नेकपाका गिरफ्तार नेता–कार्यकर्तालाई रिहा गरी वार्ताको पहल गर : २३ दल

नेकपाका गिरफ्तार नेता–कार्यकर्तालाई रिहा गरी वार्ताको पहल गर : २३ दल

काठमाडौँ : कार्यगत एकता गरी सरकारविरुद्ध आन्दोलनरत विभिन्न २३ दल र सङ्गठनहरूले संयुक्त विज्ञप्ति जारी गरी गिरफ्तार गरिएका नेकपाका केन्द्रीय सचिवालय सदस्य कञ्चनलगायत नेता–कार्यकर्ताहरूलाई अविलम्ब रिहा गर्न माग गरेका छन् ।

२३ दलका तर्फबाट सीपी गजुरेलद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘हामीले विप्लवले नेतृत्व गरेको नेकपासँग वार्ता गर्न र उक्त पार्टीमाथिको प्रतिबन्ध हटाउन माग गर्दै र केपी वली सरकारलाई सुझाव दिँदै आएका छौँ । यदाकदा सरकारले वार्ताको प्रचार पनि गर्ने गरेको छ तर यही पुस २९ गते अपराह्न त्यस पार्टीका केन्द्रीय सचिवालयका नेता धर्मेन्द्र बास्तोलालगायत चारजनालाई गिरफ्तार गरिनुले सरकार दमनतिरै अग्रसर भएको देखिन्छ । हामी तेईस राजनीतिक सङ्गठनका तर्फबाट गिरफ्तार नेता, कार्यकर्ताहरूलाई रिहा गरी वार्ताको बाटोबाट समस्याको समाधान खोज्न सरकारसँग माग गर्दछौँ ।’

विज्ञप्ति जारी गर्ने कार्यगत एकतामा सम्मिलित २३ राजनीतिक सङ्गठनमा नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), राष्ट्रिय जनमोर्चा नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जागरण मञ्च, जन समाजवादी पार्टी, नेकपा (संयुक्त), राष्ट्रिय जागरण परिषद् नेपाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा (बोल्सेबिक), राष्ट्रवादी केन्द्र नेपाल, एमसीसी खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), माक्र्सवादी एकता अभियान, नेकपा (माक्र्सवादी), नेकपा माक्र्सवादी (पुष्पलाल), नेकपा (माओवादी) र समाजवादी राष्ट्रिय मञ्च नेपाल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :