नयाँ जनवादी सत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौँ !

नयाँ जनवादी सत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौँ !

भर्खरै २६ औँ जनयुद्ध दिवस मनाइएको छ । जनयुद्धको एक घाइते अपाङ्ग योद्धाको रूपमा जनयुद्धलाई कसरी स्मरण गर्नुहुन्छ ?

सर्वप्रथम २६ औँ महान् जनयुद्ध दिवसको सन्दर्भमा परिवर्तनकारी सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरूमा हार्दिक न्यानो अभिवादनसहितको प्रगतिशील मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु र २०५२ फागुन १ देखि २०६२ र २०६३ सम्म भएको आँधीतुफान जसरी बम र बारुदी गन्धसहितको बलिदानपूर्ण संघर्षबाट सामन्ती प्रतिक्रियावादी सत्तालाई हायलकायल बनाएर उत्पीडित सर्वहारा न्यायप्रेमी जनसमुदायलाई आमूल परिवर्तनको सपनाहरू देखाउने मात्रै होइन, भरोसा दिलाएर अभूतपूर्व क्रान्तिकारी जनचेतनामूलक जागरण ल्याएर राजतन्त्रको अन्त्य गर्दै लोकतान्त्रिक गणतन्त्र, संविधानसभाको निर्वाचन मार्फत संविधान, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीजस्ता प्रगतिशील एजेन्डा स्थापित गर्ने अभियान थियो महान् जनयुद्ध ! जनयुद्धको मर्म र उचाइको उच्च मूल्यांकन गर्दै हार्दिक अभिनन्दनसहितको स्मरण गर्न चाहन्छु !

तपाईंं लडाइँको कुन मोर्चामा कसरी घाइते हुनभयो ? अहिले शारीरिक अवस्था कस्तो छ ? बताइदिनुहन्छ कि ?

महान् जनयुद्धको भीषण लडाइँका मोर्चाबन्दी युद्धले जनमुक्ति सेना र शाही नेपाली सेनाका बिचमा तत्कालीन अवस्थामा लडाइँ निकै पेचिलो बनिरहेका थिए ! माओवादी आन्दोलन युद्धको रणनीतिक प्रत्यााक्रमणको दोस्रो चरण दुश्मनको ढाडमा टेकेर टाउकोमा हान्ने योजनाबद्ध प्लान कार्यान्वयनमा जनमुक्ति सेनाको रहेको थियो, २०६१ फागुन १४ गते सुदूरपश्चिमको कैलाली जिल्ला मसुरियास्थित बढैपुर बजारमा दिउँसोको समयमा शाही नेपाली सेनाको रेन्जर बटालियन र जनमुक्ति सेना नेपालको टुकडी बिचमा भीषण लडाइँ भएको थियो ! त्यहीँ लडाइँको रणमैदानमा गोली लागेर घाइते भई अपाङ्गता भएको योद्धा हुँ म ! हाल मेरो अवस्था शारीरिक रूपमा हिंड्न नसक्ने कठिनाइ असक्त अवस्था छ भने वैचारिक चेतना सशक्त छु कैलालीको लम्कीमा !

जनयुद्ध वा समग्र आन्दोलनका क्रममा भएका कुनै उल्लेखनीय घटना वा प्रसंगहरू सम्झनुपर्दा कुन कुन घटना वा प्रसंग सम्झनुहुन्छ ?

जनयुद्धका क्रमलाई स्मरण गर्दा त्यतिबेलाका हरेक पल, हरेक दिन, हरेक घटनाक्रम, प्रत्येक युद्ध मोर्चाका ठुला साना लडाइँ, अनेकौँ दुश्मनका घेराबन्दी तोडेर उम्कन सकेका क्षण अनि आफ्नो अगाडि सहिद भएको योद्धाको चित्कार अनि सहयोद्वा सहिद भएपछि खाल्डो खनेर पुर्दाको दुःखद् पल, घाइते भएकोे बखतका क्षतविक्षत भएका अङ्गप्रत्यङ्ग अनि चिच्याहट देख्दा र सुन्दाका पल गुञ्जन अहिलेसम्म ताजै छन् सयौँ घटनाक्रम ! यस्ता धेरै उल्लेखनीय घटनाक्रम लेखेर सम्भावना हुँदैन पत्रिकामार्फत् लामो कहानी हुन्छन् ! तपाईंंको जिज्ञासा मेटाउन कैलाली धनगढीमा ज्ञानेन्द्रले कू गरेर सङ्कटकाल लगाएको बेला शाही नेपाली सेनाको घेराभित्र म हतियारसहित हुँदाहुँदै पनि कुराकानी गर्दै उम्कन सकेको अविस्मरणीय याद ताजै छ !

जनताको मुक्तिका लागि भनेर तपाईंहरू युद्ध लडनुभयो, घाइते हुनुभयो, आफ्नै शरीरका अंग गुमाउनुभयो, अहिले कस्तो महसुस गर्नुहुन्छ ?

जनताको बिचमा यत्रतत्र उठ्ने जिज्ञासाको निम्ति धन्यवाद ! जनयुद्ध सुरुआत गर्दाको पहिलो नारा थियो, ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त गर्दै नयाँ जनवादी सत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौँ !’ हामीले हजारौँको बलिदान गरेर, हजारौँ बेपत्ता पारेर, हजारौँ घाइते तथा अपाङ्गता अवस्था व्यहोर्नुपरेको छ कष्टकर रूपमा ! राजतन्त्रको अन्त्य गरेरै लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीजस्ता प्रगतिशील एजेन्डालाई स्थापित गर्दै कार्यान्वयन भइरहेको व्यवस्था परिवर्तन भएको पायौँ तर सर्वसाधारण जनताको जनजीवनको अवस्था र मुलुकको अवस्था जस्ताको तस्तै छ ! क्रान्ति पूरा नहुँदै प्रतिक्रान्ति भयो । धोका भयो क्रान्तिका नाममा जनतालाई ! हामीले बलिदान गरेको, संघर्ष र लडाइँ गरेको, क्रान्ति भएको यत्तिकै लागि थिएन, जो आज देखिरहेका छौँ र भोगिरहेका छौँ ! समाजमा आमूल परिवर्तनका निम्ति, समुन्नतिका लागि, न्यायका लागि क्रान्तिमा लागेका थियाैँ र बलिदान गरेका थियौँ हामीले तर विडम्बना आज शान्ति सम्झौताको नाममा आत्मसमर्पण गर्दै धोका दिएर प्रतिक्रान्तिकारी भयो !

जनयुद्धका घाइते अपाङ्ग योद्धाहरूको तर्फबाट जनयुद्धका नेता र सहयोद्धाहरूलाई के भन्न चाहनुहुन्छ ?

जनयुद्धका क्रममा घाइते भएर अपाङ्गता भएको योद्धा भएको नाताले र घाइते तथा अपाङ्गता योद्धाहरूको नेतृत्व भएको नाताले म तत्कालीन माओवादी पार्टीका नेता–कार्यकर्ता, कमान्डर, कमिसार अनि सबै पार्टी र नेता–कार्यकर्ताहरूलाई जनयुद्ध र जनआन्दोलनको म्यान्डेट अनि सपनाहरूलाई नकुल्चिन र स्वार्थपूर्तिका लागि मनपरी नगर्न सचेत बनाउन चाहन्छु ! हामीले अमूल्य जीवनको बलिदान गर्न त्यसै तयार भएको होइनौँ; उत्पीडित, गरिबी, अभाव, अन्याय, अत्याचार, शोषण, दमन, भ्रष्टाचार, कमिसन, स्वेच्छाचारिताका विरुद्धमा क्रान्ति गर्दै आमूल परिवर्तनका निम्ति संघर्ष गरेका थियौँ ! सर्वहारा वर्गीय सत्ता जनवादी व्यवस्था निम्ति भनेर कि मुक्ति या मृत्युको सपथ खाएर आन्दोलनमा होमिएका थियौँ ! किन आज स्वार्थका निम्ति टुक्रा–टुक्रा बनिरहेका छौँ मनन गर ! सहिद, बेपत्ता र घाइते अपाङ्ग योद्धाहरूको बलिदानले सराप्ने छ– धोखेबाज दलाल स्वार्थपूर्तिका निम्ति मनपरी गर्नेलाई ! जनताको सेवामा तल्लीन बन्नुपर्छ, इमानदार राजनीतिक नेता–कार्यकर्ता सबैले राजनीति सेवा हो, पेवा होइन ! इतिहास निर्माणका निम्ति जुट्नुपर्छ, इमानदार राजनीतिक नेता–कार्यकर्ताहरूले !

तपाईं जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा संघको अध्यक्ष पनि हुनुहुन्छ । जनयुद्धमा घाइते अपाङ्ग योद्धाहरूको संख्या कति छ ? अहिले उहाँहरूको अवस्था के कस्तो छ ? कसरी जीवनलाई अघि बढाउनुभएको छ ?

जनयुद्धको क्रममा घाइते भएर अपाङ्गता भएका योद्धाहरूको संघ जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा संघ सुरुआत गठन प्रक्रियामा म केन्द्रीय कार्यालयमा रहेर काम गर्दाको बखत तथ्यांक सङ्कलन गर्नेदेखि परिचयमाला प्रकाशित गर्ने कामको थालनी गरिएको थियो, जहाँ घाइते योद्धाहरूको वीरता अनि परिचय उल्लेखनीय थियो ! त्यसपछि पार्टी विभाजन भयो र म संयोजकको रूपमा रहेँ ! देशभर सामान्य प्रकृतिदेखि गम्भीर प्रकृतिका घाइते अपाङ्गता योद्धाहरूको सङ्ख्या ५००० भन्दा धेरै देखिन्छ ! घाइते अपाङ्गता योद्धाहरूको जीवन कष्टकर, अभाव र अति दुःखदायी रूपमा बितिरहेको छ ! उपचार पनि नपाएर क्यान्सर भएरै कतिपयले ज्यान गुमाउनुपरेको छ भने कतिपय उपचाररत पनि हुनुहुन्छ ! जेनतेन देश–विदेश गाउँघर सहर–बजारमा मजदुरी गर्दै जीवनयापन गरेरै अभावको जीवन बाँचिरहेका छन् ! गणतन्त्र ल्याउने योद्धाको यस्तो अवस्था हुनु विडम्बनापूर्ण अवस्था हो किनभने यहीँ गणतन्त्रमा नेताहरू मोजमस्ती गर्दै मनपरी गरिरहेका छन् ! यस्तो गणतन्त्र नक्कली गणतन्त्र नाम मात्रै निकम्मा सावित हुनेछ !

तपाईंहरूको संगठनले घाइते अपाङ्ग योद्धाहरूलाई संगठित गर्दै उहाँहरूको समस्याबारे सरकारसँग विभिन्न माग राख्दै संघर्ष गरिरहनुभएको छ । ती समस्या र माग के हुन् ? के कस्ता कार्यक्रम गर्नुभएको छ र यस विषयमा सरकारको धारणा कस्तो पाउनुभएको छ ?

हामीले जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनको क्रममा घाइते भएर अपाङ्गता भएका सम्पूर्ण योद्धाहरूको गणतान्त्रिक सरकारले सम्मानित गर्नुपर्ने ! उनीहरूको औषधी उपचार निःशुल्क गर्नुपर्ने, वर्गीकरण गरेरै रोजगार र उचित न्यायोचित व्यवस्थापन जीवननिर्वाह भत्ताको आजीवन व्यवस्था गर्नुपर्ने ! सहायक सामग्री निःशुल्क प्रवन्ध गर्नुपर्ने ! निजका छोराछोरीलाई निशुल्क शिक्षाको प्रवन्ध मिलाउनुपर्छ र जीवन बिमा गरिदिन पर्छ भनेरै छलफल, ज्ञापनपत्र अनि ध्यानाकर्षण गर्दै आवश्यक परे संघर्षबाट अगाडि बढ्नुपर्छ भनेरै तयारी गरिरहेका छौँ ! सरकारले आश्वासन दिने तर अल्मलाउने र अपमानित गर्ने काम मात्रै गरेको देखिन्छ अहिलेसम्म । हामी खबरदारी गर्न चाहन्छौँ कि हाम्रो बलिदानबाट आएको परिवर्तन र व्यवस्थामा अपमानित नगरियोस् सचेत बनाउन चाहन्छौँ !

जनयुद्धका तत्कालीन नेतृत्वले क्रान्तिलाई धोका दिएको भनेर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्ति संचालन गरेको बताइएको छ । त्यो पार्टी र क्रान्तिबारे जनयुद्धका घाइते अपाङ्ग योद्धाहरूको धारणा के रहेको छ ?

