हुतु विद्रोहीद्वारा प्रधानमन्त्री मिन अब्दुल मलिकमाथि नै आक्रमण

हुतु विद्रोहीद्वारा प्रधानमन्त्री मिन अब्दुल मलिकमाथि नै आक्रमण

सैन्य कारबाहीको प्रतिरोध गरिरहेका यमनका हुतु विद्रोहीहरूले प्रधानमन्त्री मीन अब्दुल मलिकमाथि नै आक्रमण गरिदिएका छन् । एडन विमानस्थलमा प्रधानमन्त्री र मन्त्रिपरिषद् सदस्यहरूलाई लक्षित गरी भएको आक्रमणमा २२ जनाको मृत्यु भएको छ । आक्रमणमा ५० भन्दा बढी घाइते भएका छन् । द्वन्द्वग्रस्त यमनका नवनियुक्त मन्त्रीहरू सवार विमान अरेबियाबाट आएर अवतरण गरेको केहीबेरमै विस्फोट भएको बीबीसीले जनाएको छ ।

सहायतामा जुटेकाहरू पनि घटनामा हताहत भएको जनाइएको छ । त्यहाँका प्रधानमन्त्री मीन अब्दुल मलिकले भने आफू र मन्त्रिपरिषद् सदस्यहरू ‘सकुशल’ रहेको बताएका छन् ।

यमनको समाचार वेबसाइट अल मस्दरको भनाइ उद्धृत गर्दै बीबसीले जनाएअनुसार श्रम मन्त्रालयका उपसचिव मारिएको र दुईजना उपमन्त्री घाइते भएको जनाएको छ ।

सूचनामन्त्रीले भने हुती विद्रोहीहरूले कायरतापूर्ण आतङ्कवादी कार्य गरेको आरोप लगाएका छन् ।

बीबीसीको भीडीओ फुटेजमा यात्रीहरू उत्रिँदै गरेको बेला ठूलो विस्फोट भएको देखिएको छ । मन्त्रीहरूको स्वागतका लागि पुगेको भीड एयरपोर्ट टर्मिनलबाट बाक्लो धुवाँ निस्किएको देखेपछि भागेका थिए । त्यसको केही समयमै बन्दुक प्रहारको आवाज सुनिएको थियो । त्यहाँ कम्तीमा दुईवटा विस्फोट भएको जनाइएको छ ।

साउदी अरेबियाले नेतृत्व गरेको अरब राष्ट्रहरूको समूहले हुती विद्रोहीहरूलाई परास्त गर्न र राष्ट्रपति अब्दराबा मन्सुर हादीको शासन स्थापित गर्न सैन्य कारबाही सुरु गरेसँगै यमनमा फेरि आक्रमणका घटना बढेका छन् ।

सन् २०१५ देखि यमन द्वन्द्वको चपेटामा परेको छ । त्यहाँ द्वन्द्वले अहिलेसम्म एक लाख दस हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

एजेन्सीहरूको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :