गणेश थारूलाई आपराधिक शैलीमा गिरफ्तार गरियो : राष्ट्रिय थारू मुक्ति मोर्चा

गणेश थारूलाई आपराधिक शैलीमा गिरफ्तार गरियो : राष्ट्रिय थारू मुक्ति मोर्चा

काठमाडौँ : राष्ट्रिय थारू मुक्ति मोर्चा नेपालले सङ्गठनका लुम्बिनी ब्युरो संयोजक गणेश थारूलाई शिवराजस्थित हल्लानगरबाट केपी वली सरकारको गृहप्रशासनले आपराधिक शैलीमा गिरफ्तार गरेको भन्दै गिरफ्तारीको निन्दा र भत्र्सना गरेको छ । मोर्चाका अध्यक्ष सङ्घप्रसाद थारूले आइतबार प्रेस वक्तव्य जारी गर्दै थारूको गिरफ्तारीप्रति घोर निन्दा एवम् भत्र्सना गरेका हुन् ।

अध्यक्ष थारूले सङ्गठनका नेता गणेश थारूको गिरफ्तारीपछि केही सञ्चारमाध्यममा चन्दाआतङ्क र तोडफोडमा संलग्न भएको भनी आएको समाचार झूट्टा र नक्कली भएको समेत प्रस्ट पारेका छन् । थारूले वक्तव्यमा भनेका छन्, ‘२०७७ मङ्सिर २० गते हाम्रो सङ्गठन राष्ट्रिय थारू मुक्ति मोर्चा नेपालका लुम्बिनी ब्युरो संयोजक गणेश थारूलाई शिवराज २ हल्लानगरस्थित स्थानीय जनताको घरमा बसिरहेको बेला वली सरकारको गृहप्रशासनले आपराधिक शैलीमा गिरफ्तार गरेको घटनाप्रति घोर निन्दा एवम् भत्र्सना गर्दछौँ । कमरेड गणेशको गिरफ्तारीपछि केही सञ्चारमाध्यममा चन्दाआतङ्क र तोडफोडमा संलग्न भएको भनी लगाइएको झूट्टा र नक्कली आरोपप्रति समेत हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ ।’

वक्तव्यमा अगाडि भनिएको छ, ‘वैज्ञानिक समाजवादी व्यवस्थाको लक्ष्यसहित श्रमिक वर्गको सुन्दर समाज निर्माण गर्ने अभियानमा सङ्घर्षरत कमरेड गणेशमाथि लगाइएको उक्त आरोपको हाम्रो सङ्गठन खण्डन गर्दै त्यसप्रकारको भ्रामक समाचार सत्य नभएको स्पष्ट समेत गर्दछाैँ ।’

वक्तव्यमा अध्यक्ष थारूले गणेश थारूको तत्काल रिहाइका लागि पहल गरिदिन सम्पूर्ण बुद्धिजीवी, कानुन व्यवसायी, नागरिक समाज, पत्रकार एवम् सरोकारवालाहरूमा अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :