कालीकोटमा नेकपाको समानान्तर सरकार गठन

कालीकोटमा नेकपाको समानान्तर सरकार गठन

कालीकोट : जिल्लाका ९ वटै स्थानीय तहमा नेपाल कम्युनिस्ट पार्टीले समानान्तर सत्ता (जनसरकार) घोषणा गरेको छ । नेकपाले जिल्लाका तीन नगरपालिका र ६ गाउँपालिकामा जनसरकार घोषणा गरेको हो । नेकपा कालीकोटका सेक्रेटरी मनीलाल ऐडी ‘रणदीप’ ले सरकारले स्थानीय निर्वाचनमार्फत गठन गरेको स्थानीय सरकारको विकल्पमा आफ्नो पार्टीले समानान्तर जनसरकार गठन गरेको जानकारी दिएका छन् ।
उनका अनुसार जिल्लाको नरहरिनाथ गाउँपालिकामा मनबहादुर बिष्ट, सान्नीत्रिवेणी गाउँपालिकामा राजन भण्डारी, रास्कोट नगरपालिकामा प्रकाश सुनार, पचाल झरना गाउँपालिकामा चम्फसिंह बस्नेत, पलाँता गाउँपालिकामा अनरूप विक, खाँडाचक्र नगरपालिकामा अविरल तिरुवा, शुभकालिका गाउँपालिकामा धर्म विक र महाँवै गाउँपालिकामा धनबहादुर सिंहलाई जनसरकार प्रमुखको जिम्मेवारी दिइएको छ ।
जिल्लाको तिलागुफा नगरपालिकालाई आधा खाँडाचक्र र आधा महाँवै गाउँपालिकासँग जोडिएको छ र त्यसमा अर्जुन विकलाई जिम्मेवारी दिइएको छ ।
जिल्ला सेक्रेटरी रणदीपका अनुसार स्थानीय सरकारको समानान्तर सत्ता जनसरकार गठन गरी हरेक स्थानीय तहले आफ्नो कुल बजेटको २ प्रतिशत जनसरकारलाई कर तिर्नुपर्ने, स्थानीय सरकारले विकासमा खर्च गर्ने बजेटको ५० प्रतिशत जनसरकारलाई दिएर कार्यान्वयन गर्नुपर्ने निर्णय गरेको प्राप्त समाचारमा जनाइएको छ ।
रणदीपले स्थानीय तहका जनप्रतिनिधिले पार्टीको जनसरकारलाई कर तिरेमा मात्र गाउँमा बस्न पाउने चेतावनीसमेत दिएका छन् । नत्र उनीहरूलाई गाउँबाट लखेटिने उनको भनाइ छ ।
समानान्तर अदालत गठन
त्यसैगरी जनसत्ता कालीकोटले जिल्ला जनअदालत पनि गठन गरिएको जनाएको छ ।
यसकोे जिम्मेवारी कमल बटालालाई दिइएको छ । स्थानीय सरकारदेखि प्रदेश तथा सङ्घीय सरकारको योजनामा अनियमितता भए, गाउँमा जनतालाई अन्याय भएमा जनअदालतमा उजुरी दिन पाइनेछ ।
नेकपाका जिल्ला इन्चार्ज कर्णबहादुर भण्डारीले गाउँमा स्थानीय सरकारले गरेका भ्रष्टाचारका विरुद्ध नागरिकलाई जनसरकार र जनअदालतमा उजुरी दिन अपिल गरिएको बताए । उनले जनताका जनजीविकाका सवाललाई सम्बोधन गर्न र भ्रष्टाचार, सामाजिक विकृतिलाई रोक्न पार्टीले जनसरकार र जनअदालतको पनि व्यवस्था गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :