नेपालमा पहिलो पटक रणनीतिक संयुक्त मोर्चा घोषणा

नेपालमा पहिलो पटक रणनीतिक संयुक्त मोर्चा घोषणा

काठमाडौँ : नेपालको राजनीतिक इतिहासमा पहिलो पटक चार क्रान्तिकारी पार्टीहरुले रणनीतिक संयुक्त मोर्चाको घोषणा गरेका छन् । आज प्रज्ञा भवन काठमाडौँमा भव्य कार्यक्रमका साथ उक्त मोर्चा घोषणा गरिएको हो । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य ‘किरण’ नेतृत्व रहेको ने.क.पा.(क्रान्तिकारी–माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी बीच नेपालमा संसदीय व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवाद र जनगणतन्त्र स्थापना गर्न रणनीतिक संयुक्त मोर्चा गठन भएको छ ।

आजको घोषणा कार्यक्रममा सम्बोधन गर्दै नेता मोहन बैद्य ‘किरण’ले कमरेड विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी माथि सरकारले लगाएको प्रतिबन्ध तुरुन्त हटाउनु र गिरफ्तार गरी जेल हिरासतमा राखिएका नेता कार्यकताहरुलाई तुरुन्त रिहा गर्नु पर्ने माग गरे । यो मोर्चाले छरिएर रहेका सबै क्रान्तिकारीहरुलाई गोलबन्द गर्ने र यसलाई विकास गर्दै पार्टी एकता तर्फ अघि बढ्ने जनाए । उनले आफूलाई आधिकारिक पार्टीको दाबी गरिरहेका केपी ओली र प्रचण्ड–माधव पक्षलाई इंगित गदै दुबै नक्कली कम्युनिस्ट भएको उल्लेख गर्दै उनीहरुले विगतका संघर्ष र जनयुद्धको ब्याज खाँदै अहिलेको शक्तिसंघर्ष पनि जनताको अधिकार र हितमा नभई व्यक्तिगत स्वार्थकेन्द्रित भएको बताए । साथै वर्तमान संसदीय व्यवस्था असफल भइसकेको निष्कर्षसहित अब निर्णायक संघर्षको समय आएकोले संघर्षमा साथ दिन सबैलाई आग्रह गरे ।

अर्का नेता ऋषिराम कट्टेलले जनताको पक्षमा जेल र हिरासतमा संघर्ष गरिरहेका नेता कार्यकर्ताहरुलाई कार्यक्रमबाटै सम्मान व्यक्त गरे । विप्लव नेतृत्वको पार्टी माथिको प्रतिबन्ध हटाउन र सबै नेता कार्यकर्तालाई स–सम्मान रिहा गर्न सरकारसँग आग्रह गर्दै उनले यदि सरकारले रिहा नगरे जनताले जेल तोडेर आफ्ना प्रतिनिधिलाई छुटाउने घोषणा गरे । साथै रणनीतिक मोर्चा इमान्दारी पुर्वक जनताको मुक्तिका लागि संघर्षमा लागिपर्ने प्रतिबद्धता जनाए । नेता आहुतीले रणनीतिक संयुक्त मोर्चा आजको आवश्यकता भएको बताउँदै वर्तमान व्यवस्थामा प्वाल परिसकेको स्थितिमा मोर्चाको दोस्रो चरणको कार्यक्रमसम्म नयाँ क्रान्तिकारी ध्रुवीकरणका लागि आधार तयार हुने स्पष्ट पारे । कार्यक्रममा राष्ट्रिय जागरण मञ्चका अध्यक्ष गुणराज लोहनीले रणनीतिक मोर्चा गठन भएकोमा बधाईं तथा शुभ–कामना दिँदै सबै वामपन्थी, देशभक्त र सच्चा लोकतन्त्रवादी शक्तिलाई समेत समेटेर अघि बढ्नुपर्ने बताए ।

नेकपा (क्रान्तिकारी–माओवादी)का नेता सीपी गजुरेलको नेतृत्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन धनकुमारी सुनार र नेकपाका सह–संयोजक लोक नारायण सुवेदीले स्वागत गरेका थिए ।

मोर्चाले आजै पहिलो चरणको संघर्षको कार्यक्रम समेत सार्वजनिक गरेको छ । जस अन्तरगत माघ २९ गते मोर्चाको घोषणा सभा : काठमाडाैँ, फागुन ६ गते जनसभा : बुटवल, फागुन १४ गते जनसभा : कैलाली, फागुन १८ गते, जनसभा : इटहरी रहेको छ ।

कार्यक्रममा मोर्चाको अवधारणा पत्र, नीति र कार्यक्रम घोषणा गरिएको थियो । सांगठनीक संरचना बारे नीति उल्लेख गर्दै, हाल केन्द्रमा पन्ध्र सदस्सीय समिति घोषणा गरेको छ । जसअनुसार— सीपी गजुरेल, ऋषिराम कट्टेल, सन्तोष बुढामगर, नवीन कुमार विश्वकर्मा, अज मोहम्मद, रामसिंह श्रीस, पवनमान श्रेष्ठ, रामदुलार महतो, राजेश बान्तवा, जागृत रायमाझी, धनकुमारी सुनार र नविन रिमाल रहेका छन् भने तीन सदस्य पछि थप गर्ने बताएको छ । प्रथम बैठकले अध्यक्ष र सचीव चयन गर्ने समेत मोर्चाले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :