थबाङमा विशाल जनसभासहित सामनाको सांस्कृतिक अभियान भव्य

थबाङमा विशाल जनसभासहित सामनाको सांस्कृतिक अभियान भव्य

समर झुसे/रोल्पा : नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरोअन्तर्गत रोल्पा जिल्लाको ऐतिहासिक भूमि थबाङमा बिहीबार विशाल जनसभासहित सामना परिवारको सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । सरकारले नेकपामाथि लगाएको प्रतिबन्ध चिर्दै हजारौँ रोल्पाली जनसमुदाय कार्यक्रममा सहभागी भएका थिए ।

कार्यक्रमको आरम्भमा सामना परिवारका सम्पूर्ण अभियानकर्मीहरूलाई नेकपा रोल्पाले भव्य स्वागत गरेको थियो । कार्यक्रममा केन्द्रीय सामना परिवारका संयोजक तथा अखिल नेपाल जनसांस्कृतिक महासङ्घका सचिवले सम्बोधन गरेका थिए । उनले सामना अभियानको उद्देश्य र प्रभावकारिताबारे मन्तव्य राख्दै दलाल पुँजीवादी व्यवस्था जरैदेखि मक्किइसकेकाले सामना अभियानले जनतामा क्रान्ति र वैज्ञानिक समाजवादबारे नयाँ आशा जगाएको बताएका थिए ।

कार्यक्रममा केन्द्रीय सामना परिवारको सांस्कृतिक टिममा आबद्ध २० जना जनकलाकारले विद्यमान दलाल पुँजीवादी सत्ता र सामाजिक फासिवादी केपी वली सरकारले जनतामा लादेको कहरलाई नाटक, अपेरा, नृत्य र प्रहसन बनाएर प्रस्तुत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख वक्ता नेकपा रोल्पाका जिल्ला इन्चार्ज विप्लवले यो व्यवस्थाले केही मान्छेलाई अर्बपति र धेरै मान्छेलाई रोडपति बनाएको बताए । दलाल पुँजीवादी व्यवस्थामा कालोबजारी, भ्रष्टाचार, माफिया र मानव तस्करहरू मोटाउने र श्रमजीवी जनता झन् गरिब हुँदै जाने भएकाले यसको विकल्प वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने बताए ।

अहिले कथित दुई तिहाइको केपी सरकारले दलालहरूलाई मात्र संरक्षण गरेको र श्रमिक जनता भोक, रोग, गरिबी र महँगीको सिकार बनाएको भन्दै जिल्ला इन्चार्जले आक्रोश व्यक्त गरे । राष्ट्रियता, जनतन्त्र र जनजीविका दिनप्रतिदिन डरलाग्दो बन्दै गएको र यो दलाल संसदीय व्यवस्था पूर्ण रूपले असफल भइसकेकाले यसको विकल्प श्रमजीवी जनताको मुक्तिका लागि वैज्ञानिक समाजवाद स्थापन गर्नुपर्ने धारणा राखे । एकीकृत जनक्रान्तिको कार्यदिशाले मात्र वैज्ञानिक समाजवाद आउने उनले बताए । नेकपाले मात्र वज्ञानिक समाजवादसम्म पुर्याउने भएकाले सबै देशभक्त, किसान, मजदुर, भूमिहीन, सुकुमबासी, सेना, प्रहरी, अनुसन्धान, प्रगतिशील राजनीतिक दल सबै एकीकृत जनक्रान्तिमा लामबद्ध हुन आह्वान गरे ।

बेलुका ६ बजेदेखि सञ्चालन भएको सांस्कृतिक कार्यक्रम ८ः३० बजे सकिँदासम्म सर्वसाधारण अटल भएर अवलोकन गरेको र जिल्लाका अन्य स्थानमा पनि कार्यक्रम देखाउन माग भएको सामना परिवारले जनाएको छ ।

स्मरणीय छ, मङ्सिर ७ गतेदेखि १२ गतेसम्म सेना, प्रहरी, अनुसन्धान, सशस्त्रले गस्ती गरेर जनतालाई आतङ्कित बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :