नेता छन् धनी त

कविता 

गरिब छ, देश गरिब छन् जनता नेता छन् धनी त
नेताजी किन नहुने धनी भ्रष्टाचार छ नि त
बाटो र घाटो पुल् निर्माण गर्ने योजना बनाउँछन्
टेन्डर पार्छन् आफ्नै मान्छेलाई सम्पत्ति कमाउँछन् ।

उड्ने र गुड्ने सबै छन् साधन कहाँ जान मन हुन्छ
चिल्ला र मीठा गरेर भाषण आफूलाई धन हुन्छ
कुर्सीमा पुगे भगवान् कसम टाँसिन्छन् गमजस्तै
खोज्ने हो भने प्रमाणहरु भेटिन्छन् प्रशस्तै ।

एक कार्यकाल मन्त्री भए सात पुस्ता रमाउँछन्
जनताको भन्दा दलालका नाइके भएर कमाउँछन्
नेताहरूको मीठो भाषणले पेट भर्ने रैनछ
विकासको मूल फुटाउँछु भन्छन् त्यो सत्य हैनछ ।

जनतालाई भने यो प्राण धान्न साह्रै नै गाह्रो छ
नेतालाई भने देश–जनताभन्दा कमिसन प्यारो छ
तँ–तँ र म–म वाद र विवाद सरकारी पार्टीमा
देशको भन्दा कुर्सीको माया धन जोड्ने स्वार्थमा ।

त्यागेर स्वार्थ राष्ट्रको माया गर है नेताज्यू
लाटा यी जनता हुँदैछन् बाठा खोज्दैछन् अब निहुँ
गणतन्त्र देशमा बलिदान ठूलो दिएर आको छ
ती नेताबाहेक सुविधा यहाँ कसले के पाको छ ?!

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :