धनगढीमा रणनैतिक संयुक्त मोर्चाको विशाल जनसभा

धनगढीमा रणनैतिक संयुक्त मोर्चाको विशाल जनसभा

धनगढी : चार दलीय संयुक्त रणनैतिक मोर्चाले धनगढीमा विशाल जनसभा सम्पन्न गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र ऋृषी कट्टेल नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीले शुक्रबार धनगढीमा शक्ति प्रदर्शनसहित विशाल जनसभा गरेको हो ।

जनसभालाई सम्बोधन गर्दै राष्ट्रिय जागरण मञ्चका संयोजक गुणराज लोहनीले सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर फासिवादी चरित्र प्रदर्शन गरेको बताए । प्रतिबन्ध लगाएर सरकारले आफैले बनाएको संविधानलाई च्यात्ने मात्र हैन फासिवादी चरित्र प्रदर्शन गरेको छ । दुई तिहाई बहुमतको सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको उनको भनाई थियो । संसार कोरोना भाइरसले आक्रान्त भएका बेला सरकार कोरोना नियन्त्रणमा नभएर भ्रष्टाचार गर्न उद्दत भएको उनको भनाई थियो । सरकारले भ्रष्टाचार गर्नकै लागि सेटिङमा ओम्नी ग्रुपलाई महङ्गोमा ठेक्का दिएको दाबि गरे ।

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य रामसिंह श्रीसले संसदवादीहरू कुर्सीको लडाइँमा सडकमा ताण्डव प्रदर्शन गरिरहेको भन्दै संयुक्त रणनैतिक मोर्चा जनताको अधिकार रक्षाका लागि सडकमा आएको दाबि गरे । उनले भने यी जनता कसैलाई सरकारमा चढाउँन र ढलाउँन आएका हैनन् यी जनता आफ्नो अधिकारका लागि आएका हुन् उनले भने । सरकारले भ्रष्टाचारी र संरक्षण गरिरहेको मात्र छैन एमसीसीको नाममा राष्ट्रघातसमेत गरिरहेको उनको भनाइँ थियो । लिपुलेक, लिम्पियाधुरा र कालापानीको नक्सा प्रकाशन गरेर राष्ट्रवादी देखिन खोजेको सरकारले लिपुलेकको नक्सा प्रकाशित पुस्तक रोकेर दलाल चरित्र प्रदर्शन गरेको उनको भनाई थियो । माथिल्लो कर्णाली अरूण तेस्रो भारतलाई सुम्पिने ‘रअ’ प्रमुख सामु लम्पसार पर्ने सरकार कसरी राष्ट्रवादी ? उनको प्रश्न गरे । महंगी, कृत्रिम अभाव, कालोबजारीले जनताको जीवन कष्टकर बन्दै गइरहेको भन्दै सरकार कालोबजारीलाई कारवाही हैन संरक्षण गरिरहेको उनको आरोप थियो ।

त्यसैगरी वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका अध्यक्ष विश्वभक्त दुलाल आहुतीले वर्तमान सरकार दलाल पुँजीवादीहरूको सरकार भएको बताउँदै यसले भ्रष्टाचारीहरूको संरक्षण गरिरहेको दाबि गरे । राष्ट्रघात र भ्रष्टाचारको विरोध गर्दा नेकपालाई प्रतिबन्ध लगाएको भन्दै जनताले राष्ट्रघाती र भ्रष्टाचारीलाई बहिष्कार गर्न अनुरोध गरे । राष्ट्रघात र जनघातविरुद्ध रणनैतिक मोर्चामार्फत सशक्त आन्दोलनको आँधीवेहरी सृजना गर्ने उनको भनाई थियो । संसद पुनस्थापना वा विघटनले जनताको समस्या समाधान नगर्ने भन्दै वैज्ञानिक समाजवादका निम्ति संघर्ष आजको आवश्यकता भएको बताए ।

जनसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले सरकारले संविधान विपरीत विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको भन्दै प्रतिबन्ध हटाउँन माग गरे । यो सरकारले पञ्चायतको झल्को दिने गरि जनताको बोल्न पाउने अधिकारमाथि बन्देज लगाएको भन्दै उनले आक्रोश व्यक्त गरे । उनले भने के यो पञ्चायत हो ? इतिहासमा तानाशाहलाई जनताले आन्दोलन बाटै हराएको स्मरण गर्दै आफुहरू पनि दलाल संसदीय व्यवस्थाको अन्त्य गरि वैज्ञानिक समाजवाद स्थापना गर्न रणनैतिक संयुक्त मोर्चा निर्माण गरेर संघर्षमा आएको बताए । वर्तमान केपी सरकार करोडौँका भ्रष्टाचारका काण्डमा संलग्न रहेको बताउँदै भ्रष्टाचारीलाई कारवाही गर्न माग गरे ।

सभामा रणनैतिक संयुक्त मोर्चाका केन्द्रीय सदस्य पुर्णबहादुर सिंहले सम्पूर्ण देशभक्त, प्रगतिशील तथा समाजवादी शक्ति एकजुट हुनुपर्ने बताए । उनले वर्तमान सरकारका कारण राष्ट्रियता इतिहासमै सबैभन्दा कमजोर भएको बताए । राष्ट्रियताको रक्षाका निम्ति सम्पूर्ण देशभक्त राष्ट्रवादीहरू एक जुट भएर लाग्नुपर्ने उनको भनाई थियो । आफूलाई राष्ट्रवादी भन्ने केपी ओली सरकारले एमसीसीको नाममा अमेरिकी सेना भित्र्याउन खोजेको भन्दै त्यसको खारेजीका निम्ति पनि रणनैतिक मोर्चाले संघर्ष गर्ने बताए । केपी ओलीले भारतीय खुफिया एजेन्सी ‘रअ’ प्रमुखलाई मध्यरातमा बालुवाटारमा स्वागत गरेर आफ्नो दलाल चरित्र प्रदर्शन गरेको उनको भनाई थियो ।

जनसभाको अध्यक्षता गरिरहेका समाजवादी राष्ट्रिय मञ्चका अध्यक्ष देविदत्त पाण्डेले निर्मला पन्तको हत्यारालाई सरकारले नै संरक्षण गरिरहेको भन्दै भागरथी भट्टको हत्यारा भनेर सार्वजनिक गरिएको १६ वर्षको किशोरले कसरी एक्लै बलात्कार र हत्या गर्न सक्यो भनेर प्रश्न गरिरहेको भन्दै निष्पक्ष छानबिनको माग गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :