रातो खबरमाथिको हमला राज्यको पराजित मानसिकताको उपज हो : सुदर्शन


अम्बिका चन्द /  झनक श्रेष्ठ / काठमाडौं, साउन ५ : नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली सुदर्शनले इतिहासमा सञ्चारमाध्यमको भूमिका निकै ठूलो भएको भन्दै विश्व कम्युनिस्ट आन्दोलनको इतिहासमा ठूलाठूला नेताहरू पत्रिकाका सम्पादक भएर काम गरेको इतिहास स्मरण गर्नुभयाे । उहाँले राताे खबर प्रकाशनगृह माथी राज्यले हमला गर्नु पराजित मानिसकताकाे उपज भएकाे बताउनुभयाे ।  रातो खबर प्रकाशनगृहले बिहीबार काठमाडौँ, बागबजारस्थित सिटी म्याक्समा आयोजना गरेको चियापान तथा भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथि ‘सुदर्शन’ ले विश्वमा तीव्र गतिमा विकास भएको प्रविधिको प्रयोग गरेर रुसले साइबर युद्धमार्फत अमेरिकाको जग्गा दलाल डोनाल्ड ट्रम्पलाई चुनावमा जिताएको पनि बताउनुभयो । उहाँले पत्रकारिता स्वतन्त्र हुन्छ भनिए पनि आफ्नो पार्टीको चुनाव खारेजी अभियानको बेला कालीकोटका जनताले गरेको प्रतिरोधलाई नेपालका कथित ठूला संचारमाध्यमले समाचार नबनाएको तर थबाङ्गको विषयलाई लिएर भगेरा टाउके अक्षरमा ठूलाठूला समाचार बनाएको पनि उल्लेख गर्नुभयो । साथै सुदर्शनले ई–रातो खबर अनलाइनलाई विभिन्न खालका लेखरचना र सूचना पठाएर सहयोग गर्न पनि सबैलाई आह्वान गर्नुभयो ।

रातो खबर प्रकाशनगृहअन्तर्गत रातो खबर साप्ताहिक छापा पत्रिका र ई– रातो खबर अनलाइन पत्रिका सञ्चालन भइरहेको छ । हालै सञ्चालनमा आएको ई-रातो खबर पत्रिकाका विषयमा आफ्ना लेखक, संवाददाता र पाठकहरूबाट आवश्यक सल्लाह र सुझाव लिएर आफूलाई अझ समृद्ध गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रमका अतिथि ईश्वरीप्रसाद दाहाल असारे काकाले सरकार कलमदेखि डराएर रातो खबरका निर्देशकसहितको टोलीलाई पक्राउ गरेको बताउनुभयो । साथै उहाँले २०४५/०४६ सालतिर योजना साप्ताहिक पत्रिका चलाउँदाको अनुभव सुनाउँदै अहिलेको जमाना अनलाइन र ट्वीटरसम्म पुगिसकेकाले जमानाअनुसारको पत्रकारिता आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रमका अध्यक्ष तथा रातो खबर प्रकाशनगृहका निर्देशक अनिल शर्माले आफ्नो पत्रिकामा राज्यले हस्तक्षेप गरी जनताको सूसुचित हुन पाउने अधिकार हनन गरेको भन्दै प्रशासनको यस्तो हर्कतको भत्र्सना गर्नुभयो । कार्यक्रममा वरिष्ठ प्रगतिवादी कवि पूर्ण विरामले जमुना बहिनी अब मैले कसको के कुरा गर्नु ? शीर्षकको कविता प्रस्तुत गर्नुभएको थियो भने रातो खबरका सम्पादक अशोक सुवेदीले रातो खबर प्रकाशनको इतिहास र अहिलेका सञ्चारमाध्यमको इतिहासका विषयमा बोल्नुभएको थियो ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यहरू भेषराज भुसाल, कृष्ण अधिकारी ‘रवि’, धनबहादुर महर्जन, युवा संघका केन्द्रीय अध्यक्ष झकबहादुर मल्ल सुदीप, उदय चलाउने ‘दिपक’, तमु राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मकर गुरुङ, जनगणतान्त्रिक सम्पर्क मञ्चका अध्यक्ष रत्न मगर, अनेमसंघ क्रान्तिकारीकी अध्यक्ष बन्धु चन्द, अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पूर्णबहादुर सिंह, तामाङ राष्ट्रिय मुक्तिमोर्चाका अध्यक्ष माणिक लामा, खेलकुद महासंघका अध्यक्ष जयन्द्र चन्द, क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय अध्यक्ष प्रभात चलाउने, रेडियो मिर्मिरेका इन्चार्ज पुष्प न्यौपाने, नेवा राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष राजेन्द्र महर्ज लगायतको उपस्थिति रहेको थियो । त्यसैगरी कार्यक्रममा प्रलेसका अध्यक्ष मातृका पोख्रेललगायत विभिन्न अनलाइन पत्रिकाका सम्पादकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागीहरूले ई–रातो खबर अनलाइनलाई अझ कसरी राम्रो बनाउन सकिन्छ भन्ने विषयमा विभिन्न खालका सल्लाहसुझाव दिएका थिए । कार्यक्रमको मुख्य अंशको प्रत्यक्ष प्रसारण रेडियो मिर्मिरेले गरेको थियो । रातो खबर प्रकाशनगृहका अध्यक्ष अनिल शर्मा ‘विरही ’ को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रकाशनगृहका प्रबन्ध निर्देशक भीम चापागाईले गर्नुभएको थियो भने प्रकाशनगृहकै सदस्य अम्बिका चन्द ‘सुदृष्टि ’ ले स्वागत मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :