शर्मालाई बचाउन करोडौंको चलखेल / पूर्व अर्थमन्त्रीहरु पनि विवादमा तानिन सक्ने

रातो खबर संवाददाता / काठमाडौं साउन ११ :  अरबौँको भ्रष्टाचार काण्डमा मुछिएका आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माले अहिले पनि करोडौंको चलखेल गरेका खबरहरु बाहिर आइरहेका छन् । यसैविच यता उनले गरेका अन्य कर्तुतहरु पनि बाहिर आउने क्रम जारी छ । निकै विवादित छविका शर्माले निवेदन दिने कम्पनीको दर्ता नम्बर, करको रकम, मितिसमेत हेरफेर र केरमेट गरेर बदनियतपूर्वक कर मिनाहा गरेको भेटिएको छ । शर्माले राजश्व रकम, दर्ता नम्बर एवं दर्ता र पत्राचार मितिसमेत फेरेर बदनियतपूर्वक कर मिनाहा गरेको खुलासा भएको छ । आयोगमा व्यावसायीको निवेदन दर्ता र कर फछ्र्यौटपछि पत्राचारका क्रममा तथ्यांक नै केरमेट गरिएको र सर्वसम्मत निर्णयसमेत सच्याएको भेटिएको हो ।

स्रोतले बताएअनुसार आयोगको रजिस्ट्रारमा दर्ता र चलानीको अभिलेख केरमेट र फेरबदल गरी निर्णय गरिएको मात्र होइन, केही फाइलमा सर्वसम्मत निर्णय भइसकेको विषयलाई आयोगका महानिर्देशक शर्माले केरमेट गरेर सच्याइ हस्ताक्षर गरेको समेत देखिन्छ । यस्तै, दर्जनौं ठाउँमा पत्राचारका चलानी नम्बर ‘ब्याक डेट’ मा केरमेट गरिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानका क्रममा यस्ता तथ्यहरु भेटिएका छन् । यो घटनामा पूर्व–अर्थमन्त्रीहरु रामशरण महत, कृष्णबहादुर महरासहित अन्य मन्त्रीहरु पनि तानिन सक्ने देखिएपछि यसलाई ढाकछोप गर्ने खेल भइरहेको स्रोतले बताइएको छ । राजनीतिक पहुँच र प्रभावको भरमा शक्तिमा पुगेर विवादित छवि बनाएका शर्मालाई बचाउनका लागि अदालतदेखि अन्य ठाउँमा पावर सेटिङ मिलाउने मिडिया नेता, वकिलदेखि मिडियासम्म सक्रिय भएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :