रामबहादुर र भरतलाई रिहा नगरिए प्रतिरोध गर्ने अखिल क्रान्तिकारीको चेतावनी

रामबहादुर र भरतलाई रिहा नगरिए प्रतिरोध गर्ने अखिल क्रान्तिकारीको चेतावनी

काठमाडौँ : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) बाँकेले प्रेस विज्ञप्ति जारी गरी सङ्गठनको कामको सिलसिलामा रहेका सङ्गठनका रामबहादुर तिरुवा र भरत विकलाई सरकारले कात्तिक ५ गते बिनाकारण गिरफ्तार गरेको भन्दै तत्काल बिनासर्त रिहा नगरिए प्रतिरोध गर्ने चेतावनी दिएको छ ।

अध्यक्ष डबीबी शाहीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो जनप्रिय तथा गौरवशाली सङ्गठन अखिल (क्रान्तिकारी) विगत लामो समयदेखि शिक्षा क्षेत्रमा देखिएको निजीकरण, व्यापारीकरण, दलालीकरण, माफियाकरण, भ्रष्टीकरणलगायत समस्या र त्यसको समाधानका निम्ति अथक पहलकदमी लिँदै आएको लोकप्रिय विद्यार्थी सङ्गठन हो । साथै राष्ट्रियता र जनजीविकाका पक्षमा वकालत गर्दै वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका निम्ति निरन्तर सङ्घर्षरत रहेको कुरा सम्पूर्णमा जाहेर नै छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यसै सन्दर्भमा सङ्गठनको कामको सिलसिलामा हाम्रो सङ्गठनमा आबद्ध सदस्य क. रामबहादुर तिरुवा र कमरेड भरत विकलाई कम्युनिस्ट नामधारी वली–रामबहादुर सरकारको फासिवादी गृह प्रशासनद्वारा कात्तिक ५ गते गिरफ्तार गरिएको घटनाप्रति हाम्रो सङ्गठन खेद प्रकट गर्दछ । सिङ्गो देश नै कोभिड १९ को महामारीका कारण थलिएको समयमा सरकार जनताको स्वास्थ्यलगायत विविध समस्याप्रति लाचार र मूकदर्शक बनिरहेको छ । अझ यस्तो सङ्कटपूर्ण परिस्थितिमा पनि दलाल, माफिया र भ्रष्टाचारीहरूको मुख्य पहरेदार बनिरहेको छ । पूर्वाग्रही ढङ्गले सत्य र न्यायका पक्षमा आवाज बुलन्द गर्नेहरूमाथि दमन र धरपकडको शृङ्खला चलाइरहेको छ । वली–रामबहादुर सरकारको फासिवादी शैलीको निरन्तरताकै क्रममा गिरफ्तार गरिएका कमरेडहरूको रिहाइका लागि हाम्रो सङ्गठन जोडदार माग गर्दछ । ससम्मान रिहा नगरिएको खण्डमा हाम्रो सङ्गठन कडा सङ्घर्षमा जाने चेतावनी दिन चाहन्छ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :