अक्टोबर क्रान्ति र कला–साहित्यबारे अन्तरक्रिया

अक्टोबर क्रान्ति र कला–साहित्यबारे अन्तरक्रिया

बुटवल : अखिल नेपाल जनसांस्कृतिक महासङ्घ लुम्बिनी ब्युरोले शुक्रबार ‘अक्टोबर क्रान्ति र कला–साहित्यबारे’ विषयमा अन्तरक्रिया गरेको छ । अन्तरक्रियाका वक्ताहरूले रुसी समाजवादी अक्टोबर क्रान्तिको युगान्तकारी महत्व भएको र नेपालमा यसले वैज्ञानिक समाजवादी व्यवस्था प्राप्तिका लागि क्रान्तिकारीहरूलाई उत्प्रेरणा दिइरहेको बताए ।

महासङ्घका पूर्वकेन्द्रीय सदस्य डा. शिवशङ्कर बस्यालले अक्टोबर क्रान्तिले तत्कालीन जारसत्ताको जाँतोमुनि पिसिएका रुसी जनतालाई मुक्त गरेको भन्दै कम्युनिस्ट सिद्धान्तअनुरूप पहिलो समाजवादी सत्ता स्थापना भएको बताए । उनले अक्टोबर क्रान्तिको प्रभाव कला–साहित्यमा परेको भन्दै नेपालमा एकीकृत जनक्रान्ति सम्पन्न गर्न अक्टोबर क्रान्तिले प्रेरणा दिइरहेको बताए ।

अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रीय उपाध्यक्ष गुणाखर भट्टराईले अक्टोबर क्रान्तिको शिक्षाबाट नेपालमा क्रान्ति सम्पन्न गर्ने सकिने बताए । महासङ्घका केन्द्रीय सदस्य एवम् लुम्बिनी ब्युरो संयोजक खोमा तरामु मगरले विचारधारा अन्त्यको हल्ला चलाएर पुँजीवादले आफ्नो आयु लम्ब्याउन खोजेको भन्दै अक्टोबर क्रान्तिको झण्ड नझुकेको बताए । उनले नेपालमा कम्युनिस्ट पार्टीको स्थापनापछि कला–साहित्यमा अक्टोबर क्रान्तिको प्रभाव परेको बताए ।

अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य एवम् लुम्बिनी ब्युरो संयोजक वीरेन्द्र विकले पुँजीवादको विकल्प वैज्ञानिक समाजवाद भएको भन्दै एकीकृत जनक्रान्तिमा कला–साहित्यको भूमिका महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा क्षितिज परिवारले अक्टोबर क्रान्तिसम्बन्धी गीतहरू प्रस्तुत गरेको थियो भने १५ जना कविले कविता वाचन गरेका थिए । पारस राहादी मगरले लेनिनद्वारा रचित ‘त्यो आँधीमय वर्ष’ कविता वाचन गरेका थिए ।

अन्तरक्रियामा रूपन्देही, कपिलवस्तु, पाल्पा, नवलपरासी, नवलपुर र जिल्लाका स्रष्टाको सहभागिता थियो । अन्तर्राष्ट्रिय गीत गाएर सुरु भएको कार्यक्रम ब्युरो संयोजक खोमाको अध्यक्षता, ब्युरो सदस्य एवम् क्षितिज परिवारका संयोजक संयोगको सञ्चालनमा सम्पन्न भएको थियो । यसअघि पनि महासङ्घले बुटवलमा एमसीसीविरुद्ध सिर्जनात्मक कार्यक्रम गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :