जबजको भद्दा रूप दलाल पुँजीवाद

नेपालको कम्युनिस्ट आन्दोलन करिब सत्तरी वर्षको यात्रामा अगाडि बढ्दैछ । विभिन्नखाले आरोह–अवरोह पार गर्दै यहाँसम्म आउँदा नेपाली जनता र नेपाल राष्ट्रका लागि केही आंशिक उपलब्धि र त्योभन्दा बढी क्षतिहरू बेहोर्दै वर्गघात, जनघात, राष्ट्रघात हुँदै श्रमजीवी जनताका लागि ठूल्ठूला धोका र आत्मसमर्पणका पर्खाल खडा गरी आफ्नो कीर्तिमान कायम गर्दै यहाँसम्म आइपुगेको छ । पुष्पलालको नेतृत्वमा गठन भएको नेकपा कहिले मनमोहन, कहिले केशरजङ्ग, कहिले मोहनविक्रम, कहिले मदन भण्डारी हुँदै एउटा धार अहिले केपी वली र पुष्पकमल दाहालको नेतृत्वमा अगाडि बढ्दै गर्दा पुष्पलालको नेतृत्वमा जुन उद्देश्य र लक्ष्यका साथ नेकपा स्थापना भएको थियो, त्यो सपना, उद्देश्य र लक्ष्यबाट आज पूरै स्खलित भएर त्यो धारा दलाल संसदीय व्यवस्थामा पतन भएको छ ।

लेखक : अमृत सागर

सर्वहारा/श्रमिक जनताको मुक्ति, राष्ट्रिय स्वाधीनताको रक्षा, अन्तर्राष्ट्रियतावादको मूल्यमान्यतालाई आत्मसात गरी साम्यवादसम्म पुग्ने लक्ष्य बोकेको कम्युनिस्ट पार्टी यसरी विघटन हुँदा, कम्युनिस्ट पार्टीको आत्मालाई मर्न नदिन क्रान्तिकारीहरूको सचेत पहलकदमीमा विगतदेखि नै पार्टीलाई पुनर्जीवन दिने, पार्टीमा क्रान्तिकारी नेतृत्व ल्याउने र क्रान्तिलाई निरन्तरता दिने प्रक्रिया चलिरहेको छ । यही प्रक्रियालाई निरन्तरता दिने सबालमा केशरजङ्गहरूको धोका र आत्मसमर्पणका विरुद्ध, पुष्पलाल, तुलसीलाल र मोहनविक्रमहरूले विद्रोह गरे । मोहनविक्रमको संशोधनवादका विरुद्ध, मोहन वैद्य किरणको नेतृत्वमा विद्रोह भयो । प्रचण्ड–बाबुरामहरूको आत्मसमर्पणका विरुद्ध विप्लवको नेतृत्वमा विद्रोह भयो । यहीँबाट पुष्पलालहरूका सपनालाई सँगालेर, सहिदहरूले देखाएको बाटोप्रति प्रतिबद्ध रहँदै जनताको आस्था र धरोहरका रूपमा नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन भयो ।

दुनियाँभरका शासनपद्धतिलाई हेर्दा दलाल पुँजीवादी संसदीय व्यवस्था गरिब जनताका लागि घाँटी छिनाल्ने उद्देश्य राखेर उठाइएको तरबार हो । यो दलाल पुँजीवादीहरूका लागि नयाँ जीवन दिने आत्मा हो । दुनियाँमा सबैभन्दा भ्रष्ट र बदनाम यही व्यवस्था छ ।

वास्तवमा कम्युनिस्ट हुनु, त्यसको मूल्य र मान्यतामा दृढ रहनु र श्रमजीवी जनतालाई त्यही बाटोमा लामबद्ध गर्नु आफैँमा चुनौतीपूर्ण कार्य हो । तथापि कम्युनिस्ट पार्टीको नेतृत्वले आफ्नो पार्टीको कार्यदिशा निर्माण, त्यही कार्यदिशाका आधारमा तय गर्ने रणनीतिक योजनाले देश र जनताको भविष्य निर्धारण गर्छ । मुख्य रूपमा नेपालको कम्युनिस्ट आन्दोलनले तय गरेका अहिलेसम्मका चारवटा कार्यदिशा नै प्रमुख रूपमा नेपाली समाज परिवर्तनका आधार बनेका छन् । पुष्पलालको नयाँ जनवाद, प्रचण्डहरुले ल्याएको जनयुद्धको कार्यदिशा, मदन भण्डारीको जनताको बहुदलीय जनवाद (यसपछि ‘जबज’ भनेर लेखिनेछ) र नेपाली कम्युनिस्ट आन्दोलनको नेतृत्व पछिल्लोपटक आत्मसमर्पणवाद र नवसंशोधनवादमा पतन भएपछि भीषण अन्तरसङ्घर्षमार्फत पैदा भएको वैज्ञानिक कार्यदिशा ‘एकीकृत जनक्रान्ति’ को जन्म भएको छ ।

विद्यमान नेपाली समाजको संरचनालाई बदलेर यहाँसम्म ल्याउन यी कार्यदिशाको महत्वपूर्ण भूमिका छ । अपितु प्रचण्डको जनयुद्धको कार्यदिशा एक्काईसौँ शताब्दीको जनवाद हुँदै मदन भण्डारीको जबजमा विलय भएको छ भने यसको नेतृत्व केपी वलीले गरेका छन् । त्यस्तै पुष्पलालको ‘नयाँ जनवाद’ का आधारभूत मान्यतालाई समावेश गरी एकीकृत जनक्रान्तिको कार्यदिशा निर्माण भएको छ । यसको नेतृत्व विप्लवले गरेका छन् ।

वर्तमान नेपालको राज्यव्यवस्था र नेपाली जनताका बीचको अन्तरविरोध यिनै दुई कार्यदिशामार्फत प्रकट भैरहेको छ । जबजका नेतृत्वकर्ता खड्ग वली सत्ताको मालिक छन् । उनको सत्ता फासिवाद उन्मुख छ । एकीकृत जनक्रान्तिको नेतृत्वकर्ता विप्लव छन् । विप्लव र उनको कार्यदिशा फासिवादी वली सत्ताको प्रतिबन्ध र व्यापक दमनको सामना गरिरहेको छ । अबका दिनमा नेपाली जनता र कम्युनिस्ट आन्दोलनको भविष्य सुन्दर हुने कि कुरूप हुने, उज्ज्वल हुने कि अन्धकार हुने भन्ने कुरा यी दुई कार्यदिशाले लिने नीतिमा भर पर्ने छ। तसर्थ यी दुई कार्यदिशालाई केन्द्रमा राखेर बहस गर्नु आजको आवश्यकता हो ।

नेपालको वर्तमान कम्युनिस्ट आन्दोलनमा वैज्ञानिक दृष्टिकोणमा आधारित ‘एकीकृत जनक्रान्ति’ मार्फत जबज लाई हेर्दा मुख्यतः तीनवटा विषयवस्तुलाई केलाउनुपर्ने हुन्छ : राजनीतिक, आर्थिक र सामाजिक । एउटा राजनीतीक पार्टीले अगाडि सारेको दृष्टिकोणले देश र जनातालाई कता डोर्याउँदैछ भन्ने चित्र यिनै तीनवटा विषयवस्तुमार्फत हेर्न सकिन्छ ।

कम्युनिस्ट पार्टीको मूल्य, मान्यता र आचरणबाट च्यूत भएर निर्माण गरिएको कार्यदिशा र त्यही कार्यदिशा बोकेर हिँडेको पार्टीले जनता र राष्ट्रको मुक्तिभन्दा विदेशी साम्राज्यवादको गुलामी गर्ने, राष्ट्रघाती सन्धिसम्झौतामार्फत देश र जनताको सम्पत्ति निजी बनाएर केही मान्छे अर्बपति–खर्बपति बन्नेबाहेक केही हुन सक्दैन । त्यसैले राजनीतिक हिसाबमा एकीकृत जनक्रान्तिको कोणबाट हेर्दा जबज समाजवादविरोधी, नवसंशोधनवादी, भ्रष्ट, दलाल, पुँजीवादी राज्यव्यवस्थाको सेवक हो ।

राजनीतिक

राजनीतिक कार्यक्रममार्फत अभिव्यक्त हुने विचार र कार्यदिशाले नै वर्गसङ्घर्षको प्रतिनिधित्व गर्छ । जबज एउटा कालखण्डमा राजनीतिक नेतृत्वमार्फत अभिव्यक्त भएको विचार हो । यो विचारमार्फत राजनीतिक नेतृत्वले तय गरेका नीति र कार्यक्रमले समाजलाई वर्गीय विभेदको साङ्लोबाट मुक्त गर्न सकेन र अबउप्रान्त गर्नसक्ने अवस्था पनि छैन । जबजले अँगालेको राजनीतिक बाटो मुख्यतः दलाल पुँजीवादी संसदीय व्यवस्था हो । वर्गसङ्घर्षभन्दा सम्झौतापरस्त नीति लिएको यो कार्यदिशा संशोधनवादले रङ्गीन छ । यो व्यवस्थामा गरिब जनताको कुनै पनि हिसाबले मुक्ति हुँदैन । दुनियाँभरका शासनपद्धतिलाई हेर्दा दलाल पुँजीवादी संसदीय व्यवस्था गरिब जनताका लागि घाँटी छिनाल्ने उद्देश्य राखेर उठाइएको तरबार हो । यो दलाल पुँजीवादीहरूका लागि नयाँ जीवन दिने आत्मा हो । दुनियाँमा सबैभन्दा भ्रष्ट र बदनाम यही व्यवस्था छ ।

नजिकैको हाम्रो छिमेकी राष्ट्र भारतको अवस्था हेर्ने हो भने भारतको संविधान संविधानसभाद्वारा २६ नोभेम्बर, १९४९ मा पारित भयो । २६ जनवरी, १९५० देखि सञ्चालनमा आयो । करिब ७० वर्षको यात्रामा भारतीय जनता त्यो संविधानबाट आफ्नो अधिकार र न्याय गुमेका आवाजहरू बोलिरहेका छन् । कयौँ किसानहरू दिनहुँ आत्महत्या गर्छन् । मजदुरहरूको हालत दलाल पुँजीवादी व्यवस्थाका मालिकहरूको शोषणले खराबभन्दा खराब भैरहेको छ । नागरिकहरूको गाँस, बास, शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रहरू दलाल पुँजीवादको हातमा छ । यो अवसरमा लोकतान्त्रिक मुखुन्डो लगाएको मानवताविरोधी पुँजीवादी राक्षसले जनताको रगत पिउनेशिवाय अरू केही गर्दैन ।

वर्तमान नेपालको हालत पनि त्यही हो । जबजका जन्मदाताहरू सरकारमा छन् । बहुलवादी समाजको व्यवस्था संविधानमा गरिएको छ । प्रतिस्पर्धात्मक चुनावी प्रणाली अपनाइएको छ । जसले सबैभन्दा धेरै पैसा खर्च गर्छ उसले चुनावमा जित हासिल गर्छ । जसले चुनावी परिणाम आफ्नो पोल्टामा पार्छ, उसलाई लुटपाट, भ्रष्टाचार, राष्ट्रघात र अपराधका लागि राज्यबाट वैधानिकता प्रदान गरिन्छ । यस्तो राजनीतिक व्यवस्था दुनियाँका साम्राज्यवाद र दलाल संसदीय पुँजीवादी राष्ट्रहरूमा छ । त्यही व्यवस्था नेपाली जनता र नेपाल राष्ट्रमाथि थोपरिएको छ । त्यो पनि कम्युनिस्ट पार्टीको मखुन्डो लगाएर राजनीतिक नीति र कार्यक्रममार्फत ल्याइयो । त्यही हो जबज । कम्युनिस्ट पार्टीको मूल्य, मान्यता र आचरणबाट च्यूत भएर निर्माण गरिएको कार्यदिशा र त्यही कार्यदिशा बोकेर हिँडेको पार्टीले जनता र राष्ट्रको मुक्तिभन्दा विदेशी साम्राज्यवादको गुलामी गर्ने, राष्ट्रघाती सन्धिसम्झौतामार्फत देश र जनताको सम्पत्ति निजी बनाएर केही मान्छे अर्बपति–खर्बपति बन्नेबाहेक केही हुन सक्दैन । त्यसैले राजनीतिक हिसाबमा एकीकृत जनक्रान्तिको कोणबाट हेर्दा जबज समाजवादविरोधी, नवसंशोधनवादी, भ्रष्ट, दलाल, पुँजीवादी राज्यव्यवस्थाको सेवक हो ।

निजी क्षेत्र दलाल पुँजीपति वर्गको कब्जामा छ । यसले राष्ट्रिय अर्थतन्त्र ध्वस्त पारेको छ । उत्पादनविहीन क्षेत्रमा लगानी गरेर रातारात व्यक्ति धनी बन्ने, राज्य टाट पल्टिने अवस्था उत्पन्न भएको छ । निजी क्षेत्रले उत्पादनमुखी र रोजगारी सिर्जना हुने क्षेत्रमा कहिल्यै लगानी गरेन । त्यसैले देशका दक्ष युवा शक्ति र श्रमिकहरूलाई बिदेसिन बाध्य पारियो । हाम्रो श्रमशक्ति जहाँ पुग्यो त्यहीँको देश विकास भयो तर नेपाल आज विदेशीहरूसँग भिक मागेर बाँच्नुपर्ने अवस्थामा छ ।

आर्थिक नीति

आर्थिक नीतिमा आफ्नो नीति र कार्यक्रम लागू गर्न, आफ्नै पार्टीको नेतृत्वमा सत्तामा जाने अवसर नपाउँदासम्म त्यसको मूल्याङ्कन गर्न वा समीक्षा गर्न त्यति उचित हुँदैन तर जबजका असली अनुयायीहरूले (प्रस्तुतकर्ता नभए पनि) अहिलेसम्म चारजनाको नेतृत्वमा पाँचपटक गरी, दुई तिहाइ बहुमतसहित सात वर्षभन्दा बढी सरकारको नेतृत्व गरिसकेका छन् भने कयौँपटक सत्तामा गएका छन् । त्यसैले उनीहरूको आर्थिक नीतिमार्फत नेपाली समाजमा कस्तो परिवर्तन आयो, देशको अर्थतन्त्रले जनताको जीवनमा केके परिवर्तन ल्यायो, विश्वराजनीतिक मञ्चमा हाम्रो अर्थतन्त्रले कस्तो प्रभाव पारेको छ ? यी प्रश्नहरूको जबाफ जबजमा खोज्दा उसको अर्थनीतिमा जानुपर्छ । जबजले मिश्रित अर्थप्रणाली अवलम्बन गर्ने भन्छ जसले सरकारी अथवा सार्वजनिक, निजी र सहकारीमार्फत पिछडिएका वर्ग र तल्लो तहका नागरिकको जीवनस्तर माथि उठाउने नीति लिएको छ तर यो नीति अत्यन्तै विरोधाभास र दलाल प्रवृत्तिको नीति हो । विद्यमान नेपालको अर्थतन्त्रलाई हेर्दा सरकारी–सार्वजनिक क्षेत्रका उद्योगधन्दा, कलकारखाना र खानीहरू, जबजका अनुयायीहरूले लुछेर मृतप्रायः भैसकेका छन् । यिनीहरूको पालामा न ब्युँझनेछन्, न त ब्युँझन दिनेछन् ।

निजी क्षेत्र दलाल पुँजीपति वर्गको कब्जामा छ । यसले राष्ट्रिय अर्थतन्त्र ध्वस्त पारेको छ । उत्पादनविहीन क्षेत्रमा लगानी गरेर रातारात व्यक्ति धनी बन्ने, राज्य टाट पल्टिने अवस्था उत्पन्न भएको छ । निजी क्षेत्रले उत्पादनमुखी र रोजगारी सिर्जना हुने क्षेत्रमा कहिल्यै लगानी गरेन । त्यसैले देशका दक्ष युवा शक्ति र श्रमिकहरूलाई बिदेसिन बाध्य पारियो । हाम्रो श्रमशक्ति जहाँ पुग्यो त्यहीँको देश विकास भयो तर नेपाल आज विदेशीहरूसँग भिक मागेर बाँच्नुपर्ने अवस्थामा छ । निजी क्षेत्र नाफाका लागि मान्छेले मान्छे बेच्ने कम्पनीहरू खुलेआम खोलेर बसेको छ । जबज अर्थात् सरकारका मान्छेहरू तिनैसँग कमिसन लिएर पैसाको थुप्रो लगाएर बसेका छन् ।

सहकारी जबजको दृष्टिमा जनताको जीवन उकास्ने देशको अर्थतन्त्रमा कायापलट गर्ने तीनवटा खम्बामध्ये एउटा खम्बा हो तर अहिले यहाँसम्म आउँदा निम्नआय भएका र मध्यम वर्गको उठीबास लगाउने, यो वर्गको सम्पत्ति लुट्ने, राज्यबाट लाइसेन्स प्राप्त डाँकाहरूको वैधानिक गिरोहमा रूपान्तरण भएको छ । हिजो एक हजारको कागज गरेर ऋण दिई त्यही कागजमा एउटा जिरो थपेर दस हजार सावाँ बनाई असुल्ने गाउँको एउटा सामन्त, सुदखोरभन्दा यी सहकारी सञ्चालकहरूको समूह हज्जारौँ गुणा बढ्ता खराब छन् । देशभरि ७०५ भन्दामाथि सहकारी सञ्चालकहरू जबजले प्रशिक्षित छन् । यद्यपि (माक्र्सवादले परिकल्पना गरेको सहकारी नीति यो होइन) सामूहिक र सामाजिक उत्पादन प्रणालीमा जोर्ड दिई निम्न आय भएका र जीवनस्तर कमजोर भएका नागरिकहरूका लागि सामूहिक उत्पादनमार्फत उत्पादनमा वृद्धि गरी नागरिकको जीवनस्तर उकास्न ल्याइएको सहकारीको नीतिलाई लुटपाट र डकैतीका रूपमा जबजमार्फत बदनाम गरिएको छ ।

भूमिमा रहेको निजी स्वामित्वका सबालमा जबजले त्यस्तै अनैतिक नीति लिएको छ । क्रान्तिमा सहयोग गर्ने जमिनदारलाई उचित क्षतिपूर्ति दिएर जमिन सरकारले लिने भनिएको छ । अन्य जमिनदारको हकमा राज्यले खोस्ने नीति लिएको छ । यहाँनिर प्रश्न उठ्छ– पार्टीलाई थोरै पैसा बुझाउने, नेता किन्ने अथवा क्रान्तिलाई मेरो समर्थन छ है हजूर भन्ने सामन्ती जमिनदारलाई राज्यले बचाउने नीति लिएको छ । यो सरासर झूट हो । सामन्तहरूको भूमि बिनाक्षतिपूर्ति राज्यले लिनुपर्छ । भूमिको राष्ट्रियकरण गर्दा माक्र्सले किसानहरूका सन्दर्भमा भने निम्नकुरा बताउनुभएको छ :

जबज एक राजनीतिक कार्यक्रम हो । यस कार्यक्रमबाट नेपाली कम्युनिस्ट आन्दोलनमा मतादेशको दृष्टिबाट हेर्दा धेरै सिट जितेको, सरकारको नेतृत्व गर्न पुगेको, केही झिनामसिना कार्य गरेको भए पनि जनादेशको दृष्टिबाट हेर्दा राष्ट्रियताको मुद्दामा आत्मसमर्पणकारी नीति, राजनीतिक दृष्टिकोणमा संशोधनवादी, आर्थिक नीतिमा दलाल पुँजीपति वर्गको शरण पर्न गएको छ ।

‘सर्वहारा वर्गले सत्ता सञ्चालन गर्दा किसानहरूको प्रत्यक्ष हितलाई ध्यन दिनुपर्छ जसले गर्दा किसानहरूलाई क्रान्तिका पक्षमा उभ्याउन सकियोस् । किसानहरूको सम्पत्ति हठात् रूपमा राष्ट्रियकरण गरिनु हुँदैन । सहकारी–कृषिको विकास गरेर किसानहरूलाई सामूहिक भावनातर्फ डोर्याउन सकियोस् भन्ने कुरामा ध्यन दिनुपर्छ । सर्वहारा वर्गले कुनै हालतमा पनि किसानहरूलाई चिढ्याउनु हुँदैन ।’

यता जबजका व्याख्याताहरूले शब्दमा उदारवाद र नवउदारवादलाई मान्दैनन् तर जबज आफैँचाहिँ बहुलवाद र संसदीय प्रतिस्पर्धात्मक राज्यव्यवस्था मान्छ । मिश्रित अर्थनीति जबजको आर्थिक कार्यक्रम हो । उदारीकरणको नीति अघि सार्नेहरूको तर्क छ, व्यक्तिभन्दा ठूलो राज्य होइन । राज्यले व्यक्तिलाई आर्थिक एवम् राजनीतिक स्वतन्त्रता प्रदान गर्नुपर्छ । व्यक्तिले चाहेअनुसारको आर्थिक स्वतन्त्रता पाउनुपर्छ जसमा राज्यको कुनै हस्तक्षेप हुनु हुँदैन । आर्थिक क्रियाकलापमा मानिस पूर्ण स्वतन्त्र हुनुपर्छ ।

हामी बहुलवादी सिद्धान्त मान्छौँ भने बहुलवादी समाजमा शान्तिपूर्ण तरिकाले लुटपाट मच्चाउने समूहलाई पनि राज्यले मौन स्वीकृति दिएको हुन्छ । बहुलवादले समाजमा हरेक किसिमका असमानता, विभेद, अनियमितता र अपारदर्शितालाई सुरक्षित गरेको हुन्छ । मिश्रित अर्थनीतिमा सरकारी वा सार्वजनिक, सहकारी र निजीमध्ये निजी क्षेत्रको माध्यमबाट नवउदारवादीहरूलाई देशको अर्थतन्त्रमा भित्र्याउन ढोका खुल्छ । त्यही ढोकाबाट प्रवेश गरेका पुँजीपतिहरू कर्पोरेट हाउस र निगम पुँजीवादको निर्माण गर्दै देशको अर्थतन्त्रलाई नियन्त्रण गर्छन् । यो अवस्थामा देशका ९९ प्रतिशत नागरिकको सम्पत्ति १ प्रतिशत पुँजीपतिको हातमा जम्मा हुने अवस्था उत्पन्न हुन्छ । जबजको मुख्य आर्थिक नीति यहीँ गएर ठोकिएको छ ।

सामाजिक नीति

नेपालको विद्यमान सामाजिक अवस्था अत्यन्तै जर्जर छ । नेपाल विगतदेखि नै अर्धऔपनिवेशिकबाट नवऔपनिवेशिक अवस्थामा अघि बढिरहेको छ । हाम्रो देशका हरेक साधन, स्रोत विदेशी शक्तिको हातमा सुम्पिने काम संसदीय पार्टी र तिनको नेतृत्वमार्फत हुँदै आएको छ । हामीले हाम्रो स्रोत र साधनको उचित प्रयोग गर्न नपाउँदा, व्यवस्थाले हामीलाई त्यो अधिकारबाट वञ्चित गर्दा, हामी हाम्रो खुट्टाले टेकेर आफ्नो धरातलमा खडा हुन सकेका छैनौँ । नेपालका हरेक नागरिकको पहुँचमा शिक्षा छैन । जसको पहुँचमा छ त्यो शिक्षा व्यावहारिक र उत्पादनमुखी छैन । स्वास्थ्य सेवाबाट हामी धेरै टाढा छौँ । स्वास्थ्य क्षेत्र सरकारले केही मुठीभर मान्छेको हातमा जिम्मा दिएको छ । सर्वसाधारण जनतालाई स्वास्थ्य, औषधीउपचारबाट वञ्चित गराइएको छ । बेरोजगारीको समस्या भयावह छ । आफ्नै परिवारको साथमा रहेर सामान्य रोजगारमार्फत जीवन धान्नबाट हरेक युवकयुवतीलाई वञ्चित गराइएको छ । राज्य आफ्नो जिम्मेवारीबाट पन्छिने, गैरजिम्मेवार भएर प्रस्तुत हुने क्रम चलिरहेको छ ।

सामाजिक विभेद झन् बढेर गएको छ । जातीय छुवाछूत, धार्मिक अन्धविश्वास समाजमा गहिरो गरी जरा गाडेर बसेको छ । महिला हिंसा, बलात्कारजस्ता जघन्य अपराध, दाइजोप्रथा, चेली बेचबिखन, मानवतस्कर, क्षेत्रीयताका आधारमा हुने विभेद वर्तमान नेपालको अत्यन्तै पेचिलो सामाजिक समस्या बनेको छ । देहव्यापारका लागि युवतीहरूलाई सात समुद्रपारिसम्म पुर्याएर बेचिएको छ । अश्लीलताको प्रदर्शन मन्त्रीहरूको बैठकमा हेर्न पाइन्छ । समाजवादी संस्कृतिको कुरा छाडौँ, सङ्गीत र साधनामार्फत जनतालाई मनोरञ्जन दिने कलाकार, मनोरञ्जन लिएर खुसी हुने नागरिकको चुलोमा चल्दैन ।

क्रान्तिको कोर्स फेरेर आत्मसमर्पण गर्नु, सहिदको अपमान गर्नु, जनतालाई धोका दिनु र आफूचाहिँ पुरानो सत्ताको कुर्सीमा गएर विराजमान भई भ्रष्टाचार र कमिसनमार्फत वैधानिक लुटपाट मच्चाउनु, हत्या र अपराधमा संलग्न हुनु माक्र्सवादको सिर्जनात्मक प्रयोग हुनै सक्दैन । तसर्थ जबज आत्मसमर्पणकारी नीतिले पोतिएको दलाल संसदीय व्यवस्थामा लम्पसार परेको एउटा नवसंशोधनवादी नीति र कार्यक्रम हो भने यसको नेतृत्व माक्र्सवादविरोधी, वैज्ञानिक समाजवादविरोधी सामाजिक फासिवादको नाइके हो ।

यो सबै समस्या राज्यव्यवस्थाको त्रुटिका कारण निम्तिएको हो । वास्तवमा नेपाल दलालहरूको हातमा छ भन्ने कुरा उल्लिखित सामाजिक अवस्थाको चित्रमा देख्न सकिन्छ । हामीले यो दाबी गरिरहेका छौँ– नेपाल र नेपालीको यो अवस्था हुनुको मुख्य कारण दलाल संसदीय व्यवस्था हो । अनि जबज यही व्यवस्थाको हकदारका रूपमा आफूलाई उभ्याएको छ । त्यसैले शव्दमा जबज के भन्छ भन्दा पनि व्यवहारबाट के सिद्ध गर्दैछ भन्ने कुरा महत्वपूर्ण भएको छ । नेपाली समाजको विकृतिको चित्रलाई नियाल्दा अथवा व्यवहारबाट हेर्दा छद्मभेषमा जबज यो विकृतिको बचाउमा छ । त्यसैले सामाजिक हिसाबमा पनि विकृत छद्म संशोधनवादी नीति र कार्यक्रम हो भन्न सकिन्छ ।

निष्कर्ष

दर्शनले मानिसलाई जीवन दिन्छ । त्यही जीवित मानिसबाट सही राजनीतिक विचारको जन्म हुन्छ । राजनीतिक विचारलाई जीवनव्यवहारमा लागू गर्दा त्यो दर्शन अभिव्यक्त हुन्छ कि हुँदैन, त्यसको मूल्याङ्कन गर्ने अधिकार नागरिकसँग हुन्छ । ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणमा आधारित राजनीतिक नेतृत्वले प्रस्तुत गरेका नीति र कार्यक्रमहरू जीवनव्यवहारमा लागू गर्दा सामाजिक जीवनमा सकारात्मक प्रभाव पर्यो कि नकारात्मक प्रभाव भन्ने फैसला श्रमिक जनताले गर्छ । यसरी हेर्दा जबज एक राजनीतिक कार्यक्रम हो । यस कार्यक्रमबाट नेपाली कम्युनिस्ट आन्दोलनमा मतादेशको दृष्टिबाट हेर्दा धेरै सिट जितेको, सरकारको नेतृत्व गर्न पुगेको, केही झिनामसिना कार्य गरेको भए पनि जनादेशको दृष्टिबाट हेर्दा राष्ट्रियताको मुद्दामा आत्मसमर्पणकारी नीति, राजनीतिक दृष्टिकोणमा संशोधनवादी, आर्थिक नीतिमा दलाल पुँजीपति वर्गको शरण पर्न गएको छ ।

अपितु आजको परिस्थितिमा पनि सरकारी नेकपा र वली समूहले यो कार्यदिशा (जबज) लाई नेपाली परिवेशअनुसार माक्र्सवादको सिर्जनात्मक प्रयोग भनेको छ । जब क्रान्तिमा नेतृत्वले आफूलाई बलिदानका लागि उभ्याउनुपर्ने परिस्थिति आउँछ, हो त्यही बेला विभिन्न बहानामा क्रान्तिको कोर्स फेरेर आत्मसमर्पण गर्नु, सहिदको अपमान गर्नु, जनतालाई धोका दिनु र आफूचाहिँ पुरानो सत्ताको कुर्सीमा गएर विराजमान भई भ्रष्टाचार र कमिसनमार्फत वैधानिक लुटपाट मच्चाउनु, हत्या र अपराधमा संलग्न हुनु माक्र्सवादको सिर्जनात्मक प्रयोग हुनै सक्दैन । तसर्थ जबज आत्मसमर्पणकारी नीतिले पोतिएको दलाल संसदीय व्यवस्थामा लम्पसार परेको एउटा नवसंशोधनवादी नीति र कार्यक्रम हो भने यसको नेतृत्व माक्र्सवादविरोधी, वैज्ञानिक समाजवादविरोधी सामाजिक फासिवादको नाइके हो ।

(लेखक नेकपा ओखलढुङ्गाका इन्चार्ज हुन्– सम्पादक ।)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :