नेपालमा राजनीतिक क्रान्ति पूरा भएको छैन : ओमप्रकाश पुन

नेपालमा राजनीतिक क्रान्ति पूरा भएको छैन : ओमप्रकाश पुन

धनगढी/कारागार : कैलाली कारागारको आन्तरिक प्रशासनले यहि २०७७ साल फागुन ७ गते ७१ औँ प्रजातन्त्र दिवस मनायो । आन्तरिक प्रशासनको आयोजनामा सम्पन्न प्रजातान्त्रिक दिवसको कार्यक्रमका प्रमुख अतिथि ओमप्रकाश पुनले दीप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । कैद–बन्दीहरुले विभिन्न सांस्कृतिक कार्यक्रमसहित मनाएको प्रजातन्त्र दिवसमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुनले नेपालमा २००७ सालदेखि हालसम्मका विभिन्न आन्दोलनमा जनताले ठूलो बलिदानी गरेता पनि नेतृत्वको गद्दारी र धोकाका कारण राजनीतिक क्रान्ति पूरा हुन नसकेको बताएका थिए ।

२००७ लाई कसैले प्रजातान्त्रिक क्रान्ति, कसैले अधुरो क्रान्ति र कसैले असफल राजनीतिक घटना भनेता पनि त्यो एक प्रकारको सम्भौता थियो र क्रान्तिमाथिको धोका थियो भन्ने कुरामा जोड दिएका थिए । २००७ सालमा राजा, राणा र काँङ्ग्रेस बीचको दिल्ली सम्झौता भएको, २०४६ सालमा राजा, काँङ्ग्रेस र वाममोर्चाबीच भारतीय पक्षको रोहवरमा सम्झौता भएको र पछिल्लो चरणमा जनयुद्ध, जनआन्दोलन र १२ बुंदे समझदारीमा पनि संसदवादी सात दल, माओवादी र तत्कालीन प्रतिगामी शक्तिका बीच भारतीय चाहनामै सम्झौता भएकोले वास्तविक क्रान्ति पूरा नभएको हो । तर पनि फेरी २००७ सालले जहाँनिया राणा शासन, २०४६ सालले निरंकुश पञ्चायत र २०६२/०६३ को जनआन्दोलन र जनयुद्धले संवैधानिक राजतन्त्रलाई फाली गणतन्त्र ल्याएकोले यसलाई मात्रात्मक उपलब्धी मान्नुपर्छ । अव यो दलाल संसदीय पुँजीवाद पनि सामाजिक फासिवादमा पतन भएर असफल भएकोले अवको क्रान्ति समाजवादी हुने र नेपालमा छिट्टै वैज्ञानिक समाजवाद आउने कुरामा प्रमुख अतिथि पुनले जोड दिएका थिए ।

सम्बोधनको क्रममा नेता पुनले अहिले पनि नेपालका जेलहरु राणाकै हुकुमी शासनको जस्तो अवस्थामा चलेकोले आफ्नो पार्टीले गर्ने क्रान्तिपछि सम्पूर्ण कैदी–बन्दीहरु मुक्त हुने र यो राज्यले बनाएको अपराधीकरणलाई खारेज गर्ने बताएका थिए । विश्वमा राजतन्त्र, प्रजातन्त्र र समाजवाद गरि तीन खाले शासन प्रणाली रहेकोमा जनताको पूर्ण मुक्ति वैज्ञानिक समाजवाद र साम्यवाद मात्रै हुने भएकोले आफ्नो पार्टी कमरेड विप्लवको नेतृत्वमा एकीकृत जनक्रान्तिमार्फत उक्त क्रान्ति पूरा गर्ने अभियानमा अघि बढेको बताएका थिए । अहिले नेपालमा प्रतिगामी, यथास्थितिवादी र अग्रगामी शक्ति बीचको शक्ति संघर्ष चलेकोमा आफ्नो पार्टी अग्रगामी क्रान्तिकारी शक्तिको नेतृत्व गर्ने भएकोले अवको राजनीतिक आन्दोलन अग्रगामी नै हुने र त्यसले समाजवाद ल्याउने कुरा कैदी–बन्दीहरु बीच राखेका थिए ।

कार्यक्रम गोरख रोकायाको अध्यक्षता, रमेश बटालाको सञ्चालन र विमल चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको थियो । कार्यक्रमलाई नृप देवकोटा, जयबहादुर धानुक, गंगाराम चौधरी, लक्की साउँद लगायतले सम्बोधन गरेका थिए भने सुदूर–पश्चिमका चर्चित कलाकार शुवर्ण श्रेष्ठ, सन्तोष परियार, देवबहादुर कामी, चक्रप्रकाश रिमाल, जनक मिजार, कमल चौधरी, प्रमेश चौधरी, रुहीना चौधरी लगायतले गीत, कविता तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा कारागारका नाईके, चौकीदार, सह–नाईके लागयत सम्पूर्ण कैदी–बन्दीहरुको सक्रिय सहभागिता रहेको थियो भने शुक्रबार प्रजातन्त्र दिवसको अवसरमा छुट्ने ११ जना कैदीहरुलाई कारागारले बिदाई पनि गरेको थियो ।

अहिले २१ औँ शताब्दीमा पनि कारागारमा राज्यले कैदी–बन्दीहरुलाई मध्ययुगीन बर्बरताको जस्तो अवस्थामा राज्यले गरेकोमा यस कैलाली कारागारमा भने अनिवार्य साहित्यिक सांस्कृतिक कार्यक्रमसहित यस्ता खाले हरेक राजनीतिक उत्सव र दिवसहरु मनाउने गरिएकोमा सम्पूर्ण कैदी–बन्दीहरु निकै खुवी र रचनात्मक देखिएका छन् । यसले कैदी–बन्दीहरुमा सचना र सृजना क्षमतासहित अध्ययन र व्यक्तित्वकलाको विकास पनि राम्रो भएको छ । त्यसको साथै कारागारमा तनावरहित र शान्त वातावरण पनि यसले सिर्जना गर्दै गएको छ । खाली दिमाग सैतानको घर भने झै पहिले तनावमा रहीरहने कैदी–बन्दीहरु अहिले हातमा कापी, कलम र किताब समातेका देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :