२१ दलीय मोर्चाको विरोध प्रदर्शनबाट अभियन्ता कार्की गिरफ्तार

२१ दलीय मोर्चाको विरोध प्रदर्शनबाट अभियन्ता कार्की गिरफ्तार

काठमाडौँ : कोरोना सङ्क्रमणको उपचार खर्च उपलब्ध नगराउने सरकारी निर्णयविरुद्ध आन्दोलनका लागि कार्यगत एकता गरेका २१ राजनीतिक दल/सङ्गठनहरूले बिहीबार काठमाडौँको माइतीघर मण्डलामा आयोजना गरेको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा प्रहरीले रूपान्तरणका लागि अन्तर्राष्ट्रिय प्रशिक्षक एवम् सामाजिक अभियन्ता नरबहादुर कार्कीलाई गिरफ्तार गरेको छ ।

कोरोना सङ्क्रमणको उपचार खर्च उपलब्ध नगराउने सरकारी निर्णयविरुद्ध २१ राजनीतिक सङ्गठनले आज काठमाडौँको माइतीघर मण्डलामा आयोजना गरेको शान्तिपूर्ण विरोध प्रदर्शन सकिएलगत्तै प्रहरीले कार्कीलाई गिरफ्तार गरेको हो । उनलाई महानगरीय प्रहरी परिसर टेकुको हिरासतमा राखिएको प्राप्त समाचारमा जनाइएको छ ।

यसैबीच २१ दलीय मोर्चाले आजै संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै कार्कीको गिरफ्तारीको विरोध गरेको छ । २१ दलीय राजनीतिक सङ्गठनको कार्यगत एकताका तर्फबाट संयुक्त रूपमा जारी विज्ञप्तिमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको कार्यक्रममा गरिएको गिरफ्तारीको घोर भत्र्सना गर्दै गिरफ्तार कार्कीलाई अविलम्ब रिहा गर्न सरकारसँग जोडदार माग गरिएको छ ।

वक्तव्यमा भनिएको छ, ‘कोभिड १९ का बिरामीहरूको निःशुल्क उपचारसम्बन्धी विषयमा विद्यमान संविधानद्वारा प्रदत्त अधिकारलाई समेत हरण गर्ने गरी सरकारले उपचार खर्च नदिने निर्णय गरेकोमा त्यसलाई फिर्ता लिन दबाब सिर्जना गर्नका लागि २१ राजनीतिक सङ्गठनहरूको कार्यगत एकताद्वारा आज काठमाडौँको माइतीघर मण्डलामा शान्तिपूर्ण कार्यक्रम आयोजना गरिएको थियो । २१ सङ्गठनमध्येको एउटा घटक राष्ट्रिय जागरण मञ्चका तर्फबाट उक्त कार्यक्रममा सहभागी हुनुभएका नरबहादुर कार्कीलाई प्रहरीले गिरफ्तार गरेको छ । शान्तिपूर्ण रूपमा सम्पन्न भएको कार्यक्रममा गरिएको यो गिरफ्तारीको हामी घोर भत्र्सना गर्दछौँ र उक्त कार्यक्रममा सहभागी नरबहादुर कार्कीलाई अविलम्ब रिहा गर्न सरकारसँग जोडदार माग गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :