प्रशासनले बेवास्ता गरेकाले दलितहरूले ज्यान गुमाउनुप¥यो : दलित मोर्चा

बागलुङमा बाढीपछि आएको पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति दलित मुक्ति मोर्चाले दुःख व्यक्त गरेको छ । मोर्चाका केन्द्रीय अध्यक्ष डम्बरबहादुर विश्वकर्माले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै बागलुङमा पहिरोमा पुरिई दलित समुदायका धेरै मानिसको ज्यान गएको र बेपत्ता हुनेहरू पनि अधिकांश दलित समुदायकै भएको भन्दै उक्त घटनाप्रति दुःख व्यक्त गरेका हुन् ।
मोर्चाका अध्यक्ष डम्बरबहादुर विश्वकर्माको विज्ञप्तिमा राजनीतिक दलहरूले चुनावी भाषणमा दलित र पिछडिएका समुदायको मुक्तिको वकालत गरे पनि सत्तामा गइसकेपछि बेवास्ता गरेको उल्लेख छ । १४ जनाको निधन र ५२ जना बेपत्ता हुने गरी भएको उक्त घटना हुनुभन्दा पहिले कुनै सूचनामूलक सतर्कताहरू नअपनाइएको र सरकारी अदूरदर्शिताका कारण घटना भएको मोर्चाले उल्लेख गरेको छ । उक्त घटनाका कारण दलित मुक्ति मोर्चा नेपाल स्तब्ध र मर्माहत भएको विज्ञप्तिमा उल्लेख छ ।
सरकार र स्थानीय प्रशासनलाई वर्षाका कारण पहिरो गई भुजुङखोला थुनिएको थाहा हुँदाहुँदै पनि जोखिमयुक्त बस्तीलाई जोगाउनेतर्फ ध्यान नगएको भन्दै पीडित परिवारलाई राहत, दलित र जनजाति समुदायलाई सुरक्षित बसोबासको व्यवस्था र क्षतिपूर्ति, देशमा भैरहेको महामारी कोरोना भाइरस (कोभिड १९) का बारेमा जनतालाई सजगता, सुझाव र निर्देशन दिन मोर्चाले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :