सुमनलाई तत्काल रिहा नगरिए धुलोमा मिलाइदिने नेकपा झापाको चेतावनी

सुमनलाई तत्काल रिहा नगरिए धुलोमा मिलाइदिने नेकपा झापाको चेतावनी

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी झापाका जिल्ला सदस्य सुमनलाई प्रहरीले गिरफ्तार गरेको छ । झापाको शिवसताक्षी नगरपालिकाबाट उनलाई प्रहरीले बिनाकारण गिरफ्तार गरेको भन्दै नेकपाले झापाले बिनासर्त तत्काल रिहा नगरिए सुराकी र सुरक्षाकर्मीलाई पनि धुलोमा मिलाइदिने चेतावनी दिएको छ ।

नेकपाका झापा जिल्ला सेक्रेटरी श्रीजङ्गले जारी गरेको विज्ञप्तिमा केही दिनअगाडि जिल्ला प्रहरी प्रमुख कृष्ण कोइरालाको चाहना र निर्देशनमा भन्दै दमकबाट सर्वसाधारण ४ जना युवालाई गिरफ्तार गरी विप्लव नेकपाका नेता–कार्यकर्ताको नाम बताउँदै सञ्जयलगायत अरू कहाँ छन् ? भन्दै धम्की र प्रलोभन देखाएर कायरता प्रदर्शन गरेको घटनाप्रति समेत ध्यानाकर्षण भएको उल्लेख छ ।

श्रीजङ्गले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो पार्टीमाथि प्रतिबन्ध लगाउँदै दमन, हत्या र षड्यन्त्रमा उत्रिएको राष्ट्रघाती दलालहरूको फासिवादी सरकारले कात्तिक ८ गते बेलुका हाम्रो पार्टीका जिल्ला समिति सदस्य क. सुमनलाई शिवसताक्षी नगरपालिकाबाट गिरफ्तार गरेको छ । झापाका भ्रष्ट जनप्रतिनिधि, प्रहरीको बर्दी लगाएर डबल नेकपाको बफादारी गर्ने झापा जिल्लाको प्रहरी प्रमुख र केही लुटेरा व्यवसायीहरूले झापामा क्रान्तिविरुद्ध आफ्नो सक्रियता देखाइरहेका छन् । यतिबेला पतीत, दलाल र क्रान्तिविरोधी तत्वहरूलाई औँलामा गन्न सकिने र पहिचान गर्न सकिने अवस्थामा भोलि झापाली जनताले गर्नसक्ने कडा प्रतिरोधलाई स्मरण गर्दै क्रान्तिविरोधी हर्कत तुरुन्त रोक्न चेतावनी दिन चाहन्छौँ ।’

विज्ञप्तिमा भनिएको छ, ‘भरपर्दाे सूचनाअनुसार केही दिनअगाडि जिल्ला प्रहरी प्रमुख कृष्ण कोइरालाको चाहना र निर्देशनमा भन्दै दमकबाट सर्वसाधारण ४ जना युवाहरूलाई पक्राउ गरी हाम्रो पार्टीका सञ्जयलगायत अरू कहाँ छन् ? भन्दै धम्की र प्रलोभन देखाएर आफ्नो कायरता प्रदर्शन गरेको घटनाप्रतिसमेत हाम्रो ध्यानाकर्षण भएको छ । सर्वसाधारण जनतालाई त्रसित बनाएर, डकैत शैलीमा सर्वसाधारण युवाहरूलाई अपहरण गरेर, हाम्रा परिवारहरूलाई आतङ्कित बनाएर र केही लालचीहरूलाई आत्मसमर्पण गराएर दलालहरूले क्रान्तिको प्रवाहलाइ रोक्न सकिन्छ भनेर सोच्नु उनीहरूको हावादारी कल्पना मात्र हो ।’

विज्ञप्तिमा भनिएको छ, ‘हिजो गिरफ्तार कमरेड सुमनलाई बिनासर्त तुरुन्त रिहाइको माग गर्दछौँ । हामीले भिन्न स्वरूप र आवरणमा झापामा सल्बलाएका सुराकीहरूको समेत टिपोट गरेका छौँ । यो निश्चित छ क्रान्तिले आफ्नो बाटो विस्तार गर्दै जाने क्रममा पक्कै पनि क्रान्तिविरोधी तत्वहरूलाई धुलोमा मिलाउनेछ । क्रान्तिकै प्रक्रियामा हाम्रो पार्टीले क्रान्तिविरोधीहरूलाई निर्ममतापूर्वक कारबाही गर्नेछ । दलालहरूले आफ्नो यो दमनकारी रबैयालाई तुरुन्त नरोकी फेरि एक कदम र एउटा मात्र दमनकारी हर्कत दोहोर्याए षड्यन्त्रकारी दलालहरूले जीवनभर पछुताउने गरी हामी तुरुन्त प्रतिरोध गर्नेछौँ । यो संवेदनशीलताप्रति झापाका सबै बुद्धिजीवी, नागरिक अगुवा र न्यायप्रेमी जनताले दलालहरूलाई खबरदारी गर्न अनुरोध गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :