नेकपाद्वारा आज पनि काठमाडौँ उपत्यकालगायत देशका विभिन्न ठाउँमा प्रदर्शन

नेकपाद्वारा आज पनि काठमाडौँ उपत्यकालगायत देशका विभिन्न ठाउँमा प्रदर्शन

काठमाडौँ : सरकारको कोरोना सङ्क्रमितको उपचार नगर्ने निर्णयविरुद्ध देशव्यापी सङ्घर्ष घोषणा गरेको नेकपाले आज बिहीबार पनि देशभर प्रदर्शन गरेका समाचारहरू प्राप्त भएका छन् । नेकपा, पार्टीका सहायक सङ्गठन, जवस र मोर्चाहरूले देशका विभिन्न स्थानमा सरकारी निर्णय, राष्ट्रघात, जनघात, भारतीय सेना प्रमुखको नेपाल भ्रमणलगायत विषयका विरुद्ध प्रदर्शन गरेका हुन् ।

यसैक्रममा नेकपाले काठमाडौँ उपत्यकाका तीन जिल्लामा बिहीबार अपराह्न दुई बजे एउटै समयमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । प्राप्त जानकारीअनुसार नेकपा भक्तपुर र अखिल क्रान्तिकारी केन्द्रीय समितिको आयोजनामा कोटेश्वर र नरेफाँटमा प्रदर्शन गरिएको छ ।

त्यसैगरी जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समिति र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ केन्द्रीय समितिले काठमाडौँका गोंगबु, नयाँ बसपार्क र बालाजु क्षेत्रमा प्रदर्शन गरेका छन् ।

नेकपा काठमाडौँ जिल्ला समिति र अखिल क्रान्तिकारीले संयुक्त रूपमा काठमाडौँका सुकेधारा, चण्डोल र धुम्बाराही क्षेत्रमा प्रदर्शन गरेको जानकारी प्राप्त भएको छ ।

नेकपा ललितिपुरले भने जिल्लाको पाटन क्षेत्रमा सरकारी निर्णय र जनविरोधी गतिविधिका विरुद्ध प्रदर्शन गरेको छ ।

यसैबीच राष्ट्रघात, जनघात र सरकारको नालायकीपनका विरुद्ध नेकपाले घोषणा गरेको सङ्घर्षको केन्द्रीय कार्यक्रमअनुसार कात्तिक २० गते कैलालीमा प्रदर्शन गरिएको छ । उक्त कार्यक्रममा पार्टीका सेती–महाकाली ब्युरो संयोजक प्रशान्त, पार्टी कैलाली जिल्ला सेक्रेटरी करन थारू, अखिल क्रान्तिकारीका सेती–महाकाली ब्यूरो संयोजक वीरेन्द्र शाहलगायत नेता–कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको जनाइएको छ ।

कोणसभामा कैलाली जिल्ला सेक्रेटरी करन थारूले सम्बोधन गरेका थिए भने कार्यक्रम सञ्चालन जिल्ला सचिवालय सदस्य हृदय बोगटीले गरेका थिए । कार्यक्रम कैलालीको जोशीपुर, जितनगरमा सम्पन्न भएको समाचारमा जनाइएको छ ।

त्यसैगरी दाङ जिल्लामा पनि भव्य विरोध प्रदर्शन भएको छ । भारतीय साम्राज्यवादको हस्तक्षेप र केपी सरकारको नालायकपनविरुद्ध अखिल (क्रान्तिकारी) द्वारा विरोध प्रदर्शन भएको हो ।

विरोध प्रदर्शनमा लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रबाट भारतीय सेना – फिर्ता गर, भारतीय सेना प्रमुखलाई दिइने मानार्थ सेनापति – खारेज गर, भारतीय साम्राज्यवाद –मुर्दावाद, आम नागरिकलाई निःशुल्क स्वास्थ्य जाँच र उपचारको व्यवस्था गर र कोरोना महामारीको नाममा भ्रष्टाचार र व्यापारीकरण – बन्द गर जस्ता नारासमेत लगाएका थिए ।

त्यसैगरी नारायणी ब्युरो अन्तर्गत चितवन जिल्लामा ७ ठाउँमा मसाल जुलुस, विरोध प्रदर्शन र धादिङ जिल्लामा ५ ठाउँमा नेकपाले घोषणा गरेको सङ्घर्षको केन्द्रीय कार्यक्रम अनुसार विरोध प्रदर्शन गरेको नारायणी ब्युराेले बताएकाे छ । भिडियाे क्रमश….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :