प्रगतिवादी साहित्यमा सार्थक हस्तक्षेप / अन्तिम रातको घोषणा

अनिल शर्मा
कवि प्रसिद्धा शर्माको कविता संग्रह ‘ अन्तिम रातको घोषणा’ हालै प्रकाशित भएको छ । त्यसअघि शर्माको ‘बुढो रुखको प्रतिविम्व’ (२०६५ साल)मा प्रकाशित भएको थियो । कवि शर्माको अर्को लेखन विधा समालोचना तथा समीक्षातिर देखिन्छ । उनमा कवि पिता उमानाथ शास्त्रीको साहित्यिक प्रेरणा र प्रभाव देखिन्छ । त्यसैगरी दाजु प्रोल्लास सिन्धुलिया र जीवनसाथी तथा जर्बुटा कलाकार विश्वम्भर लामिछानेको उत्प्रेरणा देखिन्छ । उनका कवितामा नारी स्वर र सामाजिक विकृतिका विरुद्धको आवाज देख्न सकिन्छ । राष्ट्रियताको प्रवल भावनाले उनका कवितामा प्राण भरेका छन् । हेरौं शर्माका कविता –
यति याद रहोस्
तिमी जुन ठाउँमा
यो देशको सर्वोच्च कार्यकारी पदका लागि
मतपेटिका थापी बसेका छौं
ठीक त्यसै ठाउँमा
तिम्रै टाउकोको मूल्य तोकिएको थियो कुनै दिन (रगतले गुडेको पँजेरो, पृष्ठ १६)
उपर्युक्त कविताले जनयुद्धरुपि महासमरका शिर्षाशनमा बसेका नायकहरु अपराधी गिरोहसँग साँठगाँठ गरेको, दण्डित गर्नुपर्नेहरुसँगै घाँटी जोडेको आरोप लगाएकी छन् । वैचारिक कोणबाट हेर्दासमेत यो भनाई सार्थक देखिन्छ । किन कि पुरानो प्रतिक्रियावादी व्यवस्थालाई सर्वहारा वर्गले जस्ताको तस्तै बनिबनाउ आफ्नो हितमा प्रयोग गर्न सक्दैन । कार्ल माक्र्सले ‘पेरिस कम्युन’ नामक आफ्नो लोकप्रिय कृतिमा त्यो कुरा स्पष्ट गर्नु भएको थियो । फ्रान्सको पुरानो राज्यसत्ता विघटन नगरी आफ्नो हितमा प्रयोग गर्न खोज्दा पेरिसका कम्युनार्डहरुको पराजय भएको थियो । टाउको मूल्य तोक्ने त्यही सिंहदरबार थियो । त्यही संसदीय व्यवस्था थियो । जहाँ समरका नायकहरु मतपेटिका थापेर खलनायकमा पतन भएका छन् । जसले टाउकाको खेती गरिरहेको छ ।
खलनायकहरु समरको सपना पूरा भएको फोहोरी गीत गाइरहेका बेला कवि शर्मा भने त्यसलाई अन्तिम रात, मृत्युरात भन्छिन् । जहाँ हुचिलहरु, मृत्युका बाहक निशाचरहरु गाउन थालेका हुन्छन् । समरको यात्रा, गन्तव्य पूरा भइसकेको दाबी गर्दछन् । तर विद्रोह होइन पाइला घिसार्दै छिन् उनी । चिन्तनमा विद्रोह, व्यवहारमा आत्मसमर्पण जस्तो विरोधाभास देखा पर्छ कवि शर्मामा । त्यसप्रकारको विरोधाभास कविका लागि आफैमा अकर्मण्यता हो । मृत्युपथको यात्रा हुनसक्छ । त्यसरी उनका कतिपय कविता अशंगतिपूर्ण प्रतित हुन्छन् । मान्छे ‘ब्रेडले चल्छ कि ब्रेनले ?’ भन्ने बहस यहाँ अर्थपूर्ण लाग्छ । हेरौं अर्को कवितांश –
सुनसान औंसीको रात
हुर्दुल र हुचिलहरु
तरङ्गको सञ्चारसाथ
यात्रा टुङ्गिएको संकेत गर्दै छन्
क्षणिक प्राण पखेरुको पूर्णविरामतर्फ
पदुचिन्हहरु छाड्दै
म पाइलाहरु केवल घिच्याइरहेछु
(अन्तिम रातको घोषणा, पृष्ठ १७)

कवि शर्मा खाइजिविकाका दृष्टिले शिक्षक हुन । शिक्षक पेशा एकप्रकारको अभिभावकिय चेतना भएको अथवा हुनुपर्ने पेशा पनि हो । जहाँ व्यापारका लागि नक्कली भङ्गीमाले कार्म चल्दैन । त्यसकारण आफैले दीक्षित गरेका चेलाचेलीहरु अरब भासिएको र काठका बाकसमा लाश बनेर फर्केको, फर्काइएको यथार्थले उनको हृदय कुँडिएको छ । शासकको कुरा, नयाँ पुराना शासकका कुरा गँजडीको गफ सावित भएका छन् । समाजवाद र जनवादका कुरा गर्नेले सुकुमबासी बस्तीहुँदो गर्भे बालकको हत्या गरेका छन् । के फरक पर्दोरहेछ र रातो अथवा सेतो डोजरमा ! कहर उस्तै हुँदो रहेछ । काबुल, बगदाद भएर फोकल्याण्ड र कार्गिल दुखेकै छन् । हेरौं कवि प्रसिद्धाको अर्को कवितांश –
वैज्ञानिक शिक्षा र रोजगारका कुरा
समाजवाद र जनवादका कुरा
स्वदेशी लगानी र मापदण्डका कुरा
शिक्षित नागरिक
र स्वाभिमानका कुरा
सबैसबै
खैराँती शिक्षकका सपनामा
सीमित बनाएर
स्वार्थका
कार्गिल र फोकल्याण्ड युद्ध
लड्नु परिरहेछ
(एक शिक्षकको सपना, पृष्ठ २१)
धर्म र संस्कार सधै नारी पीडक रहँदै आएको छ । वर्ग समाजको उदयसँगै त्यसको रचना शासक पुरुषले गरेको थियो । स्वर्ग, नर्क, भाग्यरेखा उनै शासकको जाली मिथक हुन । जसले नारी जातिलाई विद्रोही चेतनाबाट विमुख गराउँछ । नारीस्वर उनका कविताको महत्वपूर्ण आयाम हो । त्यसैले कवि शर्मालाई नारीस्वरकी प्रेरक कवि पनि भन्न सकिन्छ । हेरौं उनको एक कवितांश –
भाग्य र भविश्य
बिग्रिएकाहरुको साथ लिएर
खुला आकास र धर्तिमा
बिहानको सुर्योदयसँगै
तैले बिगारेको भाग्यरेखा मेट्न
म आउँदैछु
(भाग्यविधाता, पृष्ठ २५)
आज विश्व साहित्यमा आञ्चलिकताको प्रयोग बढ्दै गएको छ । त्यो प्रयोग लोकप्रिय पनि बन्दै गएको छ । ‘भीमान’ छोटो तर मर्मस्पर्शी कविता हो, तिनै कविताको लहरमा । भीमान कुनै गुमनाम गाउँ होइन । ठालुका पाउमा लम्पसार पर्न जानेन भिमान कहिल्यै । त्यसैले सिन्धुली भन्दा भीमान धेरैको हृदयमा कुँदिएको छ । भीमान भन्नासाथ दुर्गा सुवेदी, ऋषि देवकोटा, रजन मगर मात्र होइन महान समरका समयमा
दर्जनौं सपूतहरु बलिदान भएका थिए । विषय चयनका दृष्टिले पनि महत्वपूर्ण मान्न सकिन्छ । प्रगतिशिल धाराकै कतिपयले डायनाका भित्री कपडाको श्रृङ्गारिक कविता लेखेर मृत्युगीत, स्तुतिगीत गाइरहेको यो लज्जित हुनु पर्ने समयमा ‘भीमान’जस्ता जनताका विद्रोहका बिम्वको प्रयोग आफैमा गर्विलो विषय हो । हेरौं अर्को कवितांश –
ठूलो आँधीबेहरी
अनि भीषण कालरात्रीका बीच
क्रुर शासनको अन्त्यका लागि
गोली र बारुदका धुवाँसँग जुध्दै
वीरताको दस्तावेज कोर्दै रह्यो भीमान
गृहिणीका आँसुहरु

रगतलाई साथ दिंदै
दुई खोलाको दोभानमा
सिन्दुर पखाल्दै रह्यो भीमान
(भीमान, पृष्ठ २७)
उनका कतिपय कविताहरु आज हामीले भोगेको समय बोल्छन् । सहिदका सपना, वेपत्ताका आफन्त र समयले चपाएका अनुहारका वाणी बनेका छन् उनका कविता । उनका कविताले रछ्यानमा फालेको झण्डा फेरि टिपेर फहराउने रातो पथिकका भावनाको पैरवी गर्छन् । समाजको गर्भमा हुर्किदै गरेको नयाँ नानीको कम्पनवोध गर्छन । उनका कविताले । हेरौं अर्को एउटा कवितांश –
अधुरा सपनाको दाबी बोकेर
बढ्दै आयो एउटा जुलुस
अनसनको थलोबाटै मैले जुलुसतिर नजर घुमाएँ
युद्धका क्षतविक्षत अनुहार बोकेर
लामबद्ध रहेछन् लखन थापाहरु
आजादहरु
चिनियाँ काजीहरु
दिलबहादुर, कृष्णसेन अनि मैना सुनुवारहरु (सहिद, सपना र सिंहदरबार पृष्ठ ५५)

 

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!