हामीले जनयुद्धका बखत गरेको सङ्कल्प, देखाएका सपनाहरू अनि खाएको कसम र तत्कालीन अवस्थाको डकुमेन्ट्री मात्रै होइन; नेताहरूले गरेको भाषण, दिएको प्रशिक्षण, लगाएको नारा फर्केर हेर्दा हामीले गरेको संघर्ष, बलिदानमाथि धोका गरिरहेका प्रस्ट छर्लङ्ग देखिन्छ नै । यस अर्थमा विप्लव कमरेडले गरेको विश्लेषण र लगाएको आरोप सही नै लाग्छ ! एकीकृत जनक्रान्तिको माध्यमबाट जनताको व्यवस्था ल्याउने अभियान जो विप्लव कमरेडले अगाडि बढाउनुभएको छ, त्यसको निम्ति शुभकामना दिन चाहन्छौँ र सुझाव पनि साथमा राख्न चाहन्छौँ । घाइते योद्धाहरूको तर्फबाट कि धोका नदिने, नहुने क्रान्तिको नेतृत्व गर्नुहोस् ! मुलुक र जनताको सर्वोच्च हितका निम्ति कार्यक्रम ल्याउनुहोस् ! दिगो समुन्नति हुने शान्तिको निम्ति जनक्रान्ति गर्नुहोस् ! कार्यशैली र कार्यक्रममार्फत् जनताको बिचमा आउनुहोस् ! भ्रष्टाचार र अत्याचार अनि बलात्कार विरुद्धमा भण्डाफोर संघर्ष संचालन गर्नुहोस् ! राष्ट्रिय स्वाधीनता र स्वाभिमान अनि सीमा सुरक्षाका निम्ति आवाज उठाउनुभएको अवस्थामा हाम्रो साथ समर्थन छ ।

जनक्रान्तिका सम्पूर्ण घाइते अपाङ्ग योद्धाहरूबारे राज्य वा सरकार, समाज र आम नागरिकबाट कस्तो नीति र व्यवहार होस् भन्ने अपेक्षा राख्नुहुन्छ ?

जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धाहरू अहिले समाजमा यत्रतत्र छरिएर गाउँघर समाजमा बसिरहेका हुनुहुन्छ ! हामीले समाजमा आमूल परिवर्तनका निम्ति अमूल्य जीवन, समय र रगत–पसिनासहितको अङ्ग दिएर योगदान बलिदान गरेर आजको लोकतान्त्रिक गणतन्त्र प्राप्ति भएको छ ! हामीलाई कुनै स्वार्थ थिएन मात्रै समाज परिवर्तनको चाहना थियो ! मुलुकको राजनीतिक व्यवस्था र राजनीतिक सहमतिअनुसार शान्तिपूर्ण राजनीतिक अभियानलाई सार्थक तुल्याउन हामी समाजमा पुनः आफ्नो योगदान गर्न अभावसँग संघर्ष गर्दै अगाडि बढिरहेका छौँ ! सम्मानजनक रूपमा सहयोग, समर्थन र पहिचानसहितको व्यवहार गरियोस् भन्ने अपेक्षा राख्दछौँ !

पार्टी, नेता र सहयोद्धाहरूबाट घाइते अपाङ्ग योद्धाहरूप्रति कस्तो नीति, कार्यक्रम र व्यवहार हुन आवश्यक ठान्नुहुन्छ ?

महत्वपूर्ण प्रश्न उठाउनुभएको छ सायद किनभने जनयुद्धका क्रममा घाइते भएरै अपांगता हुनुभएको कोही सामान्य अवस्थाको घाइते हुनुहुन्छ भने कोही गम्भीर प्रकृतिको घाइते अपाङ्ग बन्नुपरेको छ ! जनयुद्धको दौरान एउटा महान् सपना बोकेर बलिदान गरिएको थियो भने अहिले त्यो सपनाको घाँटी निमोठ्ने र सपना जोगाएर पूरा गर्ने राजनीति चलिरहेको छ ! यस्तो सकसले सबैभन्दा बढी पीडा र चोट घाइते योद्धालाई हुने गर्छ किनकि घाउ घोचिन्छ र पीडा हुने गर्छ ! त्यसैले सही के हो र किन यस्तो भएको भन्ने राजनीतिक हिसाबले छलफल गरेरै स्पस्ट गर्नुपर्छ अनि वैचारिक रूपमा प्रशिक्षण गरिनुपर्छ, मनोबल उच्च बनाउनेतर्फ लाग्नुपर्छ ! संघ–संगठनमा अनि अभियानमा जोडेर उहाँको योगदानलाई सम्मान गर्नुपर्छ ! जनताको बिचमा स्थापित गर्नुपर्छ ! उहाँलाई जसरी जे सकिन्छ, सहयोग गर्नुपर्छ, सुखदुःख हरेक बेलामा ! हरेक बेलामा भेटघाट गरिरहन पर्छ ! वैचारिक, राजनीतिक हिसाबले प्रशिक्षण गर्दै संघर्ष र संघ–संगठनमा जोडेर उहाँका अनुभवलाई उच्च मूल्यांकन गर्दै योगदानको सम्मान गरेरै अगाडि बढ्दा सकारात्मक वातावरण बन्नेछ, त्यसको निम्ति भेटघाट हुने कार्यक्रम बनाउनेतर्फ जोड गर्नुपर्नेछ !

सहिद सप्ताह २०७७ को सन्दर्भमा जनक्रान्तिका घाइते अपाङ्ग योद्धा संघको तर्फबाट सहिद बेपत्ता परिवार, घाइते योद्धाहरूलाई के सन्देश दिन चाहनुहुन्छ ?

सहिद सप्ताह २०७७ को सन्दर्भमा सम्पूर्ण सहिदहरूलाई सम्झिन चाहन्छु र उहाँहरूको अमूल्य जीवनको बलिदान अनि आमूल परिवर्तनका निम्ति गरेको योगदानको उच्च कदर गर्दै हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ! त्यस्तै, बेपत्ता योद्धाहरूप्रति हार्दिक अभिनन्दन गर्दछु ! घाइते अपाङ्गता योद्धाहरूको योगदान बलिदानप्रति उच्च सम्मानसहित शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सहिद, बेपत्ता र घाइते अपाङ्ग परिवारहरूमा हार्दिक सम्मानसहितको जनयुद्ध दिवसको सम्झनामा हार्दिक शुभकामना व्यक्त गर्दै हाम्रो परिवर्तनका लागि गरेको योगदानलाई गौरव गरौँ ! धोका र षड्यन्त्र अपमानका विरुद्ध संघर्ष गर्दै आमूल परिवर्तनका निम्ति साथ समर्थन गरौँ ! गुण र दोषको आधारमा समर्थन र विरोध गरौँ ! हाम्रो बलिदान योगदानलाई संस्थागत गर्नेतर्फ लागौँ ! प्रतिक्रान्तिका विरुद्धमा आवाज बुलन्द गरौँ !

अन्त्यमा रातोखबरमार्फत थप केही भन्नुहुन्छ कि ?

रातोखबरले जनयुद्धका क्रममा घाइते भएर अपाङ्गता भएका योद्धाहरूको आवाजलाई आम जनसमुदाय र नेता–कार्यकर्ताबिचमा २६ औँ जनयुद्ध दिवसको सन्दर्भमा पुर्याउन अनि जनयुद्ध दिवसको सम्झनामा शुभकामना साट्ने अवसर प्रदान गरेकोले हार्दिक धन्यवादसहितको उत्तरोत्तर प्रगतिको शुभकामना दिन चाहन्छु ! साथै, आवाजविहीनको आवाज बनोस् र न्यायिक आवाजलाई स्थान देओस् !

तपाईंंसहित सबै जनक्रान्ति र जनआन्दोलनका सम्पूर्ण घाइते अपाङ्ग योद्धाहरूप्रति हाम्रोतर्फबाट पनि हार्दिक सम्मान व्यक्त गर्दछौँ । महत्वपूर्ण समय र विचारको लागि धेरै धेरै धन्यवाद ।

धन्यवाद ! रातोखबरलाई अनि सम्पूर्ण परिवर्तनकारी आवाजलाई । क्रान्तिकारी नेता–कार्यकर्तालाई, देशभक्त प्रगतिशील युवाहरूलाई सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदीबहिनी नेपाली नागरिकलाई मुलुक र जनताको सर्वोच्चता अनि आमूल परिवर्तनका निम्ति न्यायोचित आवाजलाई बुलन्द गरौँ ! भ्रष्टाचार र अन्यायको विरुद्धमा आवाज बुलन्द गरौँ भन्दै पुनः महान् जनयुद्ध दिवसको २६ औँ वर्षगाठको सम्झना हार्दिक शुभकामना !

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :