लोकतन्त्रवादीहरूले बिर्सिएको जनयुद्ध

लोकतन्त्रवादीहरूले बिर्सिएको जनयुद्ध

फागुन, नेपाली इतिहासमा आन्दोलनको महिना । राणा शासनदेखि पञ्चायती शासनसम्म निरंकुशताको अन्त बोल्ने महिना हो, फागुन । लोकतान्त्रिक गणतन्त्रको आन्दोलन पनि फागुनको महिनाबाटै तिब्रतामा हुइँकिएको थियो । लोकतान्त्रिक आन्दोलनको जग बनेको महान् जनयुद्ध पनि फागुन एक गते नै उद्घोष गरिएको थियो । यसर्थ, फागुन नेपाली जनताको संघर्षशील यात्राको पहिचान, जनआन्दोलन र जनयुद्धको महिना हो ।

म यहाँ जनयुद्धको फागुनका बारे केही लेख्न जाँदै छु । प्रत्येक पटकको फागुन जब एक फन्को चक्कर काटेर टप्लक्क आइपुग्छ, केही गुमाएजस्तो, केही पाएजस्तो, मनमा केही उकुस–मुकुस बढेर आउँछ । मुटुको धड्कन बढ्न थाल्छ । मानसपटलमा अनेकौँ जिज्ञासा र प्रश्नहरू सुनामी छाल भएर ओहोर–दोहोर गर्छन् । भावनाहरू मस्तिष्क र मुटु हुँदै कहिलेकाहीँ त आँखाका परेलीहरूसम्म सिताउन आइपुग्छन् । अखबारका पानाहरू, सामाजिक सञ्जालका भित्ताहरू सबैतिर कतै कालो, कतै खैरो त कतै रातो रंगले जनयुद्ध पोतिन्छ । जनयुद्धलाई मानिसहरूले भुल्नु सम्भव छ, तर जनयुद्धले मानिसहरूलाई भुल्न असम्भव छ । इतिहासलाई मानिसहरूले भुल्न सक्छन् तर, इतिहासले मानिसहरूलाई भुल्न सक्दैन । हो, जनयुद्ध एक इतिहास हो, समयको एउटा यादगार हो ।

लेखक : उदयबहादुर चलाउने ‘दिपक’

यसपटकको फागुनमा पनि जनयुद्धको सकारात्मक र नकारात्मक पक्षबारे चर्चा–परिचर्चाहरू जहाँ जसरी हुनुपर्ने हो, भए । अझ त पराजित युद्ध हुनुको परिणाम नकारात्मक पक्षबाट विषय ज्यादा उठ्नु अस्वाभाविक पनि भएन । समयको पछिल्लो चरणमा समीक्षाको नकारात्मक पक्ष ज्यादा हाबी भएको पाइरहेको छु । जनयुद्धका विरोधीहरू मात्र होइन, जनयुद्धका सहकर्मीहरूबाट समेत जनयुद्धप्रति ठूलो रोष प्रकट गरिनु, गराइनु पछिल्लो समयको नियति बन्न गएको छ । पराजित युद्धको योद्धाका हैसियतले सुन्नुपर्ने, देख्नुपर्ने र भोग्नुपर्ने धेरै विषयहरू जनयुद्धका प्रत्येक सिपाहीहरूले सुन्दै, देख्दै र भोग्दै आइरहेका छौँ । अझै कति र कहिलेसम्म सुन्नु, देख्नु र भोग्नुपर्ने हो, त्यसका लागि पनि हिम्मत हारिएको छैन ।

एकातिर अपमान र अभावको प्रताडनले विक्षिप्त पारिएका आफ्नै पंक्तिका योद्धाहरूको क्रन्दन अनि अर्कोतिर ‘लोकतन्त्रवादी’ मित्रहरूबाट जनयुद्धको रगतमा लोकतन्त्रको पिप घोलेर विद्रुप पार्न रचिएका कथाहरू अखबारहरूका पानाहरूमा यसपाला पनि प्रशस्तै पढियो । हो, सर्वोच्च कमान्डरकै हातले जनयुद्धको सपनालाई जिउँदै गाडियो । स्वतन्त्रता र स्वाभिमानको झन्डालाई परतन्त्र र पराधीनताको किच्चडमा हुत्याइयो । सपनाको हत्या र स्वाभिमानको बन्धकी मानिसको जिन्दगीमा सबैभन्दा अप्रिय कुरा हुँदो रहेछ । त्यही भएरै त होला, हाम्रा आदरणीय कमान्डर, नेपाली स्वाभिमानका रक्षक, नालापानी युद्धका नायक वीर बलभद्र कुँवरले अंग्रेजसँगको अपमानपूर्ण सुगौली सन्धि (सन् १८१६) पश्चात् देश छोडेर अफगानको युद्धमा होमिएको । इतिहासले भन्छ– हाम्रा ती वीर कमान्डरले उतै वीरगति पाए रे ! स्वतन्त्रताप्रेमी, स्वाभिमानी र देशभक्तहरूको लागि अपमानभन्दा पराजय र मृत्यु नै बढी श्रेयस्कर हुन्छ । असाध्यै राम्ररी अनुभूत गर्न पाइएको छ, अपमानको घाउ कति गहिरो हुँदो रहेछ भन्ने ।

हामी माओवादीहरूका लागि अपमानबोध यो अर्थमा हो कि हाम्रो सर्वोच्च कमान्डरले हाम्रो मूल्य र आदर्शलाई अकल्पित त्यागिदियो । आत्मसमर्पण गरिदियो । जुन मूल्य र आदर्शको रचना गर्न ऊ स्वयम् नै लागेको थियो र त्यो एक युगीन आदर्श बनेको थियो, त्यो माओवादी मात्रको पनि आदर्श थिएन, नेपाली सामाजिक अग्रगमनको नवीन मूल्य थियो, त्यो । नेपाली स्वाभिमानको धरोहर थियो । हो, युद्धमा कहिलेकाहीँ सम्झौता हुन्छ । सम्झौताहीन युद्ध दुनियाँमा असम्भव नै छ । तर, हरयुद्धमा सहभागी कुनै पनि पक्षले आफ्नो उद्देश्यलाई नै बन्धक राखेर आत्मसमर्पण गर्दछ भने त्यो सम्झौता होइन, पराजय हो । अझ भन्ने हो भने एउटा कठोर मृत्यु हो । माओवादी आन्दोलनले आज त्यही कठोर मृत्यु पलपल झेलिरहेको छ । हामी माओवादीहरू त्यसकै भुक्तमान काटिरहेका छौँ ।

जनयुद्धका महान् सपनाहरू हिजो पनि सही र सत्य थिए, युग–युगान्तर ती सही र सत्य नै रहिरहनेछन् । अहाँ, त्यसप्रति किंचित पश्चात्ताप छैन । बरु, निकै गौरव छ । हामीलाई दुःख छैन कि हामीले पढ्न पाएनौँ ! जागिर छाड्यौँ ! व्यवसाय छाड्यौँ । हामीलाई यो पनि पीडा छैन कि हामी घाइते भयौँ । अपांग बन्यौँ । जिउभरि गोली र छर्रा बोकेर जिन्दगीभरि ‘पेन किलर’ खानुमा साँच्चै हाम्रो पीडा होइन । हाम्रो पीडा यो हो कि माओवादी आन्दोलनमा बगेको रगत र पसिनाको हरपल अपमान ! अवमूल्यन अनि विद्रूपीकरण ! हाम्रो रगत र पसिनाको पटक–पटक लिमाम बजार !

नेपाली जनताले जुन अभावग्रस्त जिन्दगी बिताइरहेका थिए र छन्, त्यसलाई बदल्ने हाम्रो उच्च आकांक्षा थियो, छ । जनताभन्दा भिन्न र उच्च व्यवस्था हुनुपर्छ भन्ने हाम्रो कदापि माग थिएन र छैन । त्यसैको लागि भनेर आन्दोलनमा सहभागी भइएको पनि होइन । जनतासँगै जिउनु र जनताजस्तै जिउनु माओवादी मूल्य थियो र हो । जनवाद र समाजवादको उच्च आदर्श त्यही थियो र हो । त्यसैले नै युद्धका दिनहरूमा घन्टौँ खाली खुट्टा, खाली पेट, अर्धनग्न शरीर, रगत चुहाउँदै मुक्ति या मृत्युको नारा लगाउँदै यात्रामा अघि बढियो । सेना–प्रहरीको फन्दामा परिहालिएछ भने त बाँच्ने कुराको एकरत्ति आशासमेत नहुँदा पनि जीवनप्रति पीडाबोध कहिल्यै भएन, जुन आज भैरहेको छ । कष्टहरूमा अत्यन्त सुखानुभूति हुन्थ्यो त्यो बेला, गौरव लाग्थ्यो । बरु, थकथकी हुन्थ्यो सहिद हुन नपाएकोमा ! जीवनको उच्च मूल्यबोध त्यही थियो ।

लोकतन्त्रप्रति आस्थावान प्रिय मित्रहरू, पैसा कमाउन हिंडेर फोकलेन्डको युद्ध लडिरहेको लाहुरेको यात्रा थिएन त्यो । त्यो तपाईंहरूले भनेझैँ व्यक्ति हिंसाको राजनीति त झन् छँदै थिएन । जनयुद्ध यदि व्यक्ति हिंसाको राजनीति हुँदो हो त गाउँमा माओवादीबाहेकको कुनै दलको नेता या समर्थक रहने नै थिएन । नपत्याए सोध्नुहोला लडाइँमा कब्जा गरेर, आफूसँगै खुवाएर–सुताएर अनि पछि फूल–मालाले बिदाइ गरेर फिर्ता पठाइदिएका हजारौँ सेना–प्रहरीका मित्रहरूलाई ? अभिमानपूर्वक भनिन्छ– नेपाली जनताको मुक्ति र नेपाली स्वाभिमानको रक्षाका लागि लडिएको मुक्ति र स्वतन्त्रताको महाअभियान थियो, महायुद्ध थियो त्यो ।

कतिपय व्यक्तिहरूले माओवादी आन्दोलनलाई सिँढी बनाएर मस्ति लुटिरहेका छन् । हामीले राम्ररी देखिरहेका छौँ । समयले त्यसको हिसाब राम्रैसँग राख्ला । तर, यो तथ्यले मात्रै माओवादी आन्दोलनको अवमूल्यन कदापि बोल्दैन । विनम्रतापूर्वक हामी स्पष्ट गर्न चाहन्छौँ कि नेपालको इतिहासमा कहिले प्रजातन्त्रवादीहरू÷लोकतन्त्रवादीहरू त कहिले कम्युनिस्टहरू सबैबाट धोका भएको छ । यो त नेपाली अग्रगमनकारी आन्दोलनको साझा रोग हो । के २००७ सालपछि त्यसो भएको थिएन ? २०४६ सालको आन्दोलनपछि त त्यसले चरम रूपधारण गरेको सजिलै भुल्न सम्भव छ ? तपाईंहरूले भनेझैँ जसले माओवादी आन्दोलनको नाममा दिनमा दुईपटकजसो कपडा फेरिरहेका छन्, ती त माओवादी नै होइनन् । हो, विगतमा ती माओवादी थिए तर, उनीहरूले जब लोकतन्त्रको दस्तावेजमा सहीछाप लगाएर तपाईंहरूको बगालमा पसे, ती त अब तपाईंहरूकै लोकतान्त्रिक सहकर्मीहरू हुन् । उनीहरूले तपाईंहरूको लोकतन्त्रमा जब प्रवेश गरे, त्यसकै अनुमतिले पो मस्ती लुटिरहेका हुन् । जनयुद्धमा त्यो छुट कसैलाई पनि थिएन । त्यो अपराधकर्म हुन्थ्यो । तर, लोकतन्त्रमा छिरेपछि छुट हुँदो रहेछ । लोकतान्त्रिक परिपाटीअन्तर्गत अरूहरूले जे गरिरहेका छन्, उनीहरूले त्योभन्दा भिन्दै केही गरेका पनि त छैनन् । हामी त यो कुराको सदा विरोधमै छौँ, बरु तपाईंहरू आफैँलाई सोध्नुस्– लोकतन्त्रको सुन्दरता यही हो ?

हामी एउटा विशेष कुरा तपाईंहरूलाई स्मरण गराउन चाहन्छौँ– माओवादी आन्दोलन विघटन गराएकोमा तपाईंहरू मख्ख पर्नुभएको होला, यही त तपाईंहरूको गम्भीर भूल हो । हामीले अघि पनि भन्यौँ– माओवादी आन्दोलन नै नेपाली इतिहासको वास्तविक लोकतन्त्रिक आन्दोलन थियो र हो । त्यो सच्चाइलाई तपाईंहरूले सुन्न र बुझ्न नै सक्नुभएन । कैयौँले बुझेर पनि बुझ पचाउनुभयो । तपाईंहरू आफु उभिएको जमिन हेर्नुस् त ? के जमिन सग्लो छ ? गम्भीरतापूर्वक हेर्नुस्, माओवादी आन्दोलन विघटित भएपश्चात् अरू को–को विघटित भैरहेका छन् ? दायाँ–बायाँ, अघि–पछि राम्ररी हेर्नुस्– के आज माओवादी आन्दोन मात्र छिन्न–भिन्न भएको छ ? दरबारलाई त तपाईं हामी सबैले मिलेर जंगल धपायौँ । त्यसपछि के भयो ? हिसाब गर्दै जानुस् । पहिलो संविधानसभाको विघटनले माओवादी विघटित भयो । आजको संसद विघटनले पूर्वएमाले र पूर्वमाओवादी गरेर आज दुई होइन, चार ठुला फक्ल्याटामा डबल नेकपा विभाजित भैसकेको छ । आफू सबभन्दा ठूलो दल भएको बेला झ¥याम्मै फुटेको काँग्रेस आज पनि रन्थनिएरै बसेको छ, करिब फुटेकैसरह । ठुला भनिने सबै पार्टीहरूमा पैसा र पहुँचको बोलवाला छ । शक्तिकेन्द्रको व्यापक चलखेल छ । चुनाव पार्टीले होइन, नेताले जितिरहेका छन् । सम्मान र इज्जतलाई लगनशीलता र इमानले होइन, पैसाले खरिद गरिरहेको छ । आजको तितो यथार्थ यही होइन त ? मित्रहरू, के यही हो लोकतन्त्र ? लोकतन्त्र यदि यही हो भने यो हामी तमाम नेपाली जनताले सुन्नेगरी भन्न चाहन्छौँ– लोकतन्त्र मुर्दावाद ! संसारभरिका जनतालाई सुनाउन चाहन्छौँ– लोकतन्त्र मुर्दावाद, मुर्दावाद ! जनयुद्धको एउटा लक्ष्य सामन्तवादको राजनीतिक प्रतिनिधि संस्था राजतन्त्रको अन्त अवश्य थियो । तर, राजा वीरेन्द्रको वंशविनास होइन । बर्बर नारायणहिटी हत्याकाण्डको फड्के किनाराका साक्षी को ? राष्ट्रप्रमुख र सेनाधिपतिको हत्या के देशको स्वाभिमान र स्वाधीनताको हत्या होइन ?

तपाईंहरूले माओवादी जनयुद्धमाथि लगाउने अर्को आरोप पनि छ– माओवादीले भारतको आडमा युद्ध लड्यो । भारतबाट परिचालित भयो । नेपालको भू–राजनीति र सांस्कृतिक सम्बन्ध नै यस्तो छ कि चाहे कम्युनिस्ट पार्टी होओस् या काँग्रेस पार्टी, ती सबै भारतमै गठित भए । नेपाली काँग्रेसदेखि माओवादीसम्मका सबैले भारतमै बसेर युद्ध लडे । ती कुनचाहिँ ठीक र कुन बेठीक ? या ती कति ठीक र कति बेठीक भन्ने कुरा परिणाले बताइरहेकै छ । एउटा अमूक पक्ष भारतमा बसेर लडेको आन्दोलन क्रान्तिकारी हुने र अर्को अमूक पक्षचाहिँ देशद्रोही भैहाल्ने तर्क वाहियात हो । नेताहरू, पार्टीहरू, आन्दोलनहरू जहाँ र जतिबेला चुकेका छन्, त्यो विषयमा भने जरुर समीक्षा आवश्यक छ । आउनुस् सँगै बसेर समीक्षा गरौँ । साझा निष्कर्ष निकालौँ । सँगै प्रायश्चित गरौँ । देश र जनताप्रति इमानदारीपूर्ण समर्पणसँगै संकल्प गरौँ । कसले कति योगदान र बलिदान गर्न सक्छ, सँगै प्रतिस्पर्धा गरौँ ।

लोकतान्त्रिक गणतन्त्रको हिस्सेदारीमा माओवादी आन्दोलन र सात दलीय गठबन्धन दुवै बराबरी छन् । यसको जस–अपजस दुवैका लागि समान छ । कहीँ कतैबाट माओवादी उपयोग भएको भए सात दलीय गठबन्धन पनि त्यसमा अछुतो छैन । अनि, दरबारको संयमतालाई किन उपहास र खिसिट्युरी मात्रै गर्ने ? माओवादीहरूलाई जंगलबाट टपक्क समातेर घरपालुवा बनाएको भन्ने बकम्फुसे र बेतुकका कुरा गर्नु मनासिव हुँदैन । त्यो आकासतिर मुख फर्कार थुक्नुजस्तै हो । यदि लोकतन्त्रलाई अंकमाल गर्ने हो भने जनयुद्ध र जनमुक्ति सेनाप्रति किन बैरभाव ? निश्चय नै हाम्रो दलिल यो हो कि– लोकतन्त्रको बिरुवा रोप्दा त्यसमाथि ऐंजेरु पलायो । यो ऐंजेरु नहटाउने हो भने बँचेखुचेको लोकतन्त्र सबै नष्ट–विनष्ट हुनेवाला छ । आजको साझा प्रश्न यो हो कि– जनधिकारसहितको लोकतन्त्र या धनाधिकारीहरूको लोकतन्त्र ? समाधानको थालनी यही विन्दुबाट गरौँ ।

२०७७ फागुन १६

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :