२६ औँ जनयुद्ध दिवसको पूर्वसन्ध्यामा नेकपाद्वारा देशभर मसालजुलुस

२६ औँ जनयुद्ध दिवसको पूर्वसन्ध्यामा नेकपाद्वारा देशभर मसालजुलुस

काठमाडाैँ : २६ औँ जनयुद्ध दिवसको पूर्वसन्ध्यामा शुक्रबार साँझ नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी मसालजुलुस गरेको छ । नेपाल कम्युनिष्ट पार्टी सुर्खेतले २६ औँ जनयुद्ध दिवसको पूर्वसन्ध्यामा जिल्लाका विभिन्न स्थानमा मसालजुलुस सम्पन्न गरेको छ ।

मसालजुलुसमा एकीकृत जनक्रान्तिमा दृढ्तापूर्वक अगाडि बढौँ!, वैज्ञानिक समाजवादी सत्ता प्राप्तिका लागि एक जुट होऔँ !!, जनसत्ता निर्माण गरौँ!, पार्टीलाई जनतासँग मजबुत तरिकाले जोडौँ!!, सबै बामपन्थी शक्ति एकजुट होऔँ!, नेपाल कम्युनिष्ट पार्टी जिन्दावाद!, लगायतका नारा लगाउँदै राँके जुलुसले जिल्लाका विभिन्न स्थानमा परिक्रमा गरिएको जनाइएको छ ।

मसालजुलुसपछि कोणसभाहरु समेत भएका छन् । कोणसभालाई सम्बोधन गर्दै नेकपाका सुर्खेत सेक्रेटरी यामराजले १० वर्षे जनयुद्धका लक्ष्य, उदेश्य र सपनाहरु अधुरो रहेको र ती सपना पूरा गर्न एकीकृत जनक्रान्तिमार्फत अगाडि बढ्नु पर्ने आवश्यकता रहेको बताए ।

यसैगरी नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल लुम्बिनी ब्युरो क्षेत्रीय समन्वय समितिद्वारा २६ औं महान जनयुद्व दिवसको पूर्वसन्ध्यामा विभिन्न जिल्लामा मसालजुलुस निकालिएको छ ।

ब्युरो अन्तरगत गुल्मीको धुर्कोट, पाल्पाको तिनाउ, नवलपरासीको रामग्राम नगरपालिका, कपिलवस्तुको ३ स्थान शिवराज नगरपालिकाको हल्लानगर, बाणगंगा नगरपालिकाको बनगाई, कपिलवस्तु नगरपालिकाको पचेहरा र रूपन्देहीको मुर्गिया चोक लगायत अन्य जिल्लाका विभिन्न ठाउँमा मसालजुलुस निकालिएको हो ।   

यस्तै २६ औँ महान जनयुद्ध दिवसको पूर्वसन्ध्यामा नेपाल कम्युनिस्ट पार्टी दाङले जिल्लाको विभिन्न ठाउँमा मसालजुलुस गरेको छ ।

पार्टीको केन्द्रिय कार्यक्रम अनुसार दाङको तुलसीपुर, घोराही, बङ्गलाचुली गाउँपालिका, बबई गाउँपालिकाका विभिन्न स्थान मसालजुलुस सम्पन्न भएको छ।

मसाल जुलुस कार्यक्रममा महान जनयुद्ध जिन्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद, वीर शहिदहरु लालसलाम, दलाल पुजिवादी संसदिय ब्यवस्था मुर्दावाद, २६औँ जनयुद्ध दिवस भब्यताका साथ सफल पारौँ, सम्पुर्ण आस्थाका राजबन्दी रिहाइ गर! जस्ता नाराहरु लगाइएको थियो ।

यसैगरी नेपाल कम्युनिस्ट पार्टी झापाले झापाका विभिन्न स्थानमा मसाल जुलुस निकालेको छ ।

२६ औँ जनयुद्ध दिवसको पुर्वसन्ध्यामा झापाको शीवसताक्षी, कनकाई भद्रपुर, गौरादह, कमल , दमक ,  बुद्धशान्ती लगायतका स्थानमा मसाल जुलुस सम्पन्न गरिएको नेकपाले जानकारी दिएको छ ।

उक्त मसाल जुलुस कार्यक्रममा जिल्ला तहका नेताहरूले सम्बोधन गरेको र वैज्ञानिक समाजवादी सत्ता निर्माणका लागि जस्तोसुकै संघर्ष गर्न आफुहरू तयार रहेको नेकपा स्रोतले जानकारी दिएको छ । 

जुलुसमा एकीकृत जनक्रान्ति जिन्दावाद!, वैज्ञानिक समाजवाद जिन्दावाद! नेकपा जिन्दावाद!, महासचिव विप्लव जिन्दावाद!, दलाल संसदीय व्यवस्था मुर्दावाद, जनयुद्ध जारी छ, आस्थाका बन्दीहरू रिहा गर लगायतका नाराबाजी गरिएको समाचार स्रोतले जानकारी दिएको छ । 

यसैबीच नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल नवलपुरले दर्जनौं नेता कार्यकर्ताको उपस्थितिमा मध्यविन्दु नगरमा मसालजुलुस सहितको कोणसभा सम्पन्न गरेको छ । 

कोणसभालाई युवा संगठन नेपाल नवलपुरका अध्यक्ष अविनासले सम्बोधन गर्दै पुंजिवादी व्यवस्था, दलाल संसदिय व्यवस्था नै प्रमुख बाधक रहेको र अबको एकमात्र विकल्प वैज्ञानिक समाजवाद रहेको बताए । महान जनयुद्ध र महान सहिदहरुका अधुरा सपना पूरा गर्न सम्पुर्ण युवाहरू एकीकृत जनक्रान्तिको झन्डा मुनि गोलबन्द हुन आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :