युरोपमा संगठित मोर्चाहरुले मनाए २६ औँ जनयुद्ध दिवस

युरोपमा संगठित मोर्चाहरुले मनाए २६ औँ जनयुद्ध दिवस

काठमाडौँ : नेपाली जनप्रगतिशील मोर्चा युरोपले २६ औँ जनयुद्ध दिवस भब्यताका साथ मनाएको छ । ऐतिहासिक जनयुद्ध दिवसको अवसर पारेर मोर्चाले एक समारोहको आयोजना गरेको थियो । नेपाली जनजागरण मञ्चका संयोजक गुणराज लोहनी प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा वाम बुद्धिजीवी धर्मेन्द्र केसीको विशेष उपस्तिथि रहेको थियो ।

प्रमूख अतिथि लोहनीले नेपालको वर्तमान राजनैतिक परिस्थितिमा जनयुद्धको महत्व झन बढ्दै गएको चर्चा गरेका थिए । नेपालमा अहिले दलाल पुँजीवादी सत्ता छ, यो दलाल पुँजीवादी उत्पिडनको अन्त्य वैज्ञानिक समाजवादी क्रान्तिले मात्र गर्दछ । अहिले क्रान्तिकारी वर्गको चरित्र पनि फेरिएको छ । बौद्धिक श्रमिक वर्ग बढिरहेको छ । त्यसैले वैज्ञानिक समाजवादी क्रान्तिको चरित्र स्वतः जनविद्रोहको कार्यदिशा हुन जान्छ र त्यो एकीकृत जनक्रान्तिले गर्दछ । हामीले नेपाली क्रान्तिलाई अगाडि बढाउनका लागि रणनैतिक संयुक्त मोर्चा निर्माण गरेका छौँ । रणनैतिक मोर्चामा हामी सत्ता र सरकारको विषयलाई हेर्ने दृष्टिकोणमा एकमत भएका छौँ । संसदीय ब्यवस्थाको अन्त्य गर्न जरुरी छ भन्ने कुरामा हामी सहमत छौँ । अर्को नयाँ सत्ता निर्माणको अभ्याससम्म सँगसँगै जाने कुरामा पनि सहमति भएको छ । यो उपलब्धी नेपालको सन्दर्भमा हिजो भएको महान जनयुद्धको आधारमा मात्र सम्भव भएको छ ।

विशेष अतिथि केसीले जनयुद्धको महत्व बारे दर्शाउँदै अब दलाल संसदीय ब्यवस्था पूर्ण रुपमा असफल भयो । त्यसको विकल्पमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले संस्लेषण गरेको वैज्ञानिक समाजवादी सत्ता आवश्यकता रहेको प्रष्ट पारे ।

२६औँ जनयुद्ध दिवसको अवसरमा विश्वभर संगठित मोर्चाका सांगठनिक नेतृत्व गरेका अध्यक्ष तथा प्रतिनिधिहरुले शुभकामना मन्तब्य दिएका थिए । मोर्चाका उपाध्यक्ष बदन योङहाङले स्वागत गरेको कार्यक्रममा युरोपमा संगठित मोर्चाहरु बेल्जियम, जर्मनी, स्पेन र पोर्तुगलबाट क्रमशः मेख गुरुङ्ग, सेरबहादुर तुम्बापो, ईश्वरी शर्मा र पूर्णबहादुर विश्वकर्माले जनयुद्ध दिवसको शुभकामना ब्यक्त गरेका थिए । त्यसैगरी अमेरिकाबाट मोर्चाका संयोजक विश्वबहादुर शाह मध्यपूर्वका मोर्चाहरु साउदी अरबका महासचिव टिकाराम ओली, कतारका महासचिव रविन पुन, बहराइनका महासचिव मिनराज नाथ र मलेशिया मोर्चाका सल्लाहकार सन्दिप खड्काले जनयुद्ध दिवसको महत्वबारे प्रकाश पार्दै शुभकामना दिएका थिए । मलेशियाबाट बुद्धिराम भुषालले ‘धुरुधुरु नरोउ प्रचन्ड विप्लवलाई सम्झेर’ शिर्षकको ब्यङ्ग्यात्मक कविता वाचन गरेका थिए ।

कार्यक्रममा सहिद परिवारका सदस्य राजकुमार घमाल, टिकाराम ओली, गोपाल लामिछाने र उदयराज गौतमलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रम नेपाली जनप्रगतिशील मोर्चा युरोपका अध्यक्ष विष्णु भुजेलको अध्यक्षतामा सम्पन्न भएको थियो । महान सहिदहरुको सम्मानमा मुठ्ठी उठाएर एक मिनेट मौन धारण गरी शुरु भएको कार्यक्रमको सञ्चालन मोर्चाका महासचिव डा. सुवर्णबाबु सापकोटाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :