लेखक/साहित्यकारद्वारा माक्र्सवादी स्रष्टा अनिल शर्माको रिहाइको माग


काठमाडौँ : रातो खबर साप्ताहिकका निर्देशकसमेत रहेका माक्र्सवादी संस्कृतिकर्मी/साहित्यकार अनिल शर्मा विरहीको रिहाइका लागि सयौँ संस्कृतिकर्मी/लेखक/पत्रकारले मङ्गलबार संयुक्त रूपमा आह्वान गरेका छन् ।

राजनीतिक वैचारिक आस्थाका आधारमा अत्यन्त पूर्वाग्रही भएर कथित कम्युनिस्ट सत्ताले आफ्नो अलोकतान्त्रिक र निरङ्कुश चरित्र देखाइरहेको भन्दै स्रष्टाहरूले बिरामी अवस्थामा उपचार गराइरहेका स्रष्टा विरहीलाई बिनापूर्वाग्रह र बिनासर्त तत्काल रिहा गर्न सरकारसँग माग पनि गरेका छन् ।

अदालतले निर्दोष साबित गरी रिहा गरेका राजनीतिक/सांस्कृतिक व्यक्तिहरूलाई आफ्नै संविधान र कानुनका विरुद्ध पटकपटक गिरफ्तार गर्ने र झूट्टा अभियोग लगाई बन्दी बनाइरहने अत्यन्त अलोकतान्त्रिक कार्य निरन्तर गरिरहेको संस्कृतिकर्मीहरूको निष्कर्ष छ । अस्पतालको शय्यामा उपचार गराइरहेका र गम्भीर अवस्थाका बिरामी रहेका रातो खबर साप्ताहिकका निर्देशकसमेत रहेका माक्र्सवादी साहित्यकार अनिल शर्मा ‘विरही’ लाई तत्काल रिहा गर्न जोडदार माग गर्दै मङ्गलबार संयुक्त वक्तव्य जारी गरेका हुन् ।

वक्तव्यमा भनिएको छ, ‘अनिल शर्माको उक्त अमानवीय गिरफ्तारी पञ्चायतकालीन निरङ्कुशतालाई सम्झाउने राज्यको अलोकतान्त्रिक र अमानवीय व्यवहार हो भन्ने टड्कारो अनुभूति भएको छ । चितवनको एउटा अस्पतालमा भर्ना भई ढाडको गम्भीर समस्याको उपचार गराइरहेका अवस्थामा उहाँलाई अस्पतालको शय्याबाटै गिरफ्तार गरेर धनुषा प्रहरीलाई सुम्पनु र बिरामी अवस्थामा धनुषा पुर्याउनु अमानवीय र निरङ्कुश व्यवहार हो भन्ने कुरा छर्लङ्गै छ । त्यति मात्र होइन, धनुषाको अदालतले धरौटीमा रिहा गर्ने आदेश दिइसकेपछि पनि पुनः गिरफ्तार गरेर सुनसरी जिल्लाको प्रहरीलाई सुम्पने कार्य जसरी गरिएको छ, त्यसले राज्यको चरित्र कति अलोकतान्त्रिक, असहिष्णु र निरङ्कुश प्रकारको छ भन्ने कुरालाई सिद्ध गरेको छ । कुनै कसुरको पर्याप्त सबुत नहुँदा नहुँदै पनि भिन्न राजनीतिक आस्था राखेका आधारमा यसरी राष्ट्रिय समस्याप्रति सचेत र सक्रिय एकजना नागरिकलाई गम्भीर शारीरिक अस्वस्थ हुँदाहुँदै गिरफ्तार गरेर स्वास्थ्यसेवाबाट समेत वञ्चित गरिनु हदैसमम्मको अमानवीय कार्य हो । यस घटनाले भारतमा यसैगरी आस्थाका आधारमा गरिएको कवि बरबर राव, जीएन साइबाबालगायत संस्कृति तथा अधिकारकर्मीहरूको गिरफ्तारीको झल्को दिएको छ । यसले नेकपा नाउँको वर्तमान सरकार समाजवाद होइन, कट्टरतावाद हुँदै फासिवादको दिशामा जान लागेको सङ्केत गर्दछ । हामी तपसिलका लेखक तथा संस्कृतिकर्मीहरू सरकार र सिङ्गो राज्यको यस्तो दमनकारी कृत्यको तीव्र निन्दा गर्दछौँ र यस्ता निरङ्कुश कार्य बन्द गरी नागरिकका फरक आस्था र विचार राख्ने स्वतन्त्रताको सम्मान गर्न तथा गिरफ्तार गरिएका माक्र्सवादी स्रष्टा/संस्कृतिकर्मी अनिल शर्मा विरहीलाई तत्काल रिहा गरी उपचारको वातावरण सुनिश्चित गर्न जोडदार माग गर्दछौँ ।’

वक्तव्य जारी गर्नेहरूमा निनु चापागाईं, प्रा. डा. जगदीशचन्द्र भण्डारी, रोशन जनकपुरी, इस्माली, आहुती, डा. कृष्णराज अधिकारी, नवीन विभास, प्रा. डा. नन्दीश अधिकारी, हीरामणि दुःखी, सरला रेग्मी, खेम थपलिया, अशोक सुवेदी, निभा शाह, कर्णबहादुर थापा, कुमार थापा, प्रा. श्रीधर अधिकारी, डा. रामप्रसाद ज्ञवाली, लोकराज रेग्मी, तक्मा के.सी., मोदनाथ मरहट्टा, विष्णु भण्डारी, बलराम तिमिल्सिना, सङ्गीत स्रोता, विनोदविक्रम के. सी., कल्पना पौडेल जिज्ञासु, राजु स्याङ्तान, डा. सुकुम शर्मा, दवराज उपाध्याय, प्रा.डा. ताराकान्त पाण्डेय, परशुराम कोइराला, नुमराज बराल, पोषराज पौडेल, भीम रानाभाट, सीता शर्मा, गौरी दाहाल, शोभा दुलाल, राजेश बान्तवा, विदुर वस्ती, प्रभात सापकोटा, पूर्णबहादुर अधिकारी, छायादत्त न्यौपाने, देवेन्द्र लम्साल, रविकिरण निर्जीव, ईश्वरी ओझा, अनिल श्रेष्ठ, हुकुमबहादुर सिंह, उमेश आचार्य, कल्पना चिलुवाल, कृष्णहरि भट्ट, पञ्चकुमारी परियार, विष्णु न्यौपाने, वसन्त बोगटी, असल पाख्रिन, जय दाहाल, इन्द्र राउत, सुनिता बुढाथोकी, चित्रनारायण थारू, नारायण मरासिनी, बन्दना ढकाल, शिला योगी, खगेश्वर भण्डारी, प्रकाश खनाल, कमल निओल, राजेन्द्र पौडेल, सिर्जना ढकाल, इन्दिरा अधिकारी, ईश्वरी गुरागाईं, विष्णु नेम्बाङ, खोमा तरामु मगर, कला अनुरागी, शकुन्तला जोशी, विकास लुङ्गेली, काजी गाउँले, घनश्याम शर्मा पौडेल, केदार श्रेष्ठ, शैलज पौडेल, प्रतिमा पोखरेल, रेशम विरही, गोपालबाबु मरहट्टा, शरद पौडेल, अर्जुन ढकाल, राजेन्द्र घायल, सुरज उपाध्याय, कुशल बोगटी, सरल माझी, आरोह नेपाली, लम्जेल सङ्घर्षशील, मुक्तान थेबा, अग्निराज पौडेल अराप, विमला चन्द, ढुण्डीराज अधिकारी, केशाङ लामा, मित्रलाल पंज्ञानी, रसुवाली कवि, बीपी विद्रोहीलगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :