वैज्ञानिक समाजवाद मानव समाजको आजसम्मको सर्वोत्तम सामाजिक व्यवस्था हो – सन्देस पौडेल, केन्द्रीय सदस्य, नेकपा

केन्द्रीय सदस्य, नेपाल कम्युनिस्ट पार्टी

»»तपाईं कहिले, कसरी र कुन ठाउँबाट गिरफ्तार हुनुभयो ? 
वैशाख २४ गते काठमाडौँमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन म २३ गते धनुषाको महेन्द्रनगरबाट बर्दिबास हुँदै सिन्धुली जाँदै थिएँ । त्यस दिन सिन्धुलीको भेटघाट सकेर २४ गते काठमाडौँ जाने कार्यक्रम थियो । सोही क्रममा २३ गते ४ बजे भिमान इप्रका अगाडि सवारी साधन रोकी सवारी साधनभित्रैबाट बिनापुर्जी, बिना जानकारी, बिनापोसाक ४÷५ जनाको सङ्ख्यामा आएका व्यक्तिहरूले जबर्जस्ती समाएर लगे । 

»»चुनाव खारेजी अभियानमा लाग्दा गिरफ्तार पर्नुभयो । के अभियान सशस्त्र थियो र ? 

होइन, यो नितान्त शान्तिपूर्ण र राजनीतिक तरिकाको थियो । हामी यो चुनावलाई राजनीतिक रूपमा खारेजी गर्न चाहन्थ्यौँ । किनकि आमूल परिवर्तनका खातिर भएका विभिन्न सङ्घर्षहरू, महान् जनयुद्ध र ऐतिहासिक जनआन्दोलनको लक्ष्यविपरीत नेपालमा दलाल संसदीय पुँजीवादी व्यवस्था लादियो । यही व्यवस्थालाई संस्थागत गर्न आएको यो संविधान र त्यसैको कडीका रूपमा ल्याइएको कथित स्थानीय निर्वाचन जनताको मुक्तिको साधन बन्नै सक्दैनथ्यो । यो त महान् सहिदहरूमाथिको ठूलो धोका र गद्दारी थियो । जनतालाई नयाँ तरिकाबाट शोषण गर्ने, दमन गर्ने र देशलाई कङ्गालीकरणको दिशामा लैजाने संस्थागत जालो मात्रै थियो । विदेशीहरूको योजनामा नेपालको परिवर्तनकामी आन्दोलनमा बाधा पु¥याउने षड्यन्त्र थियो । आन्दोलन र क्रान्तिका नायकहरूको पतनलाई भण्डाफोर हुनबाट जोगाउने असफल कोसिस मात्रै थियो । 

त्यसैले हाम्रो पार्टी यो व्यवस्था र यसैलाई संस्थागत गर्ने कडीका रूपमा आएको कथित चुनावको औचित्य नभएको, बरु त्यसको ठाउँमा वैज्ञानिक समाजवादसहितको निर्वाचनको आवश्यकता भएको तथ्य आम जनतामा लैजाने कार्यक्रम र अभियान थियो । तर यो अभियान दलाल पुँजीवादीहरूका लागि मुटुमा कोप्ने झीरजस्तो र उनीहरूको लुटतन्त्रमा आउन थालेको ठूलो भूकम्पजस्तो महसुस गरे । जसले गर्दा शान्तिपूर्ण अभियानमा लागेकाहरूलाई गिरफ्तार गर्ने, झूटा मुद्दा लगाउने र जनतामा डरत्रास फैलाउने काम गरे । 

»»नेकपाले चुनाव खारेजी अभियान सफल भयाे भनेको छ । तपाईं त हिरासतमा हुनुहुन्थ्यो । यो अभियानको सफलता के हो ?

यो निर्वाचन खारेजी अभियान केही कमजोरी र सीमा हुँदाहुँदै पनि सफल भएको छ । यसको सफलतालाई चारवटा बुँदामा भन्न सकिन्छ : १. यो निर्वाचन खालि निर्वाचन मात्रै थिएन, यो सत्ताको प्रश्न थियो । यसपटकको निर्वाचनले संसदीय पुँजीवादी व्यवस्थालाई संस्थागत गर्न चाहने र त्यसको विकल्प समाजवादी व्यवस्था निर्माण गर्न चाहने शक्तिहरूका बारेमा जनताबीच घामजस्तै छर्लङ्ग पारेको छ । जसले गर्दा दलाल संसदीय पुँजीवादी व्यवस्थालाई संस्थागत गर्न चाहने, सिद्धान्ततः विरोध गर्दागर्दै पनि त्यसमै अल्मलिने र त्यसका विरुद्ध दृढतापूर्वक उभिने गरी तीन कित्तामा विभाजन गरिदिएको छ । यसका बारेमा जनतालाई अब धेरै भनिरहनु पर्दैन । 

२. यो निर्वाचनले पुनः एकपटक यो व्यवस्था अन्ततः जनताको व्यवस्था होइन भन्ने प्रस्ट पारेको छ । निर्वाचनमा पैसाको प्रयोग, अराजनीतिक गठबन्धन, जेल, नेल, दमन र हत्या, सत्ता र पार्टी शक्ति प्रयोग गरी जनचाहनाविपरीत धाँधली, संसदीय पार्टी र तिनका प्रतिनिधिप्रति जनताको उपेक्षा भावले यो व्यवस्था जनताको होइन भन्ने प्रस्ट पारेको छ । 

३. वैकल्पिक सत्ता निर्माणको आधार तयार भएको छ । निर्वाचनमा भएका समग्र घटना र प्रकृति, कथित निर्वाचितहरूले गरेका प्रारम्भिक निर्णयहरू, निर्वाचनमा भाग लिने पार्टीबीचमा कुनै गुणात्मक अन्तर नभै सामान्य मात्रात्मक अन्तर मात्र देखिनु, समावेशी र केही सीमित अधिकार स्थानीय तहमा हुनुबाहेक २००७ सालपछिका यावत् चुनावहरूको अर्को निरन्तरताबाहेक यो चुनाव कुनै अर्थमा पनि फरक देखिँदैन । त्यसैले जताबाट नापेर हेर्दा पनि अर्को वैकल्पिक सत्ताको आवश्यकता देखिन्छ । यो पनि यस खारेज अभियानकै क्रममा व्यवहारद्वारा पुनः पुष्टि भएको छ । 

४. झन्डै ६०० को सङ्ख्यामा गिरफ्तारी, दर्जनौँ स्थानमा जनप्रतिरोध हुनु, चुनावकै बीचमा सयौँ स्थानमा नयाँ सत्ताको निर्माण प्रक्रिया अघि बढ्नु, जनताको प्रतिरोधी मनोविज्ञान विकास हुनु, कार्यकर्तामा नयाँ जोस र उत्साह थपिनु, राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा पार्टी र नेतृत्वको साखमा वृद्धि हुनुजस्ता कुरा चुनाव खारेजी अभियानका सफल पक्ष हुन् । जहाँसम्म म हिरासतमा थिएँ भन्ने कुरा हो, म मात्र होइन, आधा दर्जन केन्द्रीय सदस्य र दर्जनौ जिल्लाका इन्चार्ज, सेक्रेटरीलाई हिरासत र केहिलाई जेल पनि हालियो । यसले के पुष्टी गर्दछ भने नेकपाका नेता कार्यकर्ता र सयौँको सङ्ख्यामा जनतालाई थुनेर चुनाव गरियो । यसले यो एउटा नौटङ्की थियो भन्ने पुष्टि गर्दछ । 

»»पक्राउपछि यहाँ को सम्पर्क मा आएका प्रशासनका व्यक्तिहरूको व्यवहार र सोचाइ कस्तो पाउनुभयो ? 

मलाई पक्राउपछि भिमानको इलाका प्रहरी कार्यालय, सिन्धुली, जिल्ला प्रहरी कार्यालय तथा जिल्ला प्रशासन कार्यालय सिन्धुली, सिन्धुली कारागार, जिल्ला प्रहरी कार्यालय महोत्तरी र जिल्ला अदालत महोत्तरीलगायतका ठाउँहरूमा लगियो । ६५ दिनको यो यात्रामा प्रहरी, कर्मचारी, बन्दी, कैदी, सेनासहित सयौंको संख्यामा भेटघाट, छलफल र अन्तरक्रिया हुन पायो । ती सबै छलफलबाट हामी सबै साथीहरू निकै उत्साहित भएका छौं । खास गरी २ वटा प्रवृत्तिहरू देखा परे, जसमा एउटा थियो दलाल प्रवृत्ति । दुई चार जना यस्ता भेटिए जसले हामीलाई कडा र झुटा मुद्दा लगाउन उद्दत रहे । सत्ताको तावेदारी गर्ने, राजनैतिक बन्दीलाई हेप्ने र अपमान गर्ने गरे । साथै जनतालाई भेडाबाख्रा सम्झने र सोहीअनुसार दम्भ प्रकट गर्ने । अर्को विल्कुल फरक प्रवृत्ति थियो, जसले सुरुदेखिनै हाम्रा पार्टीका सबै साथीहरूलाई निकै मानवीय व्यवहार प्रदर्शन गरे । खाना, स्वास्थ्य, बसाई, सूचनासंचार आदिमा महत्वपूर्ण सहयोग गरे ।

अचम्म लाग्दो कुरा के थियो भने अधिकांश भेटघाट र छलफलहरूमा उनीहरूले हाम्रो पार्टी र नेतृत्वप्रति आशासहित आफ्ना विचारहरू राखे । “नेपालमा धेरैलाई हेरियो, केही पनि भएन, प्रचण्ड र बाबुरामप्रति त निकै आशा थियो तर उनीहरू पनि अरु पार्टी जस्तै भए । अब तपाईंहरूको पार्टी र तपाईंहरूको नेतालाई हेर्न बाँकी छ ।” उनीहरू थप भन्दै थिए –“जनताले पनि तपाईंहरूप्रति हेरिरहेको छ, तपाईंहरूको नेतृत्वप्रति हेरिरहेको छ । छिट्टै तपाईंहरू अगाडि बढ्नुस् र नबिग्रिनुस् ।” कैयौंले हाकिमहरूका आँखा छल्दै उनीहरूका गलत क्रियाकलापहरूबारे सूचना दिन्थे । प्रहरीमा मात्रै होइन, कर्मचारीमा पनि त्यही व्यवहार देखियो । तल्लो तहका कर्मचारीहरूले पार्टी र नेतृत्वप्रतिको सद्भाव तथा विश्वासले हामीलाई आश्चर्य र उत्साही बनायो । कैदी, बन्दीमा त निकै सद्भाव पाइयो । उनीहरू परिवर्तनका बारेमा निकै चनाखोपूर्वक हेरिरहेका थिए । पार्टी र नेतृत्वप्रतिको आशा झण्डै कार्यकर्ताको स्तरमा थियो । उनीहरूले भने–“धेरैजसो जेलमा यसै प्रकारको मनोविज्ञान छ ।” रातोखबर पत्रिका नियमित गर्ने र आन्दोलनलाई आर्थिक सहयोग गर्न पनि उनीहरू निकै आतुर देखिन्थे । 

»»अभियान सफल भयो भनिए पनि चुनाव त भैहाल्यो नि ? २ नं प्रदेशमा पनि असोज २ गते हुने भनिएको छ नि त ? 
पहिलो कुरा चुनावका बारेमा जे तथ्याङ्क बाहिर सार्वजनिक गरिएको छ त्यो नै गलत हो । कुल मतदानका लागि योग्य नेपाली नागरिकमध्ये झन्डै २० प्रतिशत मतदाताको सूचीमा नामै छैन । चुनावको बेलामा झन्डै ४० लाख नेपाली मतदाता देशबाहिर थिए । जुन मतदाता देशमा थिए त्यसको एउटा हिस्सा खारेजीका पक्षमा थियो । त्यसैले ७० प्रतिशत मतदाता भन्ने विषय नै गलत हो । कुल नेपालीमध्ये २० देखि २५ प्रतिशतले मात्रै मतदान गरेका छन् । 

दोस्रो कुरा, मतदानमा राज्यको त्रासले पनि काम गरेको छ । जति स्वेच्छाले गएका छन् उनीहरूमा पनि व्यवस्था र पार्टीप्रति खासै विश्वास छैन । तथापि चुनावको बेला ज्ञानेन्द्रले गराएको चुनावबाहेक सबै चुनावमा जनताको एउटा हिस्साले मतदान गरेकै छ । त्यसबाट तत्कालीन व्यवस्थाका पक्षमा जनता रहेको पुष्टि हुनै सक्दैन । जनता पञ्चायतविरोधी थिए तर पञ्चायतमा हुने चुनावमा जनता गणतन्त्रका पक्षमा थिए, राजतन्त्र भएको बेला पनि चुनावमा सहभागी बनेका थिए । यसैले मतदानमा भाग लिँदैमा जनताको राजनीतिक बुझाइको अन्तिम फैसला हुन सक्दैन । 

जहाँसम्म २ नं प्रदेशको चुनाव छ, त्यसमा पनि अन्य प्रदेशको जस्तै राज्यले नाटक गर्न कोसिस गर्ने नै छ । तथापि अत्यधिक मधेसी जनता उत्पीडित र गरिबीको मारमा छन् जसले गर्दा कथित थोत्रो र संसारभर परीक्षण भैसकेको पुँजीवादी व्यवस्था र त्यसमा गरिने चुनावका पक्षमा जान चाहँदैनन् । त्यसैमाथि साम्राज्यवादी आड र भरोसामा हुन लागेको यो चुनावको सशक्त खारेजीका पक्षमा उभिने छन् । हाम्रो पार्टीले यसको शानदार नेतृत्व गर्नेछ ।  तपाईंको पार्टीले वैज्ञानिक समाजवाद स्थापना गर्ने रणनीतिक कार्यक्रम बनाएको छ ।

»»के नेपालमा वैज्ञानिक समाजवाद स्थापना हुने सम्भावना छ ? यसका आधारहरू के के हुन् ? 

हो, हाम्रो पार्टीले वैज्ञानिक समाजवाद स्थापना गर्ने रणनैतिक कार्यक्रम बनाएको छ । हाम्रो पार्टी वैज्ञानिक समाजवादलाई रणनीति बनाएकोले यो नेपाली समाजमा लागु हुने होइन, बरु वैज्ञानिक समाजवाद नेपालमा अनिवार्य रुपमा लागु हुने भएकाले हाम्रो पार्टीले यसलाई रणनैतिक कार्यक्रम बनाएको हो । 

वैज्ञानिक समाजवाद मानव समाजको आजसम्मको सर्वोत्तम सामाजिक व्यवस्था हो । यो विश्वभरी नै क्रमशः लागु हुँदै जानेछ । नेपालमा त झन् सहजपूर्वक र छिटो निर्माण हुनेछ । पहिलो कारण के छ भने नेपाली समाजमा जुन परिवर्तनको अभिलाषा छ, त्यो तीब्र र बेगवान गतिमा छ । एउटा परिवर्तनपछि त्यो भन्दा उचाइको अर्को परिवर्तनका लागि नेपाली जनता १० बर्ष पनि कुर्न सक्दैनन् । आमूल परिवर्तनको आफ्नो लक्ष्य नभेटाउन्जेल जनता निरन्तर संघर्षमा छन् । राणा शासन फाले, पञ्चायत फाले, राजतन्त्र फाले, माओवादीलाई सबैभन्दा शिखरमा पु¥याए, आज माओवादी केन्द्रले क्रान्तिप्रति धोका दियो भन्ने थाहा पाएपछि झन्डै पत्तासापको स्तरमा पु¥याए । अर्को क्रान्तिकारी बिकल्पबारे जनता सचेत भएपछि यो दलाल संसदीय व्यवस्था फालेर वैज्ञानिक समाजवादी व्यवस्था निर्माण गर्न कुनै समय नै लाग्ने छैन । 

दोस्रो, समाजवाद समृद्धि र समानताको व्यवस्था हो । नेपालमा समृद्धिका प्रशस्त आधारहरू छन् । यहाँको पर्यटन, उर्जा, जडिबुटीलाई राम्ररी व्यवस्थापन गर्दा पनि प्रतिव्यक्ति आय संसारमै राम्रोमध्येको एक हुन्छ । पुँजीवादले उत्पादनमा सामूहिक गरे पनि वितरणमा असमानता गरेको छ, त्यसको बदलामा वैज्ञानिक समाजवादले उत्पादनमा सामूहिकता र वितरणमा समानता गर्दछ । पुँजीको तीब्र विकास र त्यसको समान वितरणले समाजलाई तीब्र गतिमा न्याय र समानतासहितको समृद्धिलाई विकास गराउँदछ । यदि ठीक र सही ढंगले हाम्रो देशको शासन चलाउने हो भने वनजंगल, जडिबुटी, पर्यटन, खनिज, जमिन, श्रमशक्ति, भौगोलिक बनावट, छिमेकीमा तीब्र विकास भइरहेको अर्थतन्त्र, भ्रष्टाचार र कमिसनखोरीका कारण जम्मा गरी राखिएको खर्बौ डलर बराबरको सम्पत्ती आदिजस्ता विषयको उचित व्यवस्थापनले नेपालको समृद्धिलाई सजिलै जनताको पहुँचमा ल्याउन सक्छ । नेपालमा सर्वहारा वर्गले यहाँको पुँजीवादी र मध्यमवर्गीय जनसमुदाय (जसको चरित्र बदलिएको छ) लाई गोलबद्ध गरेर संघर्षमा अगाडि बढ्नुपर्छ । मजदुर, किसान, सुकुमबासी, उत्पीडित जनसमुदाय, देशभक्त सेना, प्रहरी, कर्मचारी, प्रगतिशील मध्यमवर्गसहित देशभित्र र बाहिर रहेका जनसमुदाय एकताबद्ध भई यहाँको दलाल संसदीय पुँजीवादी व्यवस्थाको विरुद्ध संघर्ष गर्ने बिषयमा कुनै द्विविधा छैन । त्यसको नेतृत्व गर्न क. विप्लवको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी योजनावद्ध ढंगले अगाडि बढेको छ । वैज्ञानिक समाजवादको ठोस खाकासहित संघर्षको मैदानमा छ । जसले गर्दा वैज्ञानिक समाजवादको यात्रा छिटो र छरितो बनिरहेको छ । 

»»तपाईको पार्टीले समानान्तर सत्ता चलाएको हो ? किन यसको आवश्यकता प¥यो ? 

हो, हाम्रो पार्टीले आम जनतासँग मिलि समानान्तर सत्ता सञ्चालन गर्न लागेको छ । तर ती सत्ताहरू प्रचारात्मक र प्रारम्भिक चरणमा छन् । विगतमा सञ्चालन गरिएका जनसत्ताहरूलाई अपमान र बेइमानीपूर्वक विघटन गरिए । यसैबिच जनसत्ताका बारेमा प्रतिक्रियावादी सत्ताले धेरै नै भ्रमहरू पनि सिर्जना ग¥यो । संगसंगै नेपाली समाजमा देखापरेको उत्पादन सम्बन्धको विकासले क्रान्तिको नमूनामा पनि परिवर्तन ल्याएको छ । त्योसँगै जनसत्ताको अवधारणालाई पनि सोहीअनुसार परिमार्जित गरेको छ । अब वैज्ञानिक समाजवाद निर्माण गर्न एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत अघि बढ्दैछौं । त्यसैको एक अभिन्न अंगका रुपमा जनसत्ताहरूको विकास, बिस्तार र सुदृढिकरण गर्दै केन्द्रीय सत्ता कब्जा गरिनेछ । 

जहाँसम्म जनसत्ताको आवश्यकताको प्रश्न हो, त्यो मुख्यतः दुई कारणले छन् । पहिलो, रणनैतिक हिसाबले वैज्ञानिक समाजवादी व्यवस्था निर्माणको आधारको रुपमा जनसत्ता सञ्चालन गरिनेछ । दोश्रो, कार्यनैतिक हिसाबले जनताका दिन दिनैको समस्या र उनीहरूमाथि हुने सबै प्रकारका उत्पीडनहरू कम गर्न तत्काल जनतालाई न्याय, समानता, समृद्धिको क्षेत्रमा राहत दिन जनसत्ताको आवश्यकता प¥यो । 

»»तपाईंको पार्टीले ठाउँठाउँमा जग्गा कब्जा गर्ने, कर्मचारीलाई कालोमोसो दल्ने प्रकृतिको कारवाही किन गर्ने गरेको हो ? 

ठीकै भन्नुभयो । हाम्रो पार्टीले उत्पीडित जनतासँग मिलि जनताको माग दाबीअनुसार थप अध्ययन अनुसन्धानपछि त्यसप्रकारका कारबाही गर्ने गरेको छ । जसलाई जनचाहनाअनुसार अझै बढाउँदै लगिने छ । जहाँसम्म जग्गाको प्रश्न छ, त्यहाँ मुख्यतया दुई प्रकृति छन् । एउटा सामन्त दलाल तथा नोकरशाही पुँजीपतिहरूको जमिन छ, जसलाई कब्जा गरी जनता र राज्यको मातहत ल्याउने नीति रहेको छ । अर्को, जनता र जनताबिचका विवादित बिषय छन्, जसलाई छलफलद्वारा न्यायोचित आधारमा मिलाउने काम गरिन्छ । त्यसरी मिलाउने क्रममा सत्ता, पैसा र गुण्डाको बलमा अन्याय गर्न खोजेमा त्यहाँ पनि कब्जा गरिने छ तर कुनै पनि प्रकृतिको कब्जा गरेको जमिन बेचबिखन गरिने छैन । ती जमिन शहीद परिवार, सुकुमबासी र सर्वहारा वर्गलाई निःशुल्क वितरण गरिनेछ । मोही र त्यसप्रकारका अन्य प्रकृतिसँग सम्बन्धित जमिन भने सम्बन्धित व्यक्तिलाई दिइनेछ । अन्ततः जमिन सम्बन्धी तयार पारिएको वैज्ञानिक नीतिका आधारमा क्रान्तिकारी भूमिसुधारको नीति लागु गर्दै लगिने छ । यी कामको विस्तारै नयाँ सत्ता अन्तर्गत अगाडि बढ्दै जानेछन् । 

जहाँसम्म कालोमोसोको प्रश्न छ, त्यो खासगरी भ्रष्टचारी, अनियमितता र बद्मासीसँग सम्बन्धित छन् । हामीले भनेका छौं, ठेकेदारहरूले ठेक्का पट्टामार्फत, नेता र कर्मचारीले कमिसनमार्फत, स्थानीय तहका सरकारी कार्यालयहरूमा घुसमार्फत, गैरसरकारी संस्थामा अनुत्पादक क्षेत्रमा बजेट लगानी गरी हिसाब किताब मिलानमार्फत, दलालहरूले दलालीमार्फत, जमिनको दलालीदेखि मानव तस्करीसम्मका लुट गरेकोले जनता आक्रान्त बनेका छन् र देशको अर्थतन्त्र विकास हुन सकिरहेको छैन । 

यी र यस्ता गतिविधिबारे हामीले ज्ञापन पत्रमार्फत, पर्चा पम्प्लेट र अपिलमार्फत, नारा जुलुस र आमसभा मार्फत तथ्यहरूसहित निरन्तर भनिरहेका छौं । तर राज्य कानमा तेल हालेर बसेको छ । त्यतिमात्रै होइन, उल्टै उनीहरूसँग मिली देश र जनता लुटिरहेको छ । त्यसैले यस्ता प्रवृत्तिलाई भण्डाफोर गर्न हामी जनचाहना अनुरुप कालोमोसो दल्नेजस्ता गतिविधिमा पनि सामेल भैरहेका छौं । 

»»त्यस्तो खराब कामका बिरुद्ध प्रशासनसँग मिले रवैधानिक ढङ्गले कारवाही गर्दा हुँदैन ? नत्र त तपाईंका कार्यकर्ता जेलमा थुनिने भए नि ? 

हुन्छ पनि, हुँदैन पनि । कैयौं कारवाहीहरू, जहाँ देशभक्त प्रहरी, कर्मचारी र प्रशासन छन्, त्यहाँ मिलेर पनि कारवाही हुन सक्छ । जहाँ त्यसप्रकारका बदमासीहरू राज्यकै संरक्षणमा भैरहेका छन्, त्यहाँ राज्यको संयन्त्रसँग मिलेर होइन, जनतासँग मिलेर मात्र काम कारवाही गर्न सम्भव छ । जहाँसम्म त्यसो गर्दा समातिने र थुनिने विषय छ, त्यसलाई हामीले दुई किसिमबाट स्वभाविक मानेका छौं । एउटा, न्याय र समानताका लागि, देश र जनताको लागि वा क्रान्ति र मुक्तिका लागि संघर्ष गर्दा जेल, नेल, कुटाई र वलिदानीलाई हामीले स्वभाविक मानेका छौं । अर्को, त्यसप्रकारको गतिविधिको सीमा नाघ्दै जान थाल्यो भने जनसत्ताद्वारा स्थापित जेलमा त्यसप्रकारका अपराधीहरूलाई राखिने छ । जनताद्वारा प्रतिकारवाही अगाडि बढाइने छ । 

»» यहाँहरूको भावी कार्यक्रमके कस्तो होला ? हाम्रा पाठकको जिज्ञासा मेटाइ दिनुहुन्थ्यो कि ? 

हाम्रो सबै कार्यक्रमहरू नेपालमा वैज्ञानिक समाजवाद ल्याउन एकीकृत जनक्रान्तिको कार्यदिशाको जगमा तय गरेर जानेछौं । जसअन्तरगत –

 १. जनतालाई वैज्ञानिक समाजवादबारे सचेत गर्दै जागरण अभियान सञ्चालन गर्ने । 

२. दलाल पुँजीवादी सत्ताका संयन्त्रबाट होइन, जनताका आफ्नै संयन्त्र निर्माण गरी अगाडि बढिने छ ।

 ३. यस सत्ताका संरचनाभित्रको चुनाव खारेज गर्दै लगिने छ । जनसत्ताको निर्माण र त्यस अन्तरगतको निर्वाचनमार्फत प्रतिनिधि छान्दै लगिने छ । 

४. जनता, जनता र फेरिपनि जनताबाहेक हाम्रो लागि केही पनि छैन । त्यसैले जनताका दिनानुदिनका समस्यामा जोडिएर न्याय दिलाउने, राहत दिने, विकास निर्माणमा लाग्ने साथै जनताका अधिकारहरू स्थापित गराउने कार्य गर्नेछौं ।

 ५. राष्ट्रियता निकै गभ्मीर अवस्थामा छ । सबै देशभक्तसँग मिली राष्ट्रिय सार्वभौमिकताको खातिर संघर्ष बढाउने छौं ।

 ६. आन्तरिक हिसाबले हेर्दा जनसम्बन्ध र संगठनलाई सुदृढ गर्दै लगिने छ ।

 ७. सबै प्रकारका भ्रष्ट र बदमास विरुद्ध भण्डाफोर र जनकारवाही अगाडि बढाइने छ ।

 ८. समानान्तर सत्तालाई सुदृढ गर्दै जनताका कामहरू त्यसैमार्फत गर्दै लगिने छ । 

९. गिरफ्तार गरिएकालाई रिहा गराउन, झुट्ठा मुद्दा खारेज गराउन राज्यद्वारा गरिने दमनको प्रतिरोध गर्न दृढतापूर्वक अगाडि बढिने छ । वार्ताकार:  अम्बिका चन्द 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :