नेपाल कम्युनिस्ट पार्टी र सरकार बीचको वार्ता निष्कर्षमा : तीन बुँदे सहमति

भोली प्रधानमन्त्री ओली र महासचिव विप्लवले सम्बोधन गर्ने

एकीकृत जनक्रान्ति : नयाँ अन्वेषण र विकास

लेखक : पूर्णबहादुर सिंह

‘यो सिद्धान्तलाई तपाईं आफ्नो पूरा जानकारीअनुसार सच्चा ठान्नुहुन्छ र यसमाथिको निराधार हमला र विकृतीकरणका प्रयत्नहरूबाट बचावट गर्नुको अर्थ यो होइन– तपाईं सबै प्रकारका आलोचनाहरूको विरोधी हुनुहुन्छ । हामी माक्र्सको सिद्धान्तलाई सम्पूर्ण र पवित्र ठान्दैनौँ । उल्टो, हामी विश्वस्त छौँ– माक्र्सवादले त्यस विज्ञानको मात्र जग हालेको छ जसलाई समाजवादीहरूले, उनीहरू जीवनमा पछि पर्न चाहँदैनन् भने सर्वोतोमुखी विकास गर्नुपर्छ ।’

लेनिन, हाम्रो कार्यक्रम, (सन् १९२५ मा लेनिन ग्रन्थसङ्ग्रहको खण्ड ३ मा पहिलोपटक प्रकाशित । खण्ड ४, पृष्ठ १८२–१८६ ।)

‘हामीले पार्टीको आमकार्यदिशा र आमनीति साँच्ची नै बिर्सियौँ भने हामी अन्धा, अपरिपक्व र गोब्रे बुद्धि भएका क्रान्तिकारी बन्नेछौँ । त्यस्तो स्थितिमा आफ्नो काम, विशेष कार्ययोजना र विशेष नीति लागू गर्दा दिशाविहीन भएर कहिले देब्रे र कहिले दाहिनेतिर धर्मराउनेछौँ र त्यसबाट हाम्रो कामको सत्यानास हुनेछ ।’

माओ (माओ त्सेतुङका सङ्कलित रचनाहरू, भाग ४, पृष्ठ २५९, नेपाली संस्करण) ।

‘आजको विश्व र नेपाली परिस्थितिले कार्यदिशामा नयाँ संश्लेषणको माग गरेको छ । त्यस्तो कार्यदिशा जनविद्रोह र जनयुद्धको विकासका रूपमा एकीकृत जनक्रान्ति हुन पुगेको छ ।’

विप्लव, (विप्लव सङ्कलित रचना, पृष्ठ १७६)

क) सन्दर्भ

यसमा उल्लिखित कमरेड लेनिन र माओको भनाइबाट आज मालेमावाद सर्वशक्तिमान, सार्वभौम र अपराजेय विश्वदृष्टिकोण र विज्ञान हो । यसको निरन्तर एवम् सर्वत्तोमुखी विकास भइरहन्छ । प्रयोगबिना विज्ञानको विकास सम्भव छैन । एकीकृत जनक्रान्ति महासचिव कमरेड विप्लवका शब्दमा नयाँ संश्लेषण र विकास हो । विश्व–मानवजाति एवम् मूलतः सर्वहारा श्रमिक वर्गलाई प्रज्वलित गर्न सफल कम्युनिस्ट घोषणापत्र अन्वेषण एवम् प्रक्षेपणको १७२ वर्ष, सर्वहारा वर्गलाई सर्वप्रथम सत्ताको मालिक बनाउन सफल तथा शिक्षा प्रदान गर्ने पेरिस कम्युनको १४९ वर्ष, नयाँ ढङ्गले पहिलोपटक पृथ्वीको विशाल भूभागमा वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्न सफल अक्टोबर क्रान्तिको १०३ वर्ष र एसियाको विशाल भूमिमा वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्न विजयी चिनियाँ क्रान्तिको ७१ वर्षपछिको दुनियाँमा हामी खडा छौँ । २१ औँ शताब्दीको दोस्रो दशकमा आज हामी विश्वको सर्वोच्च शिखर सगरमाथाबाट एकीकृत जनक्रान्तिको अन्वेषण गरेर प्रक्षेपण गरिरहेका छौँ । यद्यपि आजको विश्वमा १९ औँ र २० औँ शताब्दीका वैज्ञानिक समाजवादी सत्तामा प्रतिक्रान्तिपछि कुनै पनि देशमा क्रान्ति सफल हुनसकेको छैन । माक्र्स–एङ्गेल्सको समयमा पुँजीवादले आफ्नो चिहान खन्ने सर्वहारा (मजदुर) वर्ग जन्मायो । औद्योगिक पुँजीवादले सर्वहारावर्गलाई क्रान्तिको अग्रदस्ता मात्र बनाएन, बरु मजदुर–किसानको चट्टाने एकतामा साम्राज्यवादी पहिलो विश्वयुद्धकै दौरानमा अक्टोबर क्रान्तिको विस्फोट र सोभियत सङ्घ स्थापना भयो । साम्राज्यवादी दोस्रो विश्वयुद्धपछि पूर्वी युरोप मात्र होइन, चीन, भियतनाम, कोरिया, लाओस आदि मुक्त भएका थिए । फिलिपिन्स, पेरू, टर्की, चिली, मलाया, बर्मा, कोलम्बिया, निकारागुवा, इन्डोनेसिया, ग्वाटेमाला, भेनेजुयला, ब्राजिल, भारत र नेपालमा क्रान्तिको पहल एवम् प्रारम्भ भए पनि विजयी भएनन् । । पूर्वी युरोप, सोभियत सङ्घ, मध्यपूर्व र एसियामा समाजवादमा संशोधनवादीहरू हाबी भए । साम्राज्यवादले हस्तक्षेप एवम् घुसपैठ गर्यो र प्रतिक्रान्ति भयो ।

आत्मगत रूपले रक्षात्मक विश्व कम्युनिस्ट आन्दोलन, सामाजिक साम्राज्यवादको पतन एवम् असफल समाजवादी सत्ता, महान् नेपाली जनयुद्धले खाएको धक्का र विश्वका नयाँ अन्तरविरोधहरू र विशेषताहरूको गहन विश्लेषण र संश्लेषणको परिणाम हो–एकीकृत जनक्रान्ति । यो कसैको लहड, मनोगत इच्छा, महत्वाकाङ्क्षा र भ्रम वा विभ्रम होइन, बरु युगीन आवश्यकताको महान् दायित्व एवम् जिम्मेवारी हो जुन विश्व मानवजाति, मूलतः नेपाली जनताको अपरिहार्य आवश्यकता हो । यो आकस्मिकताको उपज होइन, विश्वका श्रमिक वर्ग र उत्पीडित जनताका क्रान्तिहरू प्रतिक्रान्तिमा परिणत भएपछिको गहन समीक्षा एवम् सिंहावलोकनसहितको लामो खोज, अनुसन्धान, अन्वेषणपछि प्रक्षेपण गरिएको नयाँ कार्यदिशा हो । यो विश्व–उत्तरसाम्राज्यवाद र प्रतिक्रान्तिविरुद्ध नयाँ जनक्रान्ति हो ।

ख) पृष्ठिका

विश्वमा वैज्ञानिक समाजवादी सत्ताहरू विघटन र क्रान्तिहरूले धक्का खाएर प्रतिक्रान्तिमा परिणत भए । विगत सात दशकयता नेपालमा पनि गड्गडाउँदै प्रारम्भ हुने जनसङ्घर्ष, जनआन्दोलन र जनयुद्ध सबै सम्झौता र धोकामा टुङ्गिए । विश्व–साम्राज्यवादी बहुध्रुव, अन्तरविरोधहरू एवम् आर्थिक सम्बन्धमा परिवर्तन, स्वाधीन आन्दोलनमा विकास, सशस्त्र सङ्घर्ष एवम् क्रान्तिकारी आन्दोलनमा वृद्धि, राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय विशेषता, मूलतः नेपालका आधारभूत नयाँ विशेषताका कारण हुबहु जनविद्रोह वा जनयुद्धको सम्भावना नहुनु र आन्दोलनमा अन्योल र अविश्वास पैदा भयो । साथै नयाँ राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय परिस्थिति, राजनीतिक, आर्थिक, सामाजिक सम्बन्धहरू, आत्मगत तथा वस्तुगत पक्षहरूको कुल योग र ‘ठोस परिस्थितिको ठोस विश्लेषण’ लेनिन र ‘ठोस स्थितिअनुरूप नीति निर्माण’ माओको मार्गनिर्देशनमा ‘एकीकृत जनक्रान्ति’ का प्रवर्तक कमरेड विप्लवले सर्वप्रथम १५ असार, २०७१ (सन् २०१४, जुन २९) मा नेकपा–माओवादीको पोलिटब्युरो बैठकमा ‘यथास्थितिमा क्रमभङ्गता : इतिहासको अपरिहार्य आवश्यकता’ दस्ताबेज प्रस्तुत गरेपछि यो बहसमा आयो । ‘हाम्रो क्रान्तिकारी युद्धले कुन कुरा प्रमाणित गरेको छ भने हामीलाई एउटा सही सैन्य कार्यदिशा र साथै एउटा सही माक्र्सवादी राजनीतिक कार्यदिशाको आवश्यक छ ।’ कमरेड माओ (भाग १, पृष्ठ १४९ मा) ले भनेझैँ युगीन आवश्यकतामा एकीकृत जनक्रान्तिको कार्यदिशाको संश्लेषण भयो । पहिला ‘एकीकृत क्रान्ति’, शिवगढी भेलासम्म र दाङ राष्ट्रिय सम्मेलनमा व्यापक बहसपछि ‘एकीकृत जनक्रान्ति’ मा संश्लेषण भयो । ‘दलाल संसद्वाद, आत्मसमर्पणवाद र विसर्जनवादका विरुद्ध सङ्घर्ष गरौँ ! माक्र्सवाद–लेनिनवाद–माओवादको विकास गरौँ !!’ भन्ने महान् उद्घोष गर्दै सम्पन्न नेकपाको ऐतिहासिक आठौँ महाधिवेशन (१–१० फागुन, २०७३) ले उच्च केन्द्रीकरण एवम् व्यापक बहस र वर्गविश्लेषणसहित ‘एकीकृत जनक्रान्ति’ को समग्र रणनीति, कार्यनीति, आमनीति, कार्यक्रम र कार्ययोजनामा संश्लेषण एवम् विकास ग¥यो । यसले नेपाली जनक्रान्तिको कार्यदिशामा देखापरेको समस्या समाधान गर्दै सैद्धान्तिक, राजनीतिक, सङ्गठनात्मक, आर्थिक, सङ्घर्षलगायत विषयहरू सुस्पष्ट ग¥यो । कार्यदिशा पार्टीको विचार, दृष्टिकोण र मूल मार्ग हो । यसले रणनीति, कार्यनीति, कार्ययोजना, कार्यक्रम र कार्यान्वयनको नेतृत्व प्रदान गर्दछ । यसले ठोस दिशा स्पष्ट र क्रान्ति सङ्गठित पनि गर्दछ । यो समग्र वस्तुगत तथा आत्मगत स्थितिको विश्लेषण, लक्ष्य प्राप्तिको विधि, पद्धति र प्रक्रियाको निर्धारण हो । यो केवल सजाउने ध्वजापताका, फहराउने झन्डा, प्रवचन र नारा होइन, जीवन–व्यवहारमा लागू गर्ने मार्गदर्शन हो । यसमा अति, अन्योल र अनिच्छाको कुनै स्थान छैन ।

अहिले यो कार्यान्वयनमा अघि बढिरहेको छ । यसले नेपाली कम्युनिस्ट आन्दोलन र जनक्रान्तिलाई पुनर्सङ्गठित गरिरहेको छ । आम श्रमिकवर्ग र उत्पीडित जनताका निम्ति यो खुसी र गौरव मात्र होइन, नयाँ आशावाद, जीवन र भविष्य पनि हो ।

ग) बहस, आलोचना र विश्लेषण

प्रकृति विज्ञान, भौतिक विज्ञान, समाज विज्ञान आदिमा हुने नयाँ अन्वेषण, आविष्कार र प्रक्षेपणपछि स्वाभाविक रूपले पक्ष–विपक्ष, समर्थन–विरोध हुने गर्दछ । ग्यालिलियोले पृथ्वी गोलो छ भनेर पुष्टि गर्दा जेल जानुपर्यो । राइट दाजुभाइ (ओर्बल र विल्बर) ले पहिलोपटक हवाईजहाजको आविष्कारपछि उडान गर्दा करिब दुई दर्जन मानिस मात्र विश्वास गरेर अवलोकन गर्न पुगे । धेरैले यो आत्महत्या किन हेर्ने ? भनेका थिए । विसं २०५२ मा जनयुद्ध हुँदैछ वा गर्छौं भन्दा ‘यो विपनामा जनयुद्धको सपना’ लेखेर केही मानिसले हाँसीमजाक गरेकै हुन् । किप थोर्नले ‘कुनै उन्नत वैज्ञानिक समुदायले ऋणात्मक शक्ति उत्पादन गरेर समय मेसिन बनाइहाले पनि त्यो खोल्नेबित्तिकै विस्फोट हुने वा नहुने सम्भावना पनि रहन्छ’ भने । हकिङले त्यसको अस्वीकार र ठूलो प्रश्न खडा गर्दै हाँसीमजाकमा भने, ‘इतिहासकारहरूको पेसा नै खतरामा नपरोस् भन्ने हेतुले प्रकृतिले यसलाई रोकेको हुनसक्छ । समय मेसिनको अस्तित्व कहिल्यै हुन सक्दैन, यसको सम्भावना हुँदो हो त हामीकहाँ भविष्यका मान्छेहरू पाहुना लाग्न आउँथे वा हामीलाई आक्रमण गर्थे ।’

(स्टेफन हकिङ, जीवनी, अनु. ओमप्रकाश खरेल, पृष्ठ ७९) ।

साम्राज्यवादीहरूले भौतिक विज्ञानमा गरिने आविष्कार मात्र होइन, त्यसको शोषण–उत्पीडन, बर्बरता वा दलाली गर्नेलाई पुरस्कारको पनि व्यवस्था गरेका छन् । समाजविज्ञानमा हुने आविष्कारमा वैचारिक र भौतिक आक्रमण गर्दछन् । एकीकृत जनक्रान्तिको संश्लेषण भएपछि नेपालमा बहस, आलोचना र विश्लेषण व्यापक रूपले भयो । यसको प्रस्तावना, व्याख्या, विश्लेषण, प्रतिक्रिया र आलोचना सबै समेटेर दाङ राष्ट्रिय सम्मेलनमा हामीले वर्ष ६, अङ्क ४, पुस २०७१ जनशिक्षा मासिकको विशेष अङ्कमा प्रकाशित पनि गरेका छौँ । ‘डिचगेन पिता जसलाई उनको साहित्यकार पुत्रबाट छुट्ट्याउनु जरुरी छ, जोजति असफल थिए, आधुनिक समाजमा दर्शनशास्त्रका धेरैजसो प्रोफेसरहरू वास्तवमा ‘पुरोहितहरूका डिग्री प्राप्त नोकरहरू’ बाहेक अरू केही होइनन् । आफूलाई प्रगतिशील ठान्ने रुसी बुद्धिजीवीहरू र अन्य मुलुकहरूका उनका दाजुभाइहरूले डिचगेनका शब्दमा अभिव्यक्त मूल्याङ्कनको स्तरमा उतार्न ठयाम्मै नरुचाउनुको कारण साँचो कुराले उनीहरूका आँखा घोचिरहेको हुन्छ । डिचगेनले गरेको चरित्रचित्रण ठीक थियो । आधुनिक शिक्षित मान्छेहरू सत्तारूढ बुर्जुवा वर्गमाथि राजकीय, व्यापक आर्थिक, सामाजिक तथा अन्य तरिकाले कति निर्भर छन् भन्ने कुरा अलि गहिरिएर सोच्नु नै यथेष्ट हुनेछ ।’

लेनिन, लडाकु भौतिकवादको महत्व, सङ्कलित रचनासङ्ग्रह, पाँचौँ रुसी संस्करण, खण्ड ४५, पृष्ठ २३–३३) ।

ती सबै विश्लेषण, प्रतिक्रिया र आलोचनाहरूको जबाफ महान् लेनिनको उल्लिखित भनाइ पर्याप्त छ । प्रतिक्रिया, बहस र आलोचनाहरूलाई क्रान्तिकारीहरूले सकारात्मक र नकारात्मक दुवै ढङ्गले ग्रहण गर्नुपर्दछ । ती सबै आरोपहरूको खण्डन यो आलेखमा सम्भव छैन । पार्टीका प्रकाशन, नेतृत्वहरूले शृङ्खलाबद्ध लेखरचनाको माध्यमबाट गरेका व्याख्या र विश्लेषणले प्रस्ट गरिसकेको मात्र होइन, यो कार्यदिशा लागू गर्ने प्रक्रियाले नयाँ उचाइ हासिल भइरहेको छ । यसमा आधार, विशेषता, चुनौती, सम्भावना र नयाँ कार्यभारको छोटो उल्लेख गरिनेछ ।

घ) मुख्य आधार र विशेषता

एकीकृत जनक्रान्तिको कार्यदिशा विकास र प्रयोगका मुख्य आधार र विशेषता निम्नरहेका छन् :

आधारका दृष्टिले पहिलो, सर्वशक्तिमान एवम् सार्वभौम मालेमावादको मार्गदर्शन हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोण हो । वर्गसङ्घर्ष, सशस्त्र सङ्घर्ष र सर्वहारावर्गको अधिनायकत्व हो । महान् सर्वहारा सांस्कृतिक क्रान्ति अथवा सर्वहारा अधिनायकत्वअन्तर्गत निरन्तर क्रान्तिको मान्यतालाई आत्मसाथ गर्नु हो । बुझ्ने, बदल्ने, रक्षा र विकास गर्ने हो । दोस्रो, पूर्वी युरोप, सोभियत सङ्घ, मध्यपूर्व र एसियामा सम्पन्न क्रान्तिहरू प्रतिक्रान्तिमा परिणत भए अथवा माओको निधनपछि विश्व कम्युनिस्ट आन्दोलन आत्मगत दृष्टिले रक्षात्मक बनिरहेको छ । क्रान्तिको मूल साधन कम्युनिस्ट पार्टीहरू टुटफुट र विभाजनको सिकार भइरहेका छन् । कम्युनिस्ट पार्टी र क्रान्तिलाई कसरी पुनर्सङ्गठित गर्ने ? प्रश्न मुख्य बनिरहेको छ । तेस्रो, उत्तरसाम्राज्यवादी सङ्कट र वैज्ञानिक समाजवादी क्रान्तिको वर्तमान युग । स्पेनी–अमेरिकी (सन् १८९८) र आङ्ग्लबोएर (सन् १८९९–१९०२) ले युद्धहरूपछि वर्तमान युगको चित्रण गर्दा दुबल गोलाद्र्धका आर्थिक एवम् राजनीतिक साहित्यमा ‘साम्राज्यवाद’ शब्दको बढी प्रयोग गरेका थिए । सन् १९०२ मा बेलायती अर्थशास्त्री जीए हब्सनको ‘साम्राज्यवाद’ पुस्तक लन्डन र न्युयोर्कबाट प्रकाशित भएको थियो । उनले साम्राज्यवादको मुख्य आर्थिक एवम् राजनीतिक विशेषताहरूको धेरै राम्ररी र विस्तृत चित्रण गरेका थिए । त्यसपछि सन् १९१० मा अस्ट्रियाली माक्र्सवादी हिल्फेडिगको ‘वित्तीय पुँजी’ पुस्तक भियनाबाट प्रकाशित भयो । माक्र्सवाद र अवसरवादबीच मेलमिलाप गराउने लेखकको प्रयासका बाबजुद ‘पुँजीवादी नवीनतम् चरण’ मा धेरै महत्वपूर्ण विश्लेषण भनेर लेनिनले भन्नुभएको थियो । माक्र्स–एङ्गेल्सको समयमा पँुजीवाद थियो । सन् १९१६ को वसन्तमा लेनिनले जुरिचमा ‘साम्राज्यवाद : पुँजीवादको चरम अवस्था’ लेखेर त्यसको सविस्तार विश्लेषण र संश्लेषण गर्दै ‘यसको अध्ययनबिना वर्तमान युद्ध, राजनीति र त्यसको उचित मूल्याङ्कन असम्भव हुन जान्छ । साथै साम्राज्यवाद समाजवादी क्रान्तिको पूर्वबेला हो, सामाजिक अन्धराष्ट्रवाद समाजवादप्रति पूर्ण विश्वासघात हो’ भनेर पेत्रोग्रादबाट २६ अप्र्रिल, १९१७ मा उद्घोष गर्नुभएको थियो । १०४ वर्षपछि यो उत्तरसाम्राज्यवादमा विकसित भएको छ । एकीकृत जनक्रान्तिको कार्यदिशाद्वारा उत्तरसाम्राज्यवाद र दलाल पुँजीवादको हल र वैज्ञानिक समाजवादको अपरिहार्य आवश्यकता हो । चौथो, बर्नस्टिन, ख्रुस्चोभ, तेङहरूको शास्त्रीय, आधुनिक र अत्याधुनिक संशोधनवाद अहिले नवसंशोधनवादमा महापतन भएको छ, त्यसविरुद्धको सङ्घर्षमा विजय हासिल गर्ने हो । पाँचौँ, वैज्ञानिक समाजवादको सफलता, लोकप्रियता, असफलताका कारणहरू, असल पक्षहरू, शिक्षा, अनिवार्यता र प्राप्तिको मार्ग हो । छैटौँ, विज्ञान तथा प्रविधिको अभूतपूर्व विकास भइरहेको छ । यसमा विश्व–साम्राज्यवादको जति पहुँच, प्रचार र प्रभाव देखिन्छ त्यसको सारचरित्र, विशेषता र बदनामीको श्रमिक वर्ग एवम् उत्पीडित जनताले बुझ्ने र बदल्ने मार्ग पनि प्रशस्त गरिरहेको छ ।

विशेषताका दृष्टिले पहिलो, सामाजिक रूपले जनघनत्व, आवास, बजार, उत्पादन, सूचना–सञ्चार, यातायात आदिले जोडिएको गाउँ र सहर छ । दोस्रो, राजनीतिक रूपले सत्तामा केही सामन्तवादका विशेषताका बाबजुद दलाल तथा नोकरशाही पुँजीवाद हाबी छ । तेस्रो, वर्गसम्बन्धमा किसान, मजदुर आधारभूत र केही ढुलमूलका बाबजुद प्रगतिशील आधार वर्गका रूपमा नयाँ श्रमिकवर्ग (मध्यम वर्ग) को क्रमिक विकास भइरहेको छ । चौथो, विशिष्ट भूराजनीतिक अवस्था अथवा सानो र भूपरिवेष्ठित मुलुक हो– नेपाल । दलाली गरेर सस्तो श्रम बेच्ने र तस्करीमा कच्चा पदार्थ निर्यात गर्ने, आत्मनिर्भरभन्दा परनिर्भरताको समस्या चरम छ । किसान, मजदुर र नयाँ श्रमिक वर्गको एकता र राज्यसत्तामा हिस्सेदारी रहने चरित्र छ । भूगोल सानो वा ठूलोभन्दा विचारधारात्मक तथा राजनीतिक कार्यदिशाको वैज्ञानिकता र दृढ कार्यान्यनले विजयलाई सुनिश्चित गर्दछ । पाँचौँ, बहुजातीय र बहुसांस्कृतिक विशिष्टता छ । उत्पीडन, शोषण र असमानताको खाडलले विषमता पैदा गरेको छ । वर्गसङ्घर्षद्वारा वर्गसत्ताको हल गरेर सबै उत्पीडित जातिलाई सत्तामा पूर्ण अधिकारसहित मुक्त गर्ने विचार, राजनीति र क्रान्तिको अपरिहार्य आवश्यकता छ । छैटौँ, विज्ञान तथा प्रविधिको अभूतपूर्व विकास र प्रयोगमा विश्व–साम्राज्यवादले जसरी शोषण, उत्पीडन, नियन्त्रण र आक्रमण गरिरहेको छ त्यही स्तरमा जनक्रान्तिको आधार निर्माण, प्रचार र प्रभाव पनि विस्तार भइरहेको छ । त्यो प्रतिरोध र विस्फोटको स्थितिमा पुग्दैछ । त्यसले तीव्रतामा उत्तरसाम्राज्यवाद र दलाल पुँजीवादको चिहान खनिरहेको छ । दृष्टिक्षितिजमा विश्व वैज्ञानिक समाजवाद–साम्यवादको ढोका खुलिरहेको छ । यी नै मूल आधार एवम् विशेषतामा एकीकृत जनक्रान्तिको अन्वेषण, प्रयोग र विकास भइरहेको छ ।

ङ) चुनौती र सम्भावना

विश्वकम्युनिस्ट आन्दोलनको विगत गौरवशाली र शिक्षाप्रद छ । नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासले सकारात्मक र नकारात्मक शिक्षाहरू प्रदान गरेको छ । वर्तमानमा आत्मगत दृष्टिले यो केही चुनौतीपूर्ण रहे पनि वस्तुगत धरातलमा खडा भएर सुन्दर क्षितिज खुलिरहेको छ । वैचारिक, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, सामरिक (सैन्य), प्राविधिकलगायत नयाँ विशेषताका दृष्टिले साम्राज्यवाद उत्तरसाम्राज्यवादमा विकसित हुनु, त्यसको प्रतिबिम्ब संशोधनवादको पनि नवसंशोधनवादमा महापतन हुनु, विशेषता एवम् सापेक्षताको समाजवाद र कम्युनिस्ट आवरणमा भ्रम पैदा गर्नु, कम्युनिस्ट समाजवादका असल पक्षहरूलाई विश्व–साम्राज्यवादले नक्कल एवम् परिवर्तन गरेर लागू गर्नु, समाजवादी मुलुकहरूमा साम्राज्यवाद र संशोधनवादका कारण प्रतिक्रान्ति हुनु, माओको मृत्यु मूलतः सन् १९७८ को भियतनाम क्रान्तिपछि विश्वमा कतै पनि कम्युनिस्ट क्रान्ति सफल नहुनु र विश्व कम्युनिस्ट केन्द्र निर्माण हुन नसक्नु अन्तर्राष्ट्रिय चुनौती छन् । नेपालमा पनि कम्युनिस्ट आवरणमा सामाजिक दलाल पुँजीवादीहरू सत्तामा हुनु, फासिवादी दमनमा आउनु, सबै जनसङ्घर्ष, जनआन्दोलन र महान् जनयुद्धसमेत सम्झौतामा टुङ्गिनु, जनताले बारबार धोका खानु आदि चुनौतीहरू देखिन्छन् । अन्तर्राष्ट्रिय रूपमा साम्राज्यवादी सङ्कट, बहुध्रुव, अन्तरविरोधहरू एवम् आर्थिक सम्बन्धमा परिवर्तन, स्वाधीन आन्दोलनमा विकास, सशस्त्र सङ्घर्ष एवम् क्रान्तिकारी आन्दोलनमा वृद्धि र आणविक शक्तिको विकासले प्रत्यक्ष युद्ध नभए पनि नयाँ स्वरूपका युद्धहरू देखापर्नुले नयाँ क्रान्ति विस्फोट हुने सम्भावना देखिन्छ । राष्ट्रिय रूपमा पनि दलाल पुँजीवादी सत्तामा चरम सङ्कट पैदा हुनु, त्यसले जनविरोधी तथा राष्टघाती हकर्तहरू गर्नु, जनतामा व्यापक असन्तोष एवम् आक्रोश बढ्नु, जनताले सत्ताको विकल्प खोज्नु र एकीकृत जनक्रान्तिले क्रमिक विकास गर्नुले सुन्दर सम्भावनाको क्षितिज खुल्दै गइरहेको छ । लेनिनले भन्नुभएको थियो, ‘पिँजडाभित्र थुनेर कुनै अस्ट्रियाली केङ्गुरासँग प्रदर्शनीमा राख्नुपर्छ । बहुलठ्ठीपूर्ण शस्त्रीकरण र साम्राज्यवादी नीतिले आधुनिक युरोपमा यस्तो सामाजिक शान्ति ल्याउँदैछ जुन बारुदको पिपाजस्तो छ । समस्त बुर्जुवा पार्टीहरूको पतन र सर्वहारा वर्गको प्रौढता दिनप्रतिदिन बढ्दो छ ।’

(लेनिन, कार्ल माक्र्सको शिक्षाको ऐतिहासिक भवितव्य, प्राभ्दा अङ्क ५०, मार्च १९१३, खण्ड २३, पृष्ठ १–४)

लेनिनले भनेझैँ विश्व–साम्राज्यवाद र दलाल पुँजीवादलाई सम्पूर्ण श्रमिक वर्ग तथा उत्पीडित जनताले चिहानमा गाड्नेछन् । अनि वैज्ञानिक समाजवाद–साम्यवाद अझै विकसित, शक्तिशाली र समृद्ध भएर आउनेछ । यी चुनौतीहरूको सामना र सम्भावनाहरूलाई वास्तविकतामा एकीकृत जनक्रान्तिले बदल्नेछ । युजिन पोत्तरको गीतझैँ कुनै बिहान नष्ट हुनेछन् र उज्यालो रहिरहनेछ ।

च) समाधान र विकास

एकीकृत जनक्रान्तिको मूल उद्देश्य एवम् लक्ष्य समाज विज्ञान मालेमावादमा नयाँ विकास र विश्वव्यापी पैदा भएका तमाम समस्याहरूको समाधान गर्ने रहेको छ । गति एवम् अन्तरविरोधको नियम नै छ– यो यथास्थितिमा रहँदैन । पूर्वीयुरोप, सोभियत सङ्घ, मध्यपूर्व र एसियामा किन प्रतिक्रान्ति भयो ? माओको निधनपछि चार दशकसम्म किन क्रान्तिको ज्वाला बल्ने र निभ्ने भइरहेको छ ? कम्युनिस्ट पार्टीले श्रमिक वर्ग र उत्पीडित जनताको अग्रदस्ता बन्न, विषालु हावाका विरुद्ध सङ्घर्ष गर्न र विजय हासिल गर्न किन सकिरहेका छैनन् ? प्रकृति (भौतिक) विज्ञान र प्रविधिमा भएको क्रान्तिलाई समाज विज्ञानमा कसरी दार्शनिकीकरण गर्ने ? स्टेफन हकिङले ‘विगतमा दर्शन र विज्ञान सँगै थियो तर आज अलग–थलग हुन पुगेको छ । दर्शनले समाजका समस्याहरूलाई विज्ञानसम्मत ढङ्गले समाधान दिन सकेको छैन’ भन्ने संश्लेषण गर्दै सामान्य सापेक्षता तथा क्वान्टम यान्त्रिकीको अनिश्चितता सिद्धान्तलगायतलाई भौतिक विज्ञानको एकीकरण गरेका छन् । उत्तरसाम्राज्यवाद तथा नवसंशोधनवाद र दलाल पँुजीवादको हल कसरी गर्ने ? भन्ने गम्भीर प्रश्नहरूको जबाफ मात्र होइन, एकीकृत जनक्रान्तिले दर्शनमा विपरीतको सङ्घर्ष–एकत्वको नियम वस्तु, समाज र कम्युनिस्ट पार्टीमा कसरी लागू हुन्छ, बुझ्ने, बदल्ने, रक्षा र विकास गर्ने नयाँ सिद्धान्तको विकास र प्राकृतिक र भौतिक विज्ञानमा भएका नयाँ खोज र विकासअनुसार समाज विज्ञानमा पनि विकास गर्ने सवाल मुख्य रूपमा उठान गरेको छ । राजनीतिक रूपमा जनवाद र अधिनायकत्वको वैज्ञानिक प्रयोगको सवाल उठाएको छ । मानवसमाजको सबैभन्दा उन्नत र समृद्ध वैज्ञानिक समाजवादी अर्थप्रणाली एवम् कम्युनिस्ट अर्थ दृष्टिकोणको विकास तथा नेता, कार्यकर्ता र जनतामा त्यसको सही प्रयोगको नयाँ प्रणाली एवम् नीतिको विकास गरेको छ । सङ्गठनात्मक रूपमा समाजको सबैभन्दा वैज्ञानिक, जनवादी, क्रान्तिकारी, निःस्वार्थी र आधुनिक कम्युनिस्ट पार्टीको निर्माण, परिचालन, सञ्चालन विधि–पद्धति र नेतृत्व प्रणालीमा नयाँ विकास भइरहेको छ । नयाँ परिस्थितिमा कार्यक्रमका दृष्टिले न्यूनतम् राजनीतिक व्यवस्था वैज्ञानिक समाजवाद हो । एकीकृत जनक्रान्तिका सात विशेषता– सहर र गाउँ, जनता र जनसेना, किसान–मजदुर र नयाँ श्रमिक वर्ग (मध्यम वर्ग), देशभक्त र कम्युनिस्ट, वैज्ञानिक प्रविधि र मानवशक्ति, वर्ग, राष्ट्र, समुदाय र लैङ्गिकलाई कम्युनिस्ट पार्टीको नेतृत्वदायी भूमिकामा एकताबद्ध गर्ने रहेका छन् । पाँच आधार– राजनीतिक÷वैचारिक, सङ्गठनात्मक, सङ्घर्ष, आर्थिक र विज्ञान–प्रविधि रहेका छन् । सात रणनीति– राजनीतिक, सैन्य, सङ्गठनात्मक, सङ्घर्ष, आर्थिक, संयुक्त मोर्चा र अन्तर्राष्ट्रिय छन् । समग्रमा तत्कालीन कार्यनीति, कार्यक्रमहरूको विकास पनि गरेको छ । खास क्षेत्र (इलाका) हरूको परिभाषित पनि गरेको छ । यो कार्यदिशाको अन्वेषण र प्रयोग आफैँमा नयाँ मोडल र विकास हो जसको विशिष्टताले सार्वभौम विकास गर्दै पनि जानेछ ।

छ) नयाँ कार्यभार

पहिलो, एकीकृत जनक्रान्ति नयाँ अन्वेषण, प्रयोग र विकास भएकाले क्रान्तिकारीहरूले यसका विशेषताहरूलाई सही ढङ्गले बुझ्ने र यसका आधारहरूको सिर्जनात्मक ढङ्गले लागू गर्ने मुख्य कार्यभार हो । दोस्रो, आमश्रमिक वर्ग तथा उत्पीडित जनताको एक यस्तो शक्तिशाली सङ्गठनात्मक जालो निर्माण गर्ने जसले बहुमत जनतासँग गहन, अटुट, सजिलैसँग पुनरावलोकन र नवीकरण गर्न सकिने सम्बन्ध कायम गरोस् । तेस्रो– जनदिशाका आधारमा जनतासँग सुदृढ सम्बन्ध स्थापित गर्ने, आकर्षित, सङ्गठित र आन्दोलित गर्न सर्वाधिक वर्गचेतना, प्रगतिशील पङ्क्ति खडा गर्न मेहनत गर्ने । चौथो, व्यापक जनसमूहलाई माथि उठाउन, विचार, राजनीति, सङ्गठन र सङ्घर्षद्वारा प्रशिक्षित तथा नेतृत्व गर्दै दलाल पुँजीवादी सत्ताका विरुद्ध एकीकृत पार्नुपर्छ । पाँचौँ, सबैखाले अवसरवाद, आत्मसमर्पणवाद, संशोधनवादका विरुद्ध सम्झौतारहित सङ्घर्ष गर्ने । साथै महान् सर्वहारा सांस्कृतिक क्रान्तिको प्रस्थान बिन्दुमा सञ्चालित पार्टीको शुद्धीकरण अभियानलाई साकार तुल्याउने ।

अन्त्यमा

‘पुँजीपतिहरू र कुलाकहरूको कुनै पनि शक्तिले, सैकडाैँ अर्ब सम्पत्ति खेलाउने अन्तर्राष्ट्रिय वित्तीय पुँजीको कुनै पनि शक्तिले जनक्रान्तिलाई पराजित गर्न सक्नेछैन । उल्टो जनक्रान्तिले सम्पूर्ण विश्वलाई ढाक्नेछ । जब कुनै विचारधाराले जनसमूहलाई ढाक्छ, त्यो एक भौतिक शक्तिमा परिणत हुन्छ । संसारमा कुनै त्यस्तो शक्ति छैन जसले उनीहरूलाई विश्व–समाजवादी क्रान्तिको विजय दिवससम्म त्यो सत्ता आफ्नो हातमा कायम गर्नबाट रोक्न सकोस् ।’

(१ अक्टोबर, १९१७ लेनिन, के बोल्सेविकहरू राज्यसत्ता थाम्न सक्छन् ?, सङ्कलित रचना सङ्ग्रह, पाँचौँ संस्करण, खण्ड ३४, पृष्ठ २८७–३३९)

लेनिनले उल्लेख गरेझैँ उत्तरसाम्राज्यवाद तथा दलाल पँुजीवादको अन्त्य, एकीकृत जनक्रान्तिको विजय र वैज्ञानिक समाजवाद–साम्यवादको स्थापना अवश्यम्भावी छ ।

सन्दर्भ सामग्री

१) जनशिक्षा मासिक, वर्ष ६, अङक ४, पुस २०७१ विशेष अङ्क
२) नौलो बिहानी मासिक, वर्ष २१, अङ्क १, फागुन, २०७३, विशेष अङ्क
३) विप्लव, एकीकृत जनक्रान्ति (तेस्रो संस्करण) १ फागुन, २०७३, जनशिक्षा मासिक
४) विप्लव, वैज्ञानिक समाजवाद, वैशाख, २०७५, रातो खबर प्रकाशन गृह प्रा.लि.
५) विप्लव, महापतन (प्रचण्ड पतनको अन्तर्कथा) असोज, २०७५, रातो खबर प्रकाशन गृह प्रा.लि.
६) हेमन्तप्रकाश ओली ‘सुदर्शन’, विश्वदृष्टिकोणमा रूपान्तरण, असोज, २०७६, रातो खबर प्रकाशन गृह प्रा.लि.

३० भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!