सञ्चारयुद्ध – सम्पादकीय

वर्गसमाजमा मानवजीवनसँग गाँसिएका सबै पक्ष वर्गीय हुन्छन् । जीवनदर्शन नै वर्गीय भएपछि त्यससँग आबद्ध विचार, राजनीति, संस्कृति, अर्थ, कला, सञ्चार, सूचना, प्रविधिलगायत क्षेत्र पनि वर्गीय हुने नै भए । यो अकाट्य सत्य हो । श्रमजीवी, मजदुर, किसान, महिला, बौद्धिक तथा सर्वहारावर्ग र यसले वर्गमुक्तिका लागि सञ्चालन गरेको वर्गसङ्घर्ष अघि बढाउने क्रममा दर्शन, विचार, राजनीति, प्रविधि, सेना, हतियारलगायत क्षेत्रको जति महत्व छ सूचना र सञ्चारको महत्व पनि त्योभन्दा कम छैन । त्यसैले यो वर्गसमाजमा सामाजिक जीवनका अन्य पक्षजस्तै सञ्चार, सूचनाप्रविधि र यसको सञ्चालन पनि वर्गीय नै छ । एउटा पक्षले सूचनाप्रविधि, आमसञ्चार र राज्यको चौथो अङ्गका नाममा सत्तासीन शोषक वर्ग, शोषणप्रधान सत्ता र उसका अवयवका पक्षमा सूचना सञ्चार गर्छ भने अर्को पक्षले श्रमजीवी श्रमिक, उत्पीडित तथा न्याय र मुक्तिका पक्षमा लडिरहेको सर्वहारा वर्गका पक्षमा सूचना प्रवाह गर्छ । त्यसैले वर्गसमाजमा दर्शन र दर्शनका बीच, विचार र विचारका बीच, राजनीति र यससँग गाँसिएका विविध पक्षका बीच जसरी दृश्य वा अदृश्य रूपमा, प्रत्यक्ष वा परोक्ष रूपमा सङ्घर्ष सञ्चालन भइरहेको हुन्छ सञ्चारमा पनि त्यसैगरी सङ्घर्ष जारी छ । सर्वहारावर्ग मुक्त नभएसम्म यो जारी रहन्छ । यसका लागि उत्पीडितवर्गले पनि सञ्चारमा पहुँच बढाउनु र यसको प्रयोगलाई व्यापक र प्रभावकारी बनाउनु आवश्यक छ ।

प्रतिक्रियावादी शासक वर्गले सत्ता र शक्तिको प्रभावमा पारेर निगम पुँजी प्रवाह गराएर ठूला सञ्चारगृहहरू सञ्चालन गरे–गराएका छन् । मिडियाका बिग हाउसहरूले आफ्नो वर्गका पक्षमा सन्देश प्रवाह गरे–गराएका मात्र छैनन्, उनीहरूले सत्तामा आफ्नो वर्गस्वार्थअनुकूलका पात्र, प्रवृत्ति र समूहहरू चयन गराएर आफ्नो स्वार्थ पनि पूर्ति गराउँदै आएका छन् । प्रतिक्रियावादी, यथास्थितिवादी सत्तासञ्चालित बिग हाउसहरूले निगम पुँजी र दलाल पुँजीको बलमा सत्ता नै उलटपुलट गराएका दृष्टान्तहरू छन् । प्रविधिको विकास र पहुँचका कारण आज प्रायः मुलुकका नागरिक सञ्चार–प्रविधिमैत्री छन् ।

समाजका अन्य क्षेत्रमा जस्तै आज सञ्चारका क्षेत्रमा पनि होड छ । सत्तास्वार्थ र व्यापारिक स्वार्थकै कारण आज बिग हाउसहरूमा दलाल वर्ग र अवैध क्षेत्रबाट कालो धनसमेत लगानी भएका प्रमाणहरू बाहिर आएका छन् । यसले श्रमजीवी वर्गलाई सचेत हुन बेलैमा सावधान गराएको छ किनकि दलाल वर्गले सूचना, प्रविधि र सत्तालाई दुरूपयोग गरेर श्रमिक वर्गका हकअधिकारहरू कटौती गर्नुका साथै उनीहरूका विरुद्ध गम्भीर षड्यन्त्रहरू गरिरहेको छ । बिग हाउस अर्थात् अवैध धन चोख्याउन खोलिएका मजदुर र न्यायप्रेमी वर्गका विरुद्धका सञ्चार मोर्चाहरूले संसारका कुनै पनि मुलुकमा सञ्चालित न्यायपूर्ण आन्दोलनहरूको सत्य समाचार र जनताको वास्तविक जीवन र उसका उद्देश्यहरू सम्प्रेषण गर्दैनन् । क्रान्तिमा लागेको वर्गको, श्रमिक सर्वहारा वर्गको सत्य समाचार र सूचना सम्प्रेषण गर्न पनि यो वर्गसँग शक्तिशाली सञ्चारमाध्यम हुनु र त्यसको उचित प्रयोग हुनु आवश्यक छ । सेना नभएको जनतासँग आफ्नो भन्नु केही हुँदैन भनेजस्तै यतिबेला सञ्चार, प्रविधि नभएको श्रमिक वर्गसँग आफ्नो भन्ने केही हुन्न भन्ने अवस्था उत्पन्न भइसकेको छ । त्यसैले पनि वर्गसङ्घर्षमा सञ्चारको ठूलो महत्व छ र जनपक्षीय सञ्चारमाध्यमहरूको आवश्यकताबोध त्यसै स्तरमा बढ्दै गएको छ ।

यसरी सामान्य रूपमा हेर्दा पनि यो सञ्चारको युग हो भन्ने प्रमाणित हुन्छ र मुक्तकामीवर्गका लागि यो अत्यन्तै आवश्यक औजार हो भन्ने सार्थक हुन्छ । आज जोकोहीको पनि पहिलो चासोको विषय आज कहाँ के भयो हँ भन्ने हुने गरेको छ । सैद्धान्तिक रूपमा सञ्चारमाध्यम र अझ आमसञ्चारमाध्यमलाई त आवाजविहीनहरूको आवाजसमेत भन्ने गरिएको छ । तर दलाल पुँजीपति वर्गले यही नारालाई भँजाएर श्रमिक वर्गमाथि शोषण गर्ने गरेको छ । यतिले मात्र नपुगेर यो वर्गले सञ्चारमाध्यमलाई राज्यको चौथो अंग नै भनेर पनि फुक्र्याइदिने र यसकै आधारमा समाजमा ब्रह्मलूट मच्चाउने गरेको छ । दलाल वर्गको अन्त्यका लागि स्थापित सञ्चारमाध्यमले दलाल वर्गले सञ्चालन गरेका सञ्चारमाध्यमले उत्पन्न गरेको भ्रम अन्त्य गर्नुका साथै आम श्रमजीवी वर्गमा सही सूचना सम्प्रेषण गरेर आन्दोलनको एउटा मोर्चाको जिम्मेवारी निर्वाह गर्नुपर्ने अवस्था छ । बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन भनेजस्तै सञ्चारप्रविधिमा पहँुच हुनेको सुनुवाइ हुने र नहुनेले दबिएर, हेपिएर बस्नुपर्ने अवस्था छ । त्यसैले दलाल वर्गले आफ्नो स्वार्थसिद्ध गराउन सबै शक्ति प्रयोग गरेर सञ्चारमाध्यमको दुरूपयोग गरिरहेको अथार्थ मनन गरेर जनसञ्चारको अभिवृद्धि गर्नु अपरिहार्य छ । आन्दोलन र क्रान्तिकै माध्यमबाट दलाल वर्गको यो शक्ति समाप्त नपारेसम्म वर्गसङ्घर्ष अघि बढ्न र मुक्ति प्राप्त गर्न गाह्रो छ ।

सञ्चारमाध्यममा अहिले प्रकाशनको प्रतिस्पर्धामा विद्युतीय माध्यम अघि आएको छ । इन्टरनेटको माध्यमबाट अनलाइन पत्रिकाको प्रभाव बढेको छ । नेटको पहुँच सहरबाट नगर र गाउँसम्म विस्तार भएको छ । जनपक्षीय शक्तिहरूले इन्टरनेटको प्रयोगबाट दलाल वर्गले जनतामा छरेको भ्रम चिर्न र आफ्ना विचारहरू प्रवाह गर्नु आवश्यक छ । एकीकृत जनक्रान्तिमा सञ्चार युद्धको पनि उत्तिकै महत्व छ । सहर, नगरदेखि गाउँसम्म यसको व्यापक प्रभाव बढाउनु आवश्यक छ । यसका लागि क्षमता, सीप र प्रविधिमा पहुँच बढाउनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!