नेकपाका नेता वीरजङ्गको स्वास्थ्य अवस्थालाई लिएर परिवार चिन्तित

नेकपाका नेता वीरजङ्गको स्वास्थ्य अवस्थालाई लिएर परिवार चिन्तित

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा तत्कालीन पश्चिम केन्द्रीय कमान्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ को स्वास्थ्य अवस्थालाई लिएर परिवारले चिन्ता व्यक्त गरेको छ ।

इलाका प्रहरी कार्यालय सुनसरीको धरानमा राखिएका नेता वीरजङ्गलाई अत्यधिक ज्वरो आएपछि स्वास्थ्य परीक्षण गर्दा असोज २ गते शुक्रबार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएर अस्पताल भर्ना गरे पनि ५ गते नै पुनः हिरासत फर्काइएको परिवारले जनाएको छ । उनीहरूले ज्वरो नियन्त्रणमा नआउँदै प्रहरीले अस्पतालबाट ३ दिनमै हिरासत पु¥याएको भन्दै उच्च ज्वरो आउने र टाउको दुख्ने गरेकै समयमा प्रहरीले अस्पतालबाट हिरासतमा फिर्ता लगेको बताएका छन् । यसरी लक्षणसहितको कोरोना सङ्क्रमण पुष्टि हुँदा र उच्च ज्वरो आउँदा पनि अस्पतालमा उपचार गर्न नदिएको भन्दै परिवारले जीवनरक्षाको माग गरेका हुन् । उनलाई कोरोना भाइरस पुष्टि भएपछि धरानकै कोभिड हस्पिटलमा भर्ना गरिएको थियो ।

यसअघि सङ्खुवासभामा राखिएका नेता वीरजङ्गलाई अदालतले रिहाको आदेश गरेलगत्तै पुनः गिरफ्तार गरी सरकारले सुनसरी लगेको थियो । गत असोज ३० गते दाङबाट गिरफ्तार गरिएका नेता वीरजङ्गलाई जिल्ला अदालत दाङ देउखुरीले रिहा गरेलगत्तै पुनः गिरफ्तार गरी काभ्रे पुर्याएको थियो । त्यस्तै काभ्रेबाट रिहा हुनेबित्तिकै उनलाई पुनः तेस्रोपटक गिरफ्तार गरी भोजपुर लगिएको थियो ।

नेता वीजङ्गलाई त्यसपछि भोजपुरबाट रिहा हुनेबित्तिकै चौथोपटक गिरफ्तार गरी सङ्खुवासभा लगिएको थियो । सङ्खुवासभाबाट पनि पाँचौँपटक गिरफ्तार गरेर उनलाई सुनसरी लगिएको छ । सुनसरीमा प्रहरी हिरासतमा रहेकै बेला नेता वीरजङ्गलाई कोरोना सङ्क्रमण भएको भन्दै उनको परिवारले जीवनरक्षाको माग गरेको छ । यता सर्वोच्च अदालतले सुनसरी प्रहरीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

यस्तै प्रहरी नियन्त्रणमै रहेका नेकपाका अर्का नेता चितवन जिल्ला इन्चार्ज लालबहादुर बीसीलाई पनि कोरोना सङ्क्रमण भएको छ । उनलाई धनुषा प्रहरी हिरासतमा रहेको बेला कोरोना सङ्क्रमण भएको भन्दै परिवारजनले जीवनरक्षाको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :