पाखे

शारदा भण्डारी

हो मालिक, म पाखे हुँ
तिम्रो सत्ताको स्वाद
मलाई थाहा छैन
हिमालयन बियर र मार्सीको भात
मलाई थाहा छैन !

हो मालिक, म पाखे हुँ
तिम्रा भ्रष्टाचारी हात
मलाई थाहा छैन
विदेशी दलालसँग कुर्सीका बात
मलाई थाहा छैन !

हो मालिक, म पाखे हुँ
तिम्रा क्यासिनो, बारका रात
मलाई थाहा छैन
सरकारी जग्गा सोह्र कि आठ ?
मलाई थाहा छैन !

हो मालिक, म पाखे हुँ
तिम्रा महाकाली, गण्डकी राष्ट्रघात
मलाई थाहा छैन
तिमी कसैको पुच्छर कि लात ?
मलाई थाहा छैन !

हो मालिक, म पाखे हुँ
तिम्रो उपहार विभेद र जात
मलाई थाहा छैन
बिकाउ तिम्रो न्यायालयको साख
मलाई थाहा छैन !

याद गर मालिक !
मलाई पाखे भनेरै रमाउने तिमी
कति छ त यो पाखेको जमात ?
तिमीलाई थाहा छैन
जुट्छन् एक दिन समाउँछन् हात
तिमीलाई थाहा छैन !

बजार्नू बुट, काटेर हात
पोख्नू सबै मैमत्त उन्माद
पाल्नू भ्रम, लुट्नु श्रम
गर्दै जानू महा–राष्ट्रघात
भन्नू पाखेलाई थाहै छैन !

भत्काएर तिम्रो लुटको स्वर्ग
ल्याउनेछन् तिनै पाखेको सत्ता
उभिएर फेरि पाखेहरूको कठघरामा
नबुझाउनू बिन्तीपत्र, नझार्नू आँसु
नभन्नू त्यो बेला, अहँ भन्दैनभन्नू
मलाई केही थाहा छैन !!

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :