जनकलाकार कविता पुनलाई तुरुन्त रिहा गर : जनसांस्कृतिक महासङ्घ

काठमाडौँ  : अखिल नेपाल जनसांस्कृतिक महासङ्घले केन्द्रीय समिति सदस्य एवम् सामना सांस्कृतिक परिवारका चर्चित जनकलाकार कविता पुन र सहयोगी कलाकार राम पुनलाई तुरुन्त रिहा गर्न माग गरेको छ ।

महासङ्घका महासचिब खेम थपलियाले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै रोल्पामा अवस्थित घरबाटै गृह प्रशासनले अत्यन्त कायरतापूर्वक गिरफ्तार गरेर कविता र रामलाई सदरमुकाम लिवाङ पुर्याइएको भन्दै उक्त घटनाप्रति घोर आपत्ति प्रकट गरेकाछन् । जनताका प्रिय कलाकारहरूमाथि पटक पटक सामाजिक फासिवादी ओली सरकारले गरेको दमनको आफ्नो सङ्गठनले सशक्त प्रतिवाद गरेको थपलियाको विज्ञप्तिमा उल्लेख छ ।

नेपालको आमूल परिवर्तनमा जनकलाकारहरुले अद्वितीय भूमिका निर्वाह गर्दै आएको भन्दै क्रान्तिकारी सांस्कृतिक आन्दोलनमा बलिदान, समर्पण, शौर्यको प्रतिबम्बको रुपमा रहेका कलाकारहरुमाथिको दमन अस्वीकार्य भएको थपलियाको विज्ञप्तिमा उल्लेख छ ।

थपलियाको विज्ञप्तिमा भनिएको छ –‘हाम्रो सङ्गठन जनताको महान् बलिदानबाट प्राप्त भएको राजनीतिक–वैचारिक अधिकारको सम्मान गर्न एवम् गिरफ्तार जनकलाकार कविता पुन, र राम पुनलाई तत्काल स–सम्मान रिहा गर्न जोडदार माग गर्दछ । हाम्रो सङ्गठन क्रान्तिकारीहरूलाई मारेर, थुनेर, थकाएर, गलाएर वा आत्मसमर्पण गराएर महान् जनक्रान्तिको गतिवान प्रवाहलाई रोक्ने सपना नदेख्न पनि बादल गृह प्रशासनलाई यसै वक्तव्यमार्फत चेतावनी दिन चाहन्छ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :