लेनिन
पैतालामुनी कुल्चिंदै आएको
स्वातन्त्रताको फूल
आज नस्ट भएको छ ।
अँध्यारो दुनियाँको मालिक
उज्यालो दुनियाँको डर देखेर
खुसी भएको छ ।
तर त्यो फूलको फलले
आश्रय लिएको छ
जन्म दिने माटोमा
आमाको गर्भासयमा
आँखाबाट ओझेल गहिराइहरूमा ।
माटोमुनीको त्यो बिउले
आफूलाई जिउँदो राखेको छ
माटोले नै त्यसलाई तागत दिनेछ
माटोले नै त्यसलाई ताप दिनेछ
उम्रने छ त्यो
एक नयाँ जन्म लिएर
र
ल्याउने छ त्यसले नयाँ स्वतन्त्रताको बिउ ।
त्यो बिउ हिमाल फोरेर
एक दिन विशाल वृक्ष हुनेछ
र
आफ्ना राता पातहरूले
यो दुनियाँलाई उज्यालो छर्नेछ
संसारभरिका जनताहरूलाई
आफ्नो छहारीमा
एकत्रित गर्नेछ
हिमाल फोरेर उम्रिएको
त्यो विशाल वृक्ष ।
(१९०५ को रुसी क्रान्त्ति असफल भएपछि लेखिएको कविता)
अनुवाद : निभा शाह