुन्छ । अधिकांश ट्रेड युनियनहरू विचार राजनीति र दलहरूबाट संचालित छन् । कुनै दलका ट्रेड युनियनहरू बोर्डमा मात्र सीमित छ भने कोही मजदुरहरूको बीचमा लोकप्रिय छ । असमान व्यवस्थाको खातिर क्रान्तिकारी संघ संगठनहरूले आफ्नो मातहतमा बनाएका समितिहरूले मजदुर विरोधी सगठनहरूको विरोध गर्ने क्रान्तिकारी हस्तक्षेपद्वारा राजनीतिक अधिकार पेसाका हकहितको रक्षालगायत सिंगो राज्य आतंकको विरुद्धमा मजदुरहरूलाई सुसूचित गर्ने, संगठित गर्ने श्रमिक मजदुरहरूको रोजरोटीको बारेमा सहयोग गरिरहेका हुन्छन् भने यथास्थितिवादी राजनीतिक दलका ट्रेड युनियनहरूले मजदुर विरोधी श्रम ऐनको रक्षा गर्ने लागू गराउने सुधारवादी कार्यक्रम अन्तर्गत मजदुर वर्गलाई दिग्भ्रमित गराइरहेका हुन्छन् । आदर्शवादको जलप लगाई मालिकको पक्षमा हित गर्ने मजदुरहरूलाई गुलियो भुलभुलैयामा डर र त्रासको बीच सास्ती दिइरहेका हुन्छन् । यो सबै भ्रम तोड्नको लागि असमानता, अन्यौलतालाई परास्त गर्नको निम्ति सुधारवाद ट्रेड युनियन संशोधनवादी ट्रेड युनियनहरूको विरोध गर्ने भण्डाफोर गर्ने विद्रोह गर्ने न्यायको पक्षमा उभिने साहस गर्ने र क्रान्तिकारी मजदुर संगठनमा आवद्ध हुनुपर्दछ । वर्ग दुश्मनलाई कित्ताकार्ड गरी मजदुरको दीर्घकालीन भलाईको लागि खडा भएको अग्रणी साथ दिने र भरोसायोग्य समितिमा विश्वास राख्नुपर्दछ । मुख्य संगठनको रूपमा अनवरतसम्म पनि मजदुरहरूको हितमा समर्पित हुने संगठन नै क्रान्तिकारी संगठन हो ।

अहिलेको मजदुरहरूको चारित्रिक विशेषता कस्तो हुन्छ

श्रमिक मजदुर वर्ग यहाँसम्म आइपुग्दा पुँजीवादी भूमण्डलीकरण रहेछ भन्ने कुरा स्पष्ट भइसकेको छ एकछत्र आफ्नो शोषणको रूप बदली हस्तक्षेप गरिरहेका पुँजीवादी व्याख्या भएको देशहरूमा शारीरिक श्रम मानसिक श्रम र बौद्धिक श्रमलाई घालमेल गरी अतिरिक्त मूल्यको केही हिस्सा मजदुरहरूलाई वितरण गर्ने सेवा सुविधान दिएको जस्तो बनाई मनोवैज्ञानिक असर पारिरहेका छन् । मालिकको विरुद्ध मजदुर नउत्रियोस् भन्ने हेतुले गर्दा उपभोक्तावादी सोच बजारमुखी अर्थ विकास केही हिस्सा भौतिक सुविधा दिई परम्परावादी मजदुर कार्यशैलीलाई आधुनिकमुखी बनाउने कसरत पुँजीपति दलालहरूले जोडतोडले कार्यान्वयनमा लागिरहेका छन् । श्रमिक मजदुरहरूको जीवनशैली ठाँटबाट हेर्दा कतै आफू मजदुर होइन कि भन्ने भान पर्न जान्छ । विकसित देशहरूमा श्रमशक्ति र आधुनिक प्रविधिहरूको समुचित प्रयोग गरी आधुनिकीकरणमा उन्मुख भइरहेका छन् । प्राकृतिक उल्झन व्यवधानलाई परास्त गर्ने आधुनिक मेसिन औजार संशोधनले गर्दा केही फरक कार्यशैली जीवन–व्यवहार श्रमिक मजदुरहरूमा देखे पनि श्रम र पुँजीको अन्तरविरोध भने झन् बढी चुलिंदै गइरहेको छ । व्यस्त जीवनशैलीले गर्दा श्रमिक मजदुर वर्गको सामूहिक जीवन नष्ट भइरहेको छ । उदाहरणहरू प्रशस्त छन् । जस्तो श्रीमान श्रीमतीको बीच सम्बन्ध बिग्रिनु, सन्ततिहरू लागू औषधको दुव्र्यसनी हुने अर्थात् असल संस्कार संस्कृतिको लोप भैरहेको छ । यी सबै हुनु पुँजीपति वर्गले आफ्नो रणनीतिक लक्ष्य प्राप्त गर्न गरेको नियोजित कदमको रूपमा बुझ्न सकिन्छ ।

मालिकहरू रातारात अर्बपति बन्ने श्रमिक मजदुरहरू दिनदिनै रोडपति बन्ने उपचारको अभावमा भौतारिनुपर्ने शारीरिक मानसिक जोखिम मोल्दै भोको पेटको खाली र जीवन गुजारा चलाउनकै निम्ति आफ्नो जिन्दगाी नै पुँजीपति वर्गको हातमा सुम्पिदिनुपर्ने अर्थात् न्यायको भिख माग्नुपर्ने अवस्था छ । अरबको खाडीमा काम गर्ने श्रमिक मजदुहरूलाई शारीरिक श्रमको आधारमा विभेद गरिन्छ । अफिस वर्कर र लेबरहरूबीच कहिले पनि सुमधुर सम्बन्ध हुँदैन । सुटटाई लगाउनेहरूले डाङ्ग्रे लगाएर बेल्चा समात्नेहरूलाई हेयको दृष्टिले हेर्ने गर्दछन् । बस्ने–खाने सुत्नेसम्म पनि कामको आधारमा तय गरिएको हुन्छ । सस्तो रेटमा ऊर्जाशील युवा श्रम बेच्न बेलगाम अर्काको देशमा जान बाध्य छन् । यहाँको आदर्शवादीहरू ठूला ठूला मञ्चमा गई रेमिट्यान्सबाट मुलुक चलेको भाषण छाँट्छन् र गर्व गर्छन् । प्राकृतिक स्रोत साधनलाई विदेशीको सामु सुम्पेर प्रचुर संभावना बोकेको नेपाललाई कंगालहरूको भूमि बनाउन कम्मर कसेर लागिरहेका छन् । नेपालको श्रम बजार हेर्ने हो भने दुईवटा विशेषताको श्रमिक मजदुहरू छन् –

(१) संगठित क्षेत्रका श्रमिक मजदुर (२) असंगठित क्षेत्रका श्रमिक मजदुर । संगठित क्षेत्रका मजदुर भन्नाले कुनै राजनीति आस्थावान वा स्वतन्त्र निर्माण गरी समिति प्रणालमा आवद्ध रही औद्योगिक क्षेत्र उद्योग कल कारखानामा फ्याक्टीलगायत प्रतिष्ठान स्थानको कामदार कार्यरत स्थानमा रहने श्रमिकहरू संगठित क्षेत्रभित्र पर्दछन् । असंगठित मजदुरहरू राज्यले असंगठित क्षेत्र भनेर परिभाषा गरेका क्षेत्रमा कार्यरत ज्यालादारी ठेकेदारी करार या काम श्रमिकहरू पर्दछन् । संगठित क्षेत्रमा पनि करार प्रथा ठेकेदारी प्रथा त हुन्छ तर विशेषगरी यातायात निर्माण ढुवानी रिक्शा आदि पेशामा कार्यरत श्रमिक मजदुरहरूलाई असंगठित क्षेत्र घोषित गरिएको छ । कामको प्रकृतिअनुसार यो क्षेत्र स्थिर प्रतिष्ठानभित्र हुँदैन चलायमान पेसा भौगोलिक फेरबदल भइरहने पेशाका रूपमा यसलाई लिइन्छ । कानुनी दृष्टिले सेवा सुविधा अधिकारको दृष्टिकोणले अत्यन्तै जोखिम पेशा हो । त्याय स्वतन्त्रताको लागि यो संगठनमा सूक्ष्म अध्ययन गर्नुपर्ने प्रभावकारी कदम चाल्नुपर्ने क्षेत्र हो । यी दुई चरित्रका पेशा संगठनलाई व्यवस्थित रूपमा परिचालन गर्न राजनीति स्थायित्व हुन आवश्यक छ । वैचारिक स्पष्टताले मात्र पेसागत मर्यादालाई सम्बोधन गर्न सकिन्न ।

राजनीतिक सैद्धान्तिक मत भिन्नताले पनि राजनीतिक दलमा सहकार्य नहुने हुँदा मिलेका एजेण्डा र मुद्दाहरूमा श्रमिक मजदुरहरूको बृहत् हितमा ट्रेड युनियनकर्मीहरूको संयुक्त मोर्चा बन्न सकिरहेको छैन । केही बनेको संयुक्त मोर्चा पनि आपसी सहकार्यको अभावले गर्दा आ–आफ्ना गतिविधिहरू मात्र अगाडि बढाइरहेका छन् । विदेशी आईएलओसँग साँठगाँठ गर्नेहरूले मजदुर संगठनलाई केवल मागी खाने थलोको रूपमा अगाडि बढाइरहेका छन् । हाल नेपालको श्रमिक मजदुर आन्दोलन दिशाविहीन बन्दै जानुको मुख्य कारणहरूमा (१) मजदुर संगठनहरू ट्रेड युनियनवादमा फस्न पुग्नु (२) वर्ग समन्वयकारी भूमिकामा संगठनलाई अगाडि बढाउनु (३) अर्थवादी संगठन विस्तार गर्नु (४) वर्गीय पक्षधरताले अभिजातीय वर्गको सेवामा लाग्नु (५) मजदुरहरूको अधिकार सम्पन्न बनाउने दलाल पुँजीपतिसँग मिल्न पुग्नु (६) श्रमिक मजदुर विरोधी श्रम ऐन विधेयकको समर्थन गर्नु (७) मजदुर र मालिकको अन्तरविरोधमा खेल्नु (८) श्रमिक मजदुर हरूलाई राजनीति चेतनाको विकास नगराउनु (९) सुधारवाद र संशोधनवादी सोचले मजदुर संगठनभित्र घर गर्नु (१०) दीर्घकालीन सोचको विकास गराउनु नसक्नु आदि हुन् । यी समस्याहरूलाई समाधान गर्न वैज्ञानिक सोच राजनीतिक सु–स्पष्ट विचार कार्यनीतिक दृढताले नै श्रमिकले चाहेको व्यवस्था र उद्देश्य प्राप्त गर्न सकिन्छ । यसको लागि दृढ संकल्प उच्च मनोबल दरो आत्मविश्वासले नै ट्रेड युनियन आन्दोलन अर्थात् श्रमिक मजदुर संगठनभित्र देखा परेका नैराश्यता, उदासीनता, अर्थ मान्यतालाई अन्त्य गर्न सकिन्छ । राज्यद्वारा अपहेलित वर्गको रूपमा श्रमिक मजदुरहरूलाई लिएको छ । यहाँ निजामति कर्मचारीहरूको भने वर्षैपिच्छे तलब वेतन सेवा सुविधा वृद्धि भइरहेको मालिकको निगाहबाट प्राप्त हुने तलब ज्यालामा बाँच्न विवश हुनुपर्ने बाध्यता मजदुरहरूलाई छ । अर्थव्यवस्थाको मूल हिस्सा श्रमशक्तिको अपार खानी श्रमिक मजदुरहरू आज पनि राज्य र मालिकद्वारा शोषित भइरहनुपरेको छ । ७ सयमा पाउने ग्याँस १४०० पुग्दा पनि मजदुरको तलब १४ रूपैंया बढ्दैन । १८ रूपैंया प्रतिकेजी चामल ६३ रूपैंयामा किन्न बाध्य छौँ तर श्रमिक मजदुरहरूलाई सहुलियत दरमा खाद्यान्न वितरण गर्न सक्दैन । यो राज्य १५०० को कोठाभाडा ५००० पुग्दासम्म पनि अनाधिकृत भाडा तिर्न विवश छन् मजदुरहरू ।

नियमन तथा अनुगमन निकाय निकम्मा भएर बसेको छ । औद्योगिकीकरणको अवधारणा अन्तर्गत औद्योगिक क्षेत्रको घोषणा गरी प्रतिष्ठान उद्योग कलकारखाना संचालन गर्नुपर्ने नीतिअनुरूप काठमाडौँमा रिङरोडको बाहिरको क्षेत्रलाई औद्योगिक विकास क्षेत्र निर्धारण गरी ऐन कानुन बनेको छ तर यहाँका दलाल पुँजीपति बेलगाम घरघरमा फ्याक्ट्री संचालन गर्ने उद्योग कलकारखाना चलाउने मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने वातावरण प्रदूषित हुनेखालका धन्दा संचालन गरिरहेका छन् । यसको विरुद्ध सरोकारवाला निकाय मौन छन् । कमिसन र नाफाको लोभमा राज्य प्रशासन चुपचाप बसिरहेको छ । श्रमिक मजदुरहरूको गाँस बासलाई बेवास्ता गर्ने राज्य सरकारको विरुद्ध हामी किन चुप रहने हालै राज्यद्वारा मजदुरको दैनिक ज्याला ३९५ तोकिदिनु मजदुरहरूको न्यूनतम तलब ६२०५ महङ्गी भत्ता रु ३४९५ कायम गरिदिनाले नै दलाल सत्ताको दोहोरो चरित्र उदाङ्गो भएको छ । ठूला ठूला आन्दोलनहरूमा रक्तरञ्जित झण्डा र ब्यानरमा राजनीति, क्रान्ति, स्वतन्त्रता र परिवर्तनको लागि अग्रभागमा लामवद्ध हुनुपर्ने श्रमिक मजदुर तिनै संघर्षहरूबाट प्राप्त अधिकारको दुरुपयोग गर्ने राज्य अंग सम्भ्रान्त भ्रष्टाचारी र संसदीय राजनीतिक दलका नेताहरू यिनीहरू त लाज पचाएका मान्छेहरू हुन् । हामी श्रमिक मजदुरहरूले जिते संसार हारे हतकडी भनी राज्यका भेदभाव असमानताको विरुद्ध कफन बाँधेको श्रमिक मजदुरहरू हौँ । आइपरे जस्तोसुकै आँधी हुरीको सामना गर्न तत्पर रहेका छौँ । तिमीहरू राज्यको आडमा लुटतन्त्रका मसिहा बनिरहेका छौ । श्रमिक मजदुर विरोधी शासकको अवसान निश्चित छ । हामीहरू हाँसी हाँसी बलिदान दिन तयार छौँ, अब त डाँको छोडी रुने बेला तिमीहरूकै हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :