भारत–चीनबीच तनाव भैरहेको बेला नेपालका उच्चपदस्थको भ्रमण स्थगित गर्नुपर्छ – प्रा.डा.गोपाल शिवाकोटी, अध्यक्ष, कूटनीतिक अध्ययन केन्द्र

काठमाडौं / साउन ८ :  कूटनीतिक अध्ययन केन्द्रको अध्यक्ष प्रा.डा.गोपाल शिवाकोटी र महासचिव डा.दिपेन्द्र रोकायले छिमेकी राष्ट्र र भारत चीनबीच तनाव उत्पन्न भएको अवस्थामा छिमेकी राज्य नेपालका उच्चपदस्थ पदाधिकारीहरुको भ्रमण गर्नु कुनै पनि अर्थमा कूटनीतिक रुपमा उपयुक्त नहुने भएकोले यी भ्रमणहरु स्थगित गर्नु पर्ने बताउनु भएको छ । आइतबार अपरान्ह जारी गरेको प्रेस विज्ञप्तिमा उक्त करा बताएको हो ।  उहाँहरुको विज्ञप्तिको पूर्णपाठ –

एक महिनाभन्दा अघिदेखि भुटान, भारत र चीनको त्रिदेशीय विन्दु नजिकको डोकलाङमा लचीनले सडक निर्माण गरेको विषयलाई लिएर भारतले सैनिक  उतारेपछि विवाद बढेको छ । परमाणु तैनाथीसमेत भएको छ । यस घटनाले अन्तर्राष्ट्रिय चासोको विषयसमेत बन्न पुगेको छ । चीनले भारतीय सेना नफर्किन्जलेसम्म भारतसँग वार्ता नगर्ने अडान लिएको र चीनले डोकलाङ क्षेत्रमा बाटो निर्माण नरोकेसम्म वार्ता नगर्ने भनी कूटनीतिक रुपमा जानकारी गराएको छ । दुबै तर्फको सिमामा सेना तैनाथ छन् र अवस्था उत्तेजित भएको छ । छिमेकी मित्रराष्ट्र भारत र चीनबीच डोकलाङको विवादलाई लिएर तनाव उत्पन्न भैरहेको अवस्थामा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको भारतको भ्रमण र उनको  उपप्रधानमन्त्री कृष्ण बहादुर महराको चीनको भ्रमणप्रति हाम्रो  गम्भीरतापूर्वक ध्यान आकर्षित भएको छ ।

छिमेकी राष्ट्र र भारत चीनबीच तनाव उत्पन्न भएको अवस्थामा छिमेकी राज्य नेपालका उच्चपदस्थ पदाधिकारीहरुको भ्रमण गर्नु कुनै पनि अर्थमा कूटनीतिक रुपमा उपयुक्त नहुने भएकोले यी भ्रमणहरु स्थगित गर्नका लागि आग्रह समेत गर्दछौँ । भ्रमण नै गर्ने हो भने यसै विषयलाई लिएर शान्तिपूर्ण वार्ताको लागि पहल गर्न दुबै देशलाई अनुरोध गर्न विशेषदूत पठाएर अनुरोध गर्न र सहजिकरणको प्रयास गर्न उपयुक्त हुनेछ । सन् १९६२ मा नेपालले विशेष दूत पठाएर आफ्नो तटस्थ स्थिति स्पष्ट पारी कूटनीतिक चार्तुयता प्रशद्र्धन गरेको यहाँ उल्लेखनीय छ । 

भारत र चीन आमने सामने भएर सिमा क्षेत्रमा सैनिक तैनाथ समेत गरेर वाक युद्धमा उत्रेको अवस्थामा कार्यकारी प्रमुख समेत रहेका  शेरबहादुर देउवाको भारत भ्रमणलाई चीनले कसरी लिन्छ र उपप्रधानमन्त्रीको भ्रमणलाई भारतले कसरी लिन्छ भन्ने कुरा पनि महत्वपूर्ण विषय हुन् । विशेष काम नभए पनि अहिले नै भ्रमण गरिहालौँ भन्ने प्रधानमन्त्रीको रहरले नेपालको राष्ट्रिय हीतमा असर पर्न सक्छ । यसैले यो परम्परागत रुपमा नियमति रुपमा हुँदै आएको दिल्ली भ्रमणको कुनै औचित्यता नरहेकोले यस्तो औचित्यहीन, विवादस्पद भ्रमण गर्नु राष्ट्रको हीत र तथस्त विदेश नीति विपरित समेत हुन जानेछ ।

भ्रमण गर्दा आथित्य राज्यको अनुरोधलाई शिष्टचारको रुपमा समेत समर्थन गर्नुपर्ने हुँदा यो विवादमा नेपाल समेत तानिन सक्ने हुँदा नेपालको तटस्थतामा र दुबै मुलुकबीचको सन्तुलनको कुटनीति समेतमा समेत असर पर्न सक्ने अवस्था रहेको छ ।  छिमेकी दुबै मुलुकले आफ्नो विवादमा छिमेकी र अन्तर्राष्ट्रिय समर्थन जुटाउनु प्रयास गरिरहेका छन् । यस्तो अवस्थामा उच्चस्तरीय भ्रमण हुँदा आफ्नो पक्षमा समर्थन गर्ने पनि स्वभाविक कुरा हो । नेपालले सन् १९६२ को भारत र चीनबीचको सिमा युद्ध तथा भारत र पाकिस्तानबीचको सन् १९६५ को सिमा युद्धमा तटस्थता कायम गरेको थियो । चीनको युद्धमा गोर्खा रेजिमेन्टलाई रोक्न नसकेको कुराले भने नेपाल आलोचित र तटस्थ हुन नसकेको भन्ने आरोप लागेको थियो । 

अन्त्यमा,   भारत र चीनबीच एक महिना बढी समयदेखि सैनिक तनावले गर्दा यो विश्वलाई चिन्तित तुल्याएको छ । यो तनावलाई तत्काल रोक्नका लागि भारत र चीनबीच भएको यसअघिको समझदारी अनुसार प्रत्यक्ष वार्ता गरी तनावलाई समाधान गर्नसमेत छिमेकी राष्ट्र चीन र भारतसमक्ष विनम्र अनुरोध र वार्ताद्धारा समाधान खोज्न विनम्र अनुरोध गर्दछौँ । 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :