विकिरण र रञ्जितलाई तत्काल रिहा गर : नेकपा

विकिरण र रञ्जितलाई तत्काल रिहा गर : नेकपा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी धौलागिरी ब्युरोले इन्चार्ज विकिरण र सेक्रेटरी रञ्जितलाई बाग्लुङ नगरपालिका –७ गैरागाउँमा बसिरहेको अवस्थामा प्रहरीले विनाकारण गिरफ्तार गरेको घटनाप्रति घोर भत्र्सना एवम् खेद प्रकट गर्दै तत्काल विनासर्त रिहा गर्न माग गरेको छ । धौलागिरी ब्युरो इन्चार्ज राजनले सोमबार वक्तव्य जारी गर्दै नेताद्धय विकिरण र रञ्जितलाई रिहाइ नगरिए यसबाट उत्पन्न हुने परिस्थितिको जवाफदेही भ्रष्ट प्रशासन नै हुने चेतावनी दिएका छन् ।

व्युरो इन्चार्ज राजनले वक्तव्यमा भनेका छन्, ‘हाम्रो जनप्रिय एवम् महान र गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी एकीकृत जनक्रान्तिको माध्यमद्धारा नेपालमा वैज्ञानिक समाजवाद प्राप्तिको बाटोमा अहोरात्र डटिरहेको कुरा यहाँहरुलाई अवगत नै छ । हामी नेपाली जनताको गाँस, बास, कपास, स्वाथ्य, शिक्षा र रोजगारको ग्यारेन्टी राज्यले नै गर्नुपर्ने शासन प्रणालीको पक्षमा संघर्ष गर्दै अगाडी बढिरहेका छौँ । विगत जनयुद्ध र जनआन्दोलनका आरोह–अवरोहहरु पार गर्दै नेपालमा भएको प्रतिक्रान्तिको विरूद्ध जनताको पूर्ण अधिकार प्राप्तिको पक्षमा सतिशालझैँ अडिक एकमात्र पार्टीका नेता कार्यकर्ता हामी त्याग, तपस्या र बलिदानको अर्को नाम हौँ ।’

इन्चार्ज राजनले वक्तव्यको अन्त्यमा भनेका छन्, ‘व्यक्तिगत तुच्छ स्वार्थी जीवन त्यागेर देश र जनताको मुक्तिको निम्ति क्रान्तिको बाटोमा अगाडी बढिरहेको हाम्रो पार्टीको लोकप्रियता गुणात्मक हुँदै जाँदा कथित लोकतन्त्र–गणतन्त्रको खिल्ली उडाउदै फासिवादी खड्कप्रसाद वलीको सरकार प्रतिबन्ध हुँदै–संकटकालको अभ्यासमा व्यस्त छ । कमिसनका ठूला–ठूला काण्ड र भ्रष्टचारमा लिप्त सर्वाधिक अलोकप्रिय वर्तमान केपी गुटको सरकार र उसका चाटुकारहरु–क्रान्ति र परिवर्तनमा आफ्नो आयु छोटिएको देख्दछन् । आफ्नो कुर्चीको आयु लम्बाउन हत्या, हिंसा, बलात्कार र ठूला–ठूला भ्रष्टचारीहरुको संरक्षक नै केपी र उसको प्रशासन बनेको छ । बिडम्बना हालै हाम्रो पार्टीको राजनैतिक अभियानको क्रममा यही मिति २०७७ माघ १० गते नेपाल बन्दको दिन हाम्रो पार्टीका जिल्ला इन्चार्ज क. विकिरण र सेक्रेटरी क. रञ्जीतलाई बा.न.पा– ७ गैरा गाउँमा बसिरहेको अवस्थामा गरिएको गिरफ्तारको घटनाप्रति घोर भत्र्सना एवम् खेद प्रकट गर्दछौँ । उहाँहरुको बिना शर्त रिहाइको माग गर्दछौँ । अन्यथा यसबाट उत्पन्न हुने परिस्थितिको जवाफदेही भ्रष्ट प्रशासन नै हुनुपर्ने व्यहोरा जानकारी गराउँदछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :