शैक्षिक साम्राज्यवादको विकल्प वैज्ञानिक समाजवादी शिक्षा

लेखक : दर्शन कुमार नेपाली

वर्तमान अवस्थामा संसदीय दलाल पुँजीवादी राज्यसत्ताको नियन्त्रणमा रहेको हाम्रो मुलुकको शिक्षा प्रणालीद्वारा लाखौँ युवा विद्यार्थीहरूलाई आत्मदासताको सिकार बनाइएको छ । लाखौँलाख भविष्यका कर्णधारहरूलाई आत्मदासताको उपहार दिनेखालको शिक्षा प्रणाली सञ्चालन गरिएको छ । शिक्षा सभ्य मानव समाज निर्माण र मानव सभ्यताको रूपान्तरणको प्रमुख संवाहक तत्व हो, जसले मानव जीवनलाई अन्य प्रणालीभन्दा भिन्नै रूपमा प्रस्तुत गर्दछ । त्यसैले पनि शिक्षालाई मानव चेतनाको समृद्ध आधार मानिन्छ । सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक, समग्र ज्ञान सिद्धान्त र विकासको महत्वपूर्ण आधार शिक्षा नै हो । मानव समाज निर्माणको प्रक्रियादेखि वर्गीय उत्पीडनको इतिहास हाम्रोअगाडि छर्लङ्ग छ । हाम्रो मुलुकको हकमा पनि परापूर्वकालदेखि जहानियाँ राणा शासन, निरङ्कुश राजतन्त्र होस् या नोकरशाही संसदीय दलाल पुँजीवादीहरूले सञ्चालन गरेको वर्तमानको संसदीय दलाल पुँजीवादी राज्यव्यवस्था होस्, वर्गीय समाजमा शिक्षा पनि वर्गीय नहुने कुरै भएन । वर्गीय उत्पीडन हिजो पनि थियो र आज पनि छ । जहाँसम्म श्रमजीवी उत्पीडित समुदायको विजयको झन्डा फहराउँदैन, त्यतिबेलासम्म वर्गीय उत्पीडन कायमै रहनेछ । उत्पादनका हरेक साधनमाथि नोकरशाही संसदीय दलाल पुँजीवादी वर्गको नियन्त्रण रहेको छ । त्यसको प्रभाव शिक्षा प्रणालीमा जबर्जस्त रूपमा रहेको छ ।

शिक्षामा साम्राज्यवादको प्रवेश

आज इमानदार र श्रमजीवी वर्गका सन्तानहरूले प्रतिष्ठाका लागि भए पनि शिक्षा ग्रहण गर्न पर्ने बाध्यता हाम्रो मुलुकमा देखिन्छ । जुन शिक्षाबाट आत्मिक दासता मात्र प्रधान हुन्छ, यो अध्ययन गर्नैपर्ने सामाजिक बाध्यता बनिरहेको छ । चाहे त्यो निरङ्कुश राजतन्त्र होस् या अहिलेको नोकरशाही दलाल पुँजीवादीहरूले भन्दै आइरहेको समाजवादोन्मुख राष्ट्र यसको खासै कुनै अर्थ त छैन । तर, नोकरशाही दलाल पुँजीवादी उत्पादन सम्बन्धबाट शासक वर्गमा उत्पन्न हुने चेतना नोकरशाही दलाल पुँजीवादी हुनु स्वाभाविकै हो । त्यसका प्रभावहरू समाज र राष्ट्रमा परिरहेका हुन्छन । जसरी मुलुकको राजनीति, अर्थनीतिलगायतका उत्पादनका हरेक क्षेत्रमा नोकरशाही दलाल पुँजीवादीहरूको नियन्त्रण रहेको छ, सोहीअनुसार नेपालको शिक्षा क्षेत्रमा पनि नियन्त्रण कायमै रहेको हुँदा फेरि पनि लाखौँलाख युवा–विद्यार्थीहरू पराधीनताको सिकार बन्ने कुरामा कुनै शंका नै रहेन । लामो समयदेखि विभिन्नखाले शासक वर्गहरूले थला पारेको हाम्रो देशमा न्याय, समानता र जनवादको लागि २०५२ सालमा फागुन १ देखि जनयुद्धको थालनी हुँदै गर्दा समाजवादी शिक्षा र समाजवादी विद्यालयको नमुना जसरी जनयुद्धले स्थापित गर्ने कोसिस गरेको थियो, शान्ति प्रक्रियापछिका पछिल्ला १५ वर्षदेखि संसदीय दलाल पुँजीवादी राज्यबाट प्राप्त उपलब्धिहरू मासिने काम भएको छ । हाम्रो संगठन अखिल ( क्रान्तिकारी) ले भन्दै आइरहेको वैज्ञानिक समाजवादी शिक्षा त धेरै टाढाको कुरा हो, वर्तमान संसदीय दलाल पुँजीवादीहरूले आफैँले बनाएको भनिएको कथित संविधानको सम्म ख्याल छैन, जसको परिणाम आम विद्यार्थीहरूले भोग्न परिरहेको छ । मुलुकको शिक्षा संसदीय दलाल पुँजीवादी वर्ग शैक्षिक माफियाहरूको नियन्त्रणमा रहेको परिस्थितिमा आम विद्यार्थीको हितमा हैन, प्रभुत्वशाली पुँजीवादी वर्गको निर्देशनमा शैक्षिक माफियाहरूको ग्राइन्ड डिजाइनमा शिक्षासम्बन्धी नीतिहरू निर्माण र कार्यान्वयन गराइने हुँदा विद्यार्थी र नागरिकहरूको भविष्य आत्मदासताको सिकार बन्छ र सिकार बन्ने निश्चित छ ।

दुईखाले शैक्षिक संस्था

महान् गुरु कार्ल माक्र्सले भनेझैँ पुँजीवादी वर्गले कसरी कानुनी बाटोबाट बँच्न सकिन्छ, त्यो बाटो खोज्छन् र कसरी उदयमान पिंडीलाई मानसिक एवम् शारीरिक रूपले अपांग बनाउने, त्यो योजना बनाउँछन् । हाम्रो मुलुकको कथित संविधान २०७२ ले शिक्षालाई मौलिक हकको रूपमा व्यवस्था गरिएको छ भने पनि त्यो व्यवहारतः लागु हुने कुरामा झिनो आशा पनि छैन । सामुदायिक विद्यालयहरूमा राज्यकोषबाट लगानी हुँदाहुँदै पनि राजनीतिको आवरणमा स्वाहा पारिन्छ र अभिभावकहरूले चर्को शुल्क तिरेर छोराछोरीहरूलाई पढाउनुपर्ने बाध्यता सिर्जना भएको छ । यो परिस्थितिको जिम्मेवार को हुने ? माक्र्सले भन्नुभएजस्तै कथित कानुनबाट बँच्नको लागि नीति निर्माण गर्ने र वैधानिक रूपमा शोषण गर्ने यो दलाल पुँजीवादी राज्यव्यवस्थाको मूल चरित्र हो । हाम्रो जस्तो मुलुकमा दुईखाले शिक्षा नीति बनाइएको छ, यो झन् कहालिलाग्दो छ । जन्मजात वर्ग जन्माउने र विभाजन गराउने दलाल पुँजीवादीहरूको यो अर्को डिजाइन हो । आफ्नो अनुकूलताको कानुन बनाउने र शिक्षाको नाममा आतंक मच्चाउँदै शैक्षिक व्यापार गर्ने, जसको संरक्षण वैधानिक रूपमा राज्यसत्ताले नै गरिरहेको छ । शिक्षा मन्त्रालय मातहतका विभागहरूलाई निर्देशन गरिन्छ, आफ्नो गुनगान गाउने, मलजल गर्नेखालको पाठ्यक्रम तयार पार्न र विद्यार्थीहरूलाई अध्ययन गराइन्छ । सामान्यतया विद्यार्थीको अध्ययनको उद्देश्य भनेकै उज्ज्वल भविष्य र सचरित्र निर्माणको लागि हो । बरु हाम्रो मुलुकको दृष्टिविहीन राज्यव्यवस्थामा त्यसको विपरीत जोन हल्टले भनेजस्तै विद्यालय विद्यार्थीहरूका लागि वैधानिक जेलजस्तै बनिरहेका छन्, जहाँ उनीहरूलाई कैदीभन्दा भिन्न व्यवहार गरिँदैन । अध्यापनको नाममा बोक्न नसक्ने किताबहरूको बोझ बोकाइन्छ, अनुशासनको नाममा आज्ञापालक अर्थात् कठपुतली बनाइन्छ । विद्यार्थीहरूले अध्ययन गरेर आनन्द लिने कुरा यातना बन्न पुग्छ भने मौलिक र सिर्जनात्मकता दण्डनीय वस्तु बन्न पुग्छ । सबैभन्दा ठूलो आतंक परीक्षाको नाममा सिर्जना गरिन्छ । अन्ततः रिजल्ट आउट हुँदासम्म कतिपय विद्यार्थी आत्महत्याको सिकार बन्न पुग्छन् । यसको जिम्मेवार नोकरशाही दलाल पुँजीवादी राज्यव्यवस्था र निर्देशित शिक्षा प्रणाली छ ।

लेनिनका अनुसार वैज्ञानिक समाजवादी शिक्षा समानता पूर्ण प्राप्तिको बाटोमा हुन्छ । नोकरशाही दलाल पुँजीवादी शिक्षा जो असमानता र अवैज्ञानिक छ, जो वर्गीय विभेद जन्माउने अखडा बनिरहेको छ, त्यसको विकल्पमा मानव जीवनका असीमित आवश्यकतालाई सजिलै परिपूर्ति गर्ने उद्देश्यसँग सम्बन्ध राख्छ । वर्गीय उत्पीडन, जातिय, क्षेत्रीय, लैङ्गिक, भाषिक, धार्मिक अतिवाद, सामान्तवाद तथा दलाल नोकरशाही पुँजीवादी शोषण र साम्राज्यवादी उत्पीडनबाट मुक्त बनाउने शिक्षा प्रणाली नै लेनिनले भन्नुभएको समानता पूर्ण बाटोबाट अगाडि बढ्ने शिक्षा प्रणाली हो । मानिस एक विवेकशील सामाजिक प्राणी हो ।

नेपालमा केही सामन्ती अधिनायकवादीहरू र नोकरशाही दलाल पुँजीवादी राज्यव्यवस्थाले सिर्जना गरेको यो परिस्थितिमा शिक्षा नोकरशाही दलाल पुँजीवादी वर्ग र शैक्षिक दलालहरूको व्यवसायको रूपमा फस्टाइरहेको छ । शिक्षा प्रभुत्वशाली वर्गका सन्तानको लागि खास बनाइएको छ भने सर्वहारा– श्रमजीवी वर्गका छोराछोरीको लागि अर्कोखालको विद्यालयको व्यवस्था गरिएको छ । सोहीअनुरूपको पठनपाठनको पद्धति तयार गरिएको छ र अन्ततः आत्मदासताको परिस्थिति सिर्जना गराइन्छ । मुठीभर पुँजीवादी वर्ग र शैक्षिक माफियाहरूका सन्तानको लागि तयार गरिएका केही आवासीय विद्यालयहरूको उद्देश्य त्यस्ताखालका व्यक्ति निर्माण गर्नु रहेको छ, जसले शिक्षाबाट आनन्द लिन सिकोस् र भविष्यमा अन्य वर्गमाथि शासन जमाउन सकोस् । त्यस्ताखालका आवासीय विद्यालयहरूमा श्रमजीवी वर्गको पहुँच पुग्ने धेरै टाढाको कुरा हो, त्यहाँको विषयमा कल्पना गर्नसम्म सक्दैनन् । निजी शैक्षिक संस्थाभित्र पनि एकथरी यस्ताखालका परिदृश्य देख्न पाइन्छ, जहाँ सामान्य श्रमजीवी वर्गले कल्पना गर्न सक्छन् । त्यहाँको विद्यालय सञ्चालकलाई निल्नु न ओकेल्नु भइरहेको छ । ठुला माछाले सानो माछालाई खान्छ भनेझैँ शैक्षिक माफियाहरूको डिजाइन र दलाल राजनीतिसम्म पहुँच नभएका शैक्षिक व्यापारी बन्न खोज्नेहरू धरासायी बनिरहेका छन् । नोकरशाही दलाल संसदीय पुँजीवादी राज्यव्यवस्थाभित्र इमानदार श्रमिक वर्गले पाउने भनैकै हैरानी हो ।

के हो वैज्ञानिक समाजवादी शिक्षा ?

वैज्ञानिक समाजवादी शिक्षा वैज्ञानिक समाजवादी राज्यव्यवस्थाको मूल प्रवाह हो । आनातोली लुनाचास्कीका अनुसार सामाजिक जीवन सिद्धान्तको रूपमा समाज विज्ञान र शिक्षासम्बन्धी प्रश्नहरूको अनुसन्धान गर्ने सन्दर्भबाट सम्पन्न हुन्छ । वैज्ञानिक समाजवादी शिक्षा प्रणालीको उद्देश्य रूप र सीमा सामाजिक प्रणाली तथा समाज विज्ञानको प्रक्रियामा निर्भर हुन्छ । कुनै पनि विद्यार्थीले आर्जन गर्ने ज्ञानको अर्थ ऊभित्र रहेको ज्ञान, प्रतिभालाई कलात्मक रूपमा विकास गर्दै सामाजिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान, यान्त्रिक विज्ञानलगायतका भौतिक जगत्मा उत्पादन भएका र उत्पादन गर्न सकिने वस्तुको गतिको अध्ययन र प्रयोग गर्दै राष्ट्रिय आवश्यकता, राष्ट्रिय अर्थतन्त्र र राष्ट्रिय विकाससँग जोडिएको हुन्छ । सामान्य अर्थमा वैज्ञानिक समाजवादी शिक्षा भन्नेबित्तिकै निःशुल्क, अनिवार्य, वैज्ञानिक, व्यावहारिक शिक्षा भन्ने कुरा बुझ्दछौँ, जसको अर्थ गर्विलो र ओझिलो छ ।

लेनिनका अनुसार वैज्ञानिक समाजवादी शिक्षा समानता पूर्ण प्राप्तिको बाटोमा हुन्छ । नोकरशाही दलाल पुँजीवादी शिक्षा जो असमानता र अवैज्ञानिक छ, जो वर्गीय विभेद जन्माउने अखडा बनिरहेको छ, त्यसको विकल्पमा मानव जीवनका असीमित आवश्यकतालाई सजिलै परिपूर्ति गर्ने उद्देश्यसँग सम्बन्ध राख्छ । वर्गीय उत्पीडन, जातिय, क्षेत्रीय, लैङ्गिक, भाषिक, धार्मिक अतिवाद, सामान्तवाद तथा दलाल नोकरशाही पुँजीवादी शोषण र साम्राज्यवादी उत्पीडनबाट मुक्त बनाउने शिक्षा प्रणाली नै लेनिनले भन्नुभएको समानता पूर्ण बाटोबाट अगाडि बढ्ने शिक्षा प्रणाली हो । मानिस एक विवेकशील सामाजिक प्राणी हो । समाजमा समान अस्तित्वसहित बाँच्न पाउने अधिकार सुनिश्चितता हुन पर्छ । न कि विभिन्नखाले उत्पीडनबाट प्रताडित भएर नागरिकहरू अर्काको देशमा गुलाम बन्ने परिस्थिति सिर्जना होस् । शिक्षा निःशुल्क रूपले राज्यबाट नागरिकहरूले प्राप्त गर्छन् र वैज्ञानिक समाजवादी शिक्षा प्राणीको दायित्व पूर्णरूपले राज्यको मातहातमा रहन्छ ।

नोकरशाही दलाल पुँजीवाद र साम्राज्यवादका महान् दार्शनिक भनिनेहरूले टुप्पीदेखि बल गाएर जोडतोडका साथ बङ्ग्याउन खोजेको माक्र्सको महान् कृति ऐतिहासिक द्वन्द्वात्मभौतिकवाद (जसले विश्व साम्राज्यवाद र पुँजीवादको मुटु हल्लाउँछ), मा आधारित रहेर विश्व दृष्टिकोणबाट अध्ययन र अनुसन्धान गर्दै विचार, दर्शन, श्रम, समानतासँग जोडिएको शिक्षा प्रणालीद्वारा विद्यार्थीका आधार भूत आवश्यकतालाई राज्यद्वारा परिपूर्ति गर्दै भौतिकरूपमा नै मुलुकमा वैज्ञानिक खोज अनुसन्धान आवश्यकताअनुसार लागु गरिन्छ । पुँजीवादी राज्यव्यवस्थाले जसरी राज्यका उत्पादनका साधनमाथि नियन्त्रण गर्दै सामाजिक असमानता र वर्गीय उत्पीडन गरेको हुन्छ (जो माथि उल्लिखित गरिएको छ), त्यसको ठीक विपरीत वैज्ञानिक समाजवादी राज्यव्यवस्थामा वर्गविहीन समाज र समानतासहितको सामाजिक जीवन हुने भएकोले उपयुक्त सीप र ज्ञानका आधारमा मुलुकका युवा– विद्यार्थीहरूलाई राष्ट्रिय अर्थतन्त्र र राष्ट्रिय अध्ययन अनुसन्धानसँग जोडेर आत्मदासताबाट मुक्त हुन्छन् । उत्पादनका साधनमाथि राज्यको निःस्वार्थ नियन्त्रण रहने भएकाले युवा विद्यार्थीहरू आत्मनिर्भर त हुन्छन् नै, जसबाट दीर्घकालीन रूपमा शान्ति, सुशासन र मानवीय संवेदनासहितको साम्यवादी समाज निर्माण गर्नसम्म महत्वपूर्ण भूमिका खेल्दछ । वैज्ञानिक समाजवादी शिक्षाको महत्वपूर्ण आधार भनेको ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी विश्व दृष्टिकोणमा आधारित सैद्धान्तिक समाज विज्ञानमा टिकेर व्यावहारिक समाज निर्माण गर्दै भू– बनावट र आवश्यकताअनुसारका उत्पादन कार्यलाई निरन्तरता दिँदै राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाएर वर्गीय विभेदको अन्त्य गर्दछ ।

वैज्ञानिक समाजवादी शिक्षा, वैज्ञानिक समाजवादी राज्यव्यवस्थाको उत्पादनको स्रोत भएको हुँदा शैक्षिक दलाल शैक्षिक माफिया र पुँजीवादीहरूको चलखेलबाट मुक्त रहेको हुन्छ । जसको एक मात्र उद्देश्य युवा–विद्यार्थीहरूको रुचि र क्षमताको अध्ययन, अनुसन्धान गरी सामाजिक जीवनका मूल्य–मान्यतालाई आत्मसात् गर्दै राष्ट्रिय हित र विकासका कार्यमा अग्रसर गर्दछ । लेनिन भन्नुहुन्छ, “बच्चा हुन् या नौजवान, समाजका रचनात्मक काममा उनीहरूको सहभागिता हुनपर्छ । चाहे त्यो सरलभन्दा सरल र सानोभन्दा सानो रूपमा किन नहोस् ।” विद्यार्थीहरूको क्षमताको विकास त्यतिबेला हुन्छ, जतिबेला उनीहरूले रुचि राखेको कार्यमा स्वतन्त्रपूर्ण ढङ्गले कार्य गर्न दिनुपर्छ । दलाल नोकरशाही पुँजीवादी राज्यव्यवस्थाबाट निर्मित शिक्षा प्रणालीमा तहगत सिन्डिकेट लगाएर विद्यार्थीहरूको मनोविज्ञानलाई नै कमजोर बनाउने षड्यन्त्रपूर्ण ढङ्गले पाठ्यक्रम तयार गरिएको हुन्छ । महासचिव क. विप्लव भन्नुहुन्छ, “शिक्षा सिङ्गै मानव जातिको हजारौँ वर्षको अनुभव र अनुसन्धानबाट प्राप्त गरेको ज्ञान हो । त्यो ज्ञान कुनै व्यक्ति विशेष र कुनै समूह विशेष हुन सक्दैन । शिक्षामा नागरिकहरूको समान हक हुन पर्छ । वैज्ञानिक समाजवादी शिक्षा राज्यको दायित्वमा रहने भएको हुँदा निजीकरण, व्यापारीकरण र वर्गीय विभेदको अन्त्य गर्दै हरेक युवा–विद्यार्थीले समान अधिकारसहितको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको ग्यारेन्टी गरिएको हुन्छ । वैज्ञानिक समाजवादी शिक्षा प्रणालीमा समानताको भाव कायम गर्ने गरी एकीकृत विद्यालयको व्यवस्था गरिएको हुन्छ जसबाट शिक्षामा भइरहेको वर्गीय, जातिय, लैङ्गिक, भाषिकलगायतका सम्पूर्ण विभेदको अन्त्य गरिन्छ ।

राष्टिय पुँजीको विकास गर्दै आम नागरिकको समान अस्तित्वसहित बाँच्न पाउने अधिकारको ग्यारेन्टीसहितको वैज्ञानिक समाजवादी शिक्षा अपरिहार्य छ, जो लाखौँलाख युवा– विद्यार्थीको भविष्यसँग सम्बन्धित रहेको छ । अन्तमा कमरेड माओले भन्नुभएजस्तै राज्यसत्ताबाहेक अरू सबै भ्रम हो भन्ने कुरा नै अन्तिम सत्य हो । दलाल नोकरशाही पुँजीवादी शैक्षिक दलाल र लुटेराको चङ् गुलबाट देशलाई मुक्त बनाउँदै देशको शिक्षा प्रणाली समानरूपले नागरिकको पहुँचमा पुर्याउनको लागि वैज्ञानिक समाजवादी राज्यव्यवस्थाबाट प्राप्त हुने वैज्ञानिक समाजवादी शिक्षा प्रणालीको स्थापनाका लागि निरन्तर संघर्षको विकल्प छैन ।

विकल्प के हुन सक्छ ?

वैज्ञानिक समाजवादी शिक्षा र नोकरशाही दलाल पुँजीवादी शिक्षाको बारेमा अध्ययन गर्दा बिल्कुलै विपरीत धु्रवको अध्ययन गरेको अनुभूति हुन्छ । पुँजीवादी शैक्षिक माफियाहरूका एजेन्टहरू वैज्ञानिक समाजवादी शिक्षाको विषयमा सुन्नसम्म तयार छैनन् । उनीहरूले जति बाङ्गोटिङ्गो कुरा गरे पनि तथ्य, तर्क र विज्ञानमा आधारित वैज्ञानिक समाजवादी शिक्षा विश्वसामु अपरिहार्य छ । केही एकाध राष्ट्रबाहेक पुँजीवादी समाज र शिक्षा प्रणाली असफलतातिर तेर्सिरहेका तथ्यहरूले प्रमाणित गरिदिएको छ । वर्तमान परि स्थितिमा हाम्रो मुलुकको शिक्षाको समाधान खोज्नको लागि निम्न कुराहरूको शल्यक्रिया गर्न आवश्यक छ :

(१) शिक्षा क्षेत्रमा देखा परेका शैक्षिक समस्याहरूको समाधानका लागि नीतिगत प्रश्नहरूको हल गर्न आवश्यक छ । आम युवा–विद्यार्थी र नागरिकहरूको चाहना र राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्न सक्ने मालेमावादी मान्यतालाई अग्रस्थानमा राखी शैक्षिक समस्याको समाधान गर्ने प्रयत्न गर्नुपर्छ ।

(२) शैक्षिक प्रणालीबाट उत्पन्न हुने समस्या र उत्पीडनका समाधानका लागि राज्यले पूर्णरूपले शिक्षाको स्वामित्व ग्रहण गर्दै राज्यका नागरिकहरूलाई पूर्णरूपले निःशुल्क र अनिवार्य शिक्षाको व्यावस्था गरिनुपर्छ ।

(३) पाठ्यक्रम निर्माण र पाठ्यपुस्तक छनोटजस्ता कार्यहरूलाई महत्वपूर्ण ढङ्गले विचार विमर्श गरी वैज्ञानिक र व्यवस्थित बनाइनुपर्छ ।

(४) विद्यार्थीको रुचि, क्षमता र आवश्यकताअनुसारको शैक्षिक पाठ्यक्रमको तयार गरी सम्बन्धित क्षेत्रका शिक्षक, प्रशिक्षकहरूको उचित व्यवस्थापन गरी विद्यालयहरू सञ्चालनमा ल्याउन पर्छ ।

(५) पोलिटेक्निकल शिक्षा प्रणालीलाई व्यवस्थित गरी लागु गरिनुपर्छ ।

(६) लोकसेवा आयोगबाट असक्षम मानिएका शिक्षकहरू शिक्षण पेशामा उपयुक्त मानिने गलत राजनीतिक आवरणका कारण शिक्षण पेसालाई दुर्गन्धित बनाइएको छ । शिक्षण पेसालाई सम्मानित, मर्यादित र जिम्मेवारपूर्ण बनाउन शिक्षकहरूको सीप, क्षमता र जिम्मेवारीको विकास नयाँ स्तरमा गरिनुपर्छ ।

(७) परीक्षा प्रणालीलाई सहज बनाउँदै विद्यार्थीको मूल्यांकन, उसको प्रतिभालाई रोक्ने निरुत्साहित गर्ने र मानसिक रूपले अपाङ्ग बनाउने नभईकन विद्यार्थीले आफ्नो क्षमता र शिक्षामा विकास गर्नेखालको हुनुपर्छ ।

(८) भू–बनावटअनुसार त्यहाँको मातृभाषामा शिक्षाको व्यवस्था गरी जातिय, क्षेत्रीय, भाषिक उत्पीडनको अन्त्य गर्दै मानवीय तथा सर्वहारा वर्गीय अन्तर्राष्ट्रवादको विकास गरिनुपर्छ ।

(९) राज्यका गल नीतिका कारण औपचारिक शिक्षाबाट बन्चित नागरिकलाई प्राप्त ज्ञान–सीपका आधारमा औपचारिक शिक्षा प्रदान गरिनुपर्छ ।

(१०) शिक्षकलाई सक्षम र सीपयुक्त शिक्षण कार्यमा संलग्नता गराई उपयुक्त तालिमको व्यवस्था गरी सम्बन्धित क्षेत्र र तहका शिक्षकलाई शिक्षण पेसामा प्रवेश गराउनुपर्छ ।

अन्तमा,

सारमा हेर्दा विद्यार्थीले पढिरहेका र लेखिएकोजस्तो देखिए पनि सारमा त्यो सत्य हैन । सत्य कुरा त त्यो हो, जहाँ पढे–लेखेका नागरिकहरूको भविष्य र समाज स्वर्णिम हुन्छ । जहाँ उनीहरूले आफू पढे–लेखेको अनुभूति गर्न पाएका हुन्छन् । मानिसहरूका आवश्यकता असीमित हुन्छन् तर वर्तमान परिस्थितिमा हाम्रो मुलुकको शिक्षा प्रणालीले सामान्यभन्दा सामान्य आवश्यकतालाई हल गर्न सक्ने परिस्थिति छैन । संसदीय नोकरशाही दलाल पुँजीवादीहरूले समाजवाद उन्मुख राष्ट्रको ढ्वाङ पिटिरहँदा समाजवादको दिशा कता हो भन्ने विषयमा समेत आम नागरिकलाई अलमलमा पारिरहेका छन् । छेपारे प्रवृत्तिलाई त्यति फरक नपर्ला तर आम नागरिकमा यसको ठूलो असर परिरहेको छ । विभिन्नखाले उत्पीडनको बिजारोपण गरिरहेको छ । नोकरशाही दलाल पुँजीवादी लुटेराहरूको राज्यव्यवस्थाबाट वैज्ञानिक समाजवादी शिक्षाको परिकल्पना धेरै टाढाको कुरा हो । राष्टिय पुँजीको विकास गर्दै आम नागरिकको समान अस्तित्वसहित बाँच्न पाउने अधिकारको ग्यारेन्टीसहितको वैज्ञानिक समाजवादी शिक्षा अपरिहार्य छ, जो लाखौँलाख युवा– विद्यार्थीको भविष्यसँग सम्बन्धित रहेको छ । अन्तमा कमरेड माओले भन्नुभएजस्तै राज्यसत्ताबाहेक अरू सबै भ्रम हो भन्ने कुरा नै अन्तिम सत्य हो । दलाल नोकरशाही पुँजीवादी शैक्षिक दलाल र लुटेराको चङ् गुलबाट देशलाई मुक्त बनाउँदै देशको शिक्षा प्रणाली समानरूपले नागरिकको पहुँचमा पुर्याउनको लागि वैज्ञानिक समाजवादी राज्यव्यवस्थाबाट प्राप्त हुने वैज्ञानिक समाजवादी शिक्षा प्रणालीको स्थापनाका लागि निरन्तर संघर्षको विकल्प छैन ।

(लेखक अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य हुन् ।)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :