खाली पेटमा लाठी र अघाएकाको शिरमा फूलको वर्षा

खाली पेटमा लाठी र अघाएकाको शिरमा फूलको वर्षा

असोज ३ गते खुलामञ्चमा वर्तमान राज्यसत्ता र सरकारको चरित्र छर्लङ्ग देखाउने दुईवटा दृश्य देखिए : सहिद मञ्चतिर खाली पेटमा रित्तो थाल लिएका कयौँ मानिस एक छाक खानाका लागि कुरिरहेका थिए । त्यहीँ सँगै अर्कोतिर सैनिक मञ्चपट्टि केही केपी वली, पुष्पकमल दाहाल र विद्या भण्डारीहरू आफूमाथि पुष्पवर्षा गराइरहेका थिए र ती भोको पेटमा रित्ता थाल थापेर खाना पर्खिरहेका मानिसलाई लाठी र बुट दागेर लखेटिरहेका थिए । हो, यो आजको नेपालको दृश्य हो । काठमाडौँको सिंहदरबारनजिकैको यस्तो दृश्य देशका सबै ठाउँमा देखिइरहेको छ । वली, दाहाल र भण्डारी अर्थात् शासक वर्गका मानिसहरू राज्यकोष खर्चेर आफ्ना टाउकामा पुष्पवृष्टि गराइरहेका छन् । भ्रष्टाचार, कमिसन, लूट, महँगी र तस्करीमा रमाइरहेका छन् भने अर्कातिर श्रमिक नेपाली जनता रोग, भोक र शोकले छट्पटाइरहेका छन् र टाउकामा लाठी थापिरहेका छन् । मलाई भोक लाग्यो भनेर कसैले भन्नु हुँदैन, खाना खोज्नु हुँदैन, लाठी बर्सिन्छ । मलाई रोग लाग्यो भनेर कसैले उपचारको खोजी गर्नु हुँदैन, सङ्गीनले घोचिन्छ । देशमा महँगी बढ्यो, तस्करी मौलायो । भ्रष्टाचारले ढाड सेक्यो । एनसेलको दादागिरी चल्यो । एमसीसी पारित गर्दा राष्ट्रघात हुन्छ । भारतीय साम्राज्यवादले देश मिच्यो भनेर चिन्ता गर्नु हुँदैन, प्रतिबन्ध लाग्छ, गोली चल्छ । हिरासत र जेलको छिँडीको बास पाइन्छ । झूट्टा मुद्दाहरूमा फसाइन्छ र घरमा नक्कली मुद्दाका पुर्जीहरू टाँसिन्छन् । मुलुकको हाल यही छ ।

मुलुकको दुर्दशा छ । केपी वलीले कसैलाई पनि भोकै बस्न नदिने ऐलान गरेका छन् तर एकातिर जनता भोकभोकै सडकमा एक पेट खानका लागि लाम लागिरहेछन्, अर्कातिर उनै केपी वलीको सरकार ती जनतामाथि लाठी बर्साउँदै र जनता भोकै छैनन् भन्दै कथित संविधान दिवसमा आतिसबाजी गर्दै आफूलाई पुष्पवृष्टि गराइरहेका छन् । मानौँ रोम जलिरहेको छ र राजा निरो मस्त बाँसुरी बजाइरहेको छ, सङ्गीतमा भुलिरहेको छ । यस्ता बीभत्स दृश्यहरू जनताले कहिलेसम्म देखिरहनुपर्ने हो, सहिरहनुपर्ने हो । सडकमा जनता माग्न बसेका छन्, वलीहरू आफैँलाई पुष्पवृष्टि गर्न आदेश दिइरहेका घटना जनताले देख्नु र भोग्नु परिरहेको छ !

केपी वलीलाई थाहा छैन ? महँगीले आकाश छोएको छ । आफू पनि भ्रष्टाचार गर्दिनँ र हुन पनि दिन्नँ भन्ने वली सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । भ्रष्टाचारमा शून्य सहनशीलता भद्दा जोकशिवाय केही होइन भन्ने प्रमाणित भइसकेको छ । कोरोनाले देशलाई लपेटिरहेको समयमा वली सरकारले यातायात, बजार र मलहरूलाई फुक्काफाल गरेर मृत्युको पासो थापिदिएको छ । घर छोडेर नहिँडौँ, मुखमा माड नलागेको महिनौँ भइसकेको छ । बाहिर निस्कौँ, कोरोना फँडा फिँजाएर आफैँतिर आइरहेको छ । काम गरेर खाने वातावरण छैन । सुरक्षित घर र देश फर्किने वातावरण छैन । बिनायोजना दोब्बर भाडा बढाउने निर्देशन दिएर वली सरकारले लामो दूरीका गाडी खोलिदिएको छ । कोरोना सङ्क्रमण दैनिक बढिरहेको छ । कोरोनाको बहानामा देशभरका वली सरकारका अवयवहरू भ्रष्टाचारमा स्नान गरिरहेका छन् । विद्रोहीलाई दमन गर्नेबाहेक वली सरकारका सुशासन र अनुगमनका अङ्ग र निकायहरू मरिसकेका छन् । अन्यथा कोरोनाका नाउँमा वली सरकारका सबै तहमा भएको भ्रष्टाचार र बेथिति अनुगमन हुनुपथ्र्यो । सरकार पूर्ण रूपले असफल भइसकेपछि विद्रोही नेकपाले वली सरकारका स्थानीय तहसँग खर्च विवरण सार्वजनिक गर्न आदेश दिनुपरेको छ ।

मन्त्रीहरू, सांसदहरू, प्रशासकहरू लकडाउन, सटडाउन र निषेधाज्ञाको फरमान जारी गरेर भ्रष्टाचार र कमिसनतिर लागेपछि जनताका लागि सरकार छैन । सामाजिक अभियन्ता नरबहादुर कार्कीहरू जनताको घरघरमा रासन लिएर पुगेका छन् । नेकपाका कार्यकर्ताहरू रगतदान गर्दै हिँडेका छन् । कुनै समय यस्तो पनि आउला, क्रान्तिकारीको रगत चल्दैन भनेर केपी वली सरकारले अकाल मृत्युवरण गरिरहेका जनतालाई बचाउन युवाहरूले गरेको रगतदान कार्यक्रम पनि बन्द गरिदेला र जनतालाई सहायता/सहयोग गर्दाजस्तै रगतदान गर्नेहरूलाई पनि गिरफ्तार गरेर हिरासत र जेलमा पुर्याइदेला । सत्ता उन्मादले मैमत्त केपी र उनका अनुचरहरूको के भर ?!

देशको यही सङ्कटपूर्ण अवस्थालाई सूक्ष्म अध्ययन गरी नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले भनेका छन् : दलाल पुँजीवादी राज्यसत्ता पूर्ण रूपमा असफल भइसक्यो । अब पूर्ण परिवर्तनका लागि नयाँ आधारमा नयाँ पहल आवश्यक छ । उनले वर्तमान दलाल पुँजीवादी राज्यसत्ता पूर्ण रूपमा असफल भइसकेकाले सत्ताको पूर्ण परिवर्तनका लागि पहल लिन सबै अग्र्रगामी, प्रगतिशील, जनवादी, देशभक्त, लोकतान्त्रिक शक्तिहरूसमक्ष आह्वान पनि गरेका छन् । उनले देशको कुशासन, भ्रष्टाचार, राष्ट्रघातलगायत सङ्कटले दलाल पुँजीवादी राज्यसत्ताको असफलता पुष्टि गरेको निष्कर्ष पनि प्रस्तुत गरेका छन् । ‘यो असफलता र सङ्कटको निकास संविधान संशोधन वा परिमार्जन नभएर राज्यव्यवस्थाको परिवर्तन हो’, उनले यस्तो निष्कर्ष निकालेका छन् । नेकपाका महासचिव विप्लवले मात्र होइन, युवा, मजदुर, विद्यार्थी, महिला, किसान, दलित, बुद्धिजीवीलगायत जिम्मेवार सङ्गठनहरूको पनि यही निष्कर्ष छ । मोहन वैद्य ‘किरण’ निकट देशभक्त जनगणतान्त्रिक मोर्चाले पनि सरकारको बेथिति, देश र जनताको अस्तव्यस्त जीवनलाई बदल्न आन्दोलनका लागि तयार रहन आह्वान गरेको छ ।

यसरी आज मुलुकमा कम्युनिस्टको खोल ओढेको दलाल संसद्वादी पार्टीको निकम्मा सरकारले देश र जनतामाथि लादेको राष्ट्रघात, जनघातका कारण उत्पीडित जनसमुदाय सरकार र सत्ताविरुद्ध सडकमा निस्किन आतुर छ । एक पेट खानका लागि सडकमा लाम लाग्नुपर्ने र त्यही अवस्थामा आफूलाई पुष्पवृष्टि गराइरहेका वली, दाहाल र भण्डारीका रक्षकहरूले लाठी र सङ्गीन दागेर चिल्लीबिल्ली पार्ने अवस्था अब जनताले सहन र स्वीकार्न सक्ने अवस्था छैन । यो र यसप्रकारका घटनाले देखाउँछन्– गणतन्त्रविरोधी वलीहरूको शासनमा जनताले पाउने न्याय भनेको यस्तै पक्षपातपूर्ण हो र यो संविधानले दिने अधिकार भनेको पनि यही नै हो । अन्यथा एउटै देशका नागरिकमध्ये वलीहरूको भागमा पुष्पवर्षा र भोको पेट रित्ता थालहरू लिएर सडकमा लाम लाग्नेहरूको भागमा लाठी र सङ्गीन कसरी पर्छ ? सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :