‘दुखेको देश’मा अरुन्धती राय

अनिल शर्मा

(भाजपा नेता परेश रावलले जेठको तेस्रो सातातिर सामाजिक सञ्जालमा ‘सेनाको बाहनमा आन्दोलनकारीलाई बाँध्नुको साटो अरुन्धतीलाई बाँधे हुन्छ’ भनेर लेखे । कास्मिरमा बन्दीहरू बोकेर हिँडेको सेनाको बाहनमा आन्दोलनकारीले ढुङ्गा हान्न थालेपछि सेनाले अघिल्लो भागमा पक्रिएकालाई नै बाँधिदिन थाल्यो ताकि आन्दोलनकारीबाट ढुङ्गा नबर्सियोस् । भारतीय लेखिका अरुन्धतीलाई नै त्यसरी सेनाको बाहनमा बाँधिदिए आन्दोलनकारीले ढुङ्गाले हान्न सक्दैनथे किनभने कास्मिरको स्वतन्त्रताका पक्षमा वकालत गर्ने बुद्धिजीवीमध्ये राय अग्रपङ्क्तिमा छिन् । आज भारतको बौद्धिक जगत्मा हरेक दिन रायको समर्थन वा विरोधमा हङ्गामा भइरहन्छ । उनी अमेरिकालाई युद्धपिपासु भन्छिन् । अमेरिका र बेलायतको हस्तक्षेपकारी भूमिकालाई उनी गुन्डागर्दी भन्छिन् । भारतको समाजव्यवस्थालाई उनी डेमोक्रेसी होइन, डेमनक्रेजी अर्थात् ‘राक्षसको राज’ भन्छिन् ।३५ वर्षको उमेरमा पहिलो उपन्यास लेखेर बुकर पुरस्कारले चर्चामा आएकी राय २० वर्षपछि दोस्रो उपन्यास लिएर आएकी छिन् । उनै रायको भारतीय माओवादीको प्रभाव क्षेत्रको नियात्रा सङ्कलन ‘दुखेको देश’ को केही अंश प्रस्तुत गरिएको छ ।) 

यतिबेला मध्यभारतमा भाकपा (माओवादी) को जुन छापामार सेना छ त्यो पूरै गरिब आदिवासीहरूबाट निर्माण भएको छ । जो लामो समयदेखि अनिकाल, खडेरी, लामो भोकमरीको दयनीय अवस्थाबाट अघि बढिरहेका छन् जसलाई अफ्रिकाको सहारा मरुभूमिको तल्लो इलाकासँग तुलना गर्न सकिन्छ । लोकतन्त्रका ६० वर्षपछि पनि उनीहरू शिक्षा, स्वास्थ्य, कानुनी अधिकारबाट वञ्चित छन् । सयौँ वर्षदेखि उनीहरू बर्बरतापूर्ण शोषणको बुटमुनि पिल्सिएका छन् । सानाठूला व्यापारी र सुदखोरहरूले यिनीहरूलाई सधैँ शोषण गर्दछन् । प्रहरी र वनरक्षक कर्मचारी आदिवासीका छोरी–चेली बलात्कार गर्नुलाई सामान्य अधिकार ठान्छन् । यस्तो अवस्थामा उनीहरूको हृदयमा आत्मसम्मानको सानो लाभा पैदा भएको छ भने त्यसको श्रेय माओवादीलाई जान्छ जो लामो समयदेखि उनीहरूसँथ बस्दै, काम गर्दै र यिनीहरूसँग काँधमा काँध मिलाएर लड्दै आएका छन् ।

सरकारले उनीहरूलाई अपमान र अत्याचारबाहेक अरू केही दिएको छैन । अब सरकारले उनीहरूसँग रहेको आफ्नो भन्ने अन्तिम वस्तु जमिन पनि खोस्न खोज्दैछ । त्यसैले उनीहरू सरकारको ‘विकास’ सँग विश्वास गर्दैनन् । दन्तेबाडामा राष्ट्रिय खनिज विकास निगमद्वारा चौडा सडक बनाउने घोषणा सरकारले गरे पनि उनीहरू पटक्कै विश्वास गर्दैनन् । जमिन बचाउन नलड्ने हो भने आफ्नो सर्वनास हुन्छ भन्ने उनीहरूले बुझेका छन् । त्यसैले उनीहरूले हतियार उठाएका हुन् ।

माओवादी विचारकहरू राज्यसत्ता बलपूर्वक पल्टाउन लडाइँ लडिरहेको दाबी गर्छन् । तर उनीहरूका फाटेका कपडा लगाएका, कुपोषण भएका सेना जुन छापामारमध्ये धेरैजसोले अझसम्म कहिल्यै रेलसवारी साधन वा बस अथवा सानो सहरसम्म देखेका छैनन् । उनीहरू केवल ज्यान बचाउन मात्र लडिरहेका हुन्छन् । सन् २००८ मा योजना आयोगको ‘अतिवाद प्रभावित इलाकामा विकाससम्बन्धी चुनौतीहरू’ नामक प्रतिवेदनमा भनिएको थियो “नक्सलवादी (माओवादी) आन्दोलनलाई यस्तो राजनीतिक आन्दोलनका रूपमा स्वीकार गर्नुपर्दछ जसको आदिवासी र गरिब जनतासँग गहिरो सम्बन्ध छ ।” उनीहरू लडिरहेका छन् । उनीहरूलाई थाहा छ, उनीहरूलाई आफ्नो घर र जमिन बचाउने अधिकार छ । उनीहरूलाई पूरै आत्मविश्वास छ, उनीहरू अधिकारका हकदार छन् ।

एउटा जानकारीअनुसार उनीहरूले विलासपुरमा ब्रिगेड मुख्यालय बनाउँदैछन् (जसले ९ वटा गाउँलाई उजाड र विस्थापित गर्नेछ) र राजानाँद गाउँमा हवाईअड्डा बनाउने भएका छन् (जसमा ७ वटा गाउँ विस्थापित हुनेछन् यो निर्णय धेरै पहिले भैसकेको थियो । स्थान छनोट, सर्वेक्षण सबै सकिएको थियो । मर्मस्पर्शी कुरा के छ भने गृहयुद्धको तयारी धेरै अगाडि नै भैसकेको थियो । अब भारतीय वायुसेनालाई पनि गोली चलाउने अधिकार दिइएको छ । सेनालाई ‘आत्मरक्षा’ दिने सरकारले आफ्ना नागरिकलाई भने त्यो अधिकारबाट वञ्चित गरेको छ ।

अब प्रश्न उठ्छ तीर–कमान भाला, लट्ठी लिएर हिँड्ने आदिवासी र माओवादी भनेर प्रहरीले टाढैबाट कसरी थाहा पाउँछन् त ? के उनीहरू सबै माओवादी ठहरिन्छन् ? के माओवादीलाई समर्थन गरेकै आधारमा हिंसामा असंलग्नहरू पनि निशाना बनाइन्छन् ? … दन्तेबाडाका आदिवासीहरूका लागि पहाड आज पनि उत्तिकै ठूला देउता छन् । उनगम हाउसका लागि उनीहरू सस्तो, सुविधायुक्त गोदाम हुन् । गोदाममा उनीहरूको पकड त हुनै प¥यो । सन् २००० मा मैकान्चमा मारिएका तीनजना आदिवासीको सम्झनामा हरेक वर्ष भारतीय स्वतन्त्रता दिवस र गणतन्त्र दिवसका दिन उनीहरू उक्त इलाकामा कालो झन्डा प्रदर्शन गर्छन् । … इन्द्रावती नदीको पारिपट्टि माओवादीद्वारा नियन्त्रित इलाकामा यस्तो ठाउँ छ जसलाई प्रहरीहरू ‘पाकिस्तान’ भन्छन् । त्यो गाउँमा सुनसान छ तर जङ्गलमा भीडभाड हुन्छ । विद्यालयमा हुनुपर्ने बच्चाहरू यत्रतत्र दौडिरहेका हुन्छन् ।…. पीएलजीएको स्थापना डिसेम्बर २००० मा भएको हो । यो पूर्णतः स्वयम्सेवी सेना हो । यसमा ४५ प्रतिशत महिला छन् ।

‘क्रान्तिकारी आदिवासी महिला सङ्गठन’ ले जबर्जस्ती विवाह र अपहरण गरेर युवतीलाई श्रीमती बनाउने पुरानो चलनका विरुद्ध अभियान चलाउँछ । महिनाबारीको समयमा महिलालाई गाउँदेखि बाहिर कुटीमा बस्न बाध्य पार्ने कुसंस्कारका विरुद्ध अभियान चलाउँछ । बहुविवाह र घरेलु हिंसाका विरुद्ध अभियान चलाउँछ । उनीहरूले सम्पूर्ण सङ्घ जितेका छैनन् । यद्यपि कुन नारी आन्दोलनले चितेको छ त ? उनीहरूले बिउ छर्न वा रोप्न पाउन्नन् । तर जनसरकारको साझा जमिनमा छर्न वा रोप्न सक्छन् । त्यसैले पूरै नभए पनि आधा लडाइँ त उनीहरूले जितिसकेका छन् ।

कति सजिलै जनताको सेनाले जनताको विरुद्ध मोर्चा खोल्न सक्छ ! आज दण्डकारण्यमा पार्टी वाक्साइटलाई पहाडमै कायम राख्ने पक्षमा छ । भोलि जनसेनाले आफ्नो दायित्व बदल्ने त होइन ? के हामी भविष्यमा हुनसक्ने दुर्घटनाको कल्पना गरेर वर्तमानको आफ्नो कर्तव्यबाट भाग्न सक्छौँ ? अथवा चुपचाप बस्न सक्छौँ ?

अध्यक्ष माओ, उनी पनि त्यहाँ छन् (आन्दोलनका सहिदहरूको चित्र प्रदर्शनी, भूमकाल, दण्डकारण्य; २०१०) अलिकति एक्लै तर उपस्थित छन् । उनको एउटा फोटो राखिएको छ । माथि रातो कपडाको पर्दामा त्यो फोटो छ । जहाँ कार्ल माक्र्स पनि छन् र नक्सलबाडी आन्दोलनका संस्थापक र मुख्य सिद्धान्तकार चारु मजुमदार पनि छन् । उनीहरू हिंसात्मक आन्दोलनमा छन् । बलिदानप्रति अन्धश्रद्धा गर्छन् । उनीहरूको भाषा संहारक भन्न सकिने हुन्छ । त्यहाँको भूमकाल दिवसको कार्यक्रममा उभिएर मैले आफैँलाई के सोच्नबाट रोक्न सकिनँ भने वर्गसङ्घर्ष, शत्रु सफाया अभियान चलाएर मात्रै नयाँ मान्छे जन्मन्छ जसले मृत्युलाई चुनौती दिन्छ र हरेक स्वार्थी विचारबाट मुक्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :