अदालतको आदेशमा नेकपाका केही नेता रिहा

काठमाडौँ :अदालतको आदेशमा विभिन्न ठाउँमा नेकपाका नेता–कार्यकर्ताहरू रिहा भएका छन् । यसैबीच नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चाका महासचिव रामलाल विश्वकर्मा र नेकपाका नारायणी ब्युरो सदस्य होमबहादुर खड्का रिहा भएका छन् ।

सर्वोच्च अदालतमा बिहीबार बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि भएको बहसपछि सुनुवाइ गर्दै सर्वोच्च अदालतले दलित मोर्चाका नेता विक र ब्युरो सदस्य खड्कालाई रिहा गर्न आदेश दिएको थियो । प्रहरीले बिनाआधार र प्रमाण प्रवृत्त भावना राखेर गिरफ्तार गरेको भन्दै सर्वोच्चले जिल्ला अदालत धादिङका न्यायाधीशको रोहबरमा उनीहरूलाई रिहा गर्न आदेश दिएको थियो ।

बिहीबार सर्वोच्च अदालतमा बन्दीहरूका तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरू कपिलचन्द्र पोख्रेल, खिमानन्द अधिकारी, कान्तिराम ढुङ्गाना, राजु अधिकारी, सन्तोष कोइराला, चूडाबहादुर निरौला र चिरञ्जीवी ढकालले बहस गरेका थिए । उनीहरूलाई प्रहरीले साउन ३ गते गिरफ्तार गरेको थियो ।

यसैबीच ४८ दिन लामो हिरासत तथा जेल जीवनपछि नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन रोल्पा जिल्ला इन्चार्ज कमल थापा ‘बिजुली’ रिहा भएका छन् ।

जिल्ला अदालत रोल्पाको आदेशमा बिहीबार साँझ उनलाई रिहा गरिएको हो । हातको अप्रेसन गरेर आराम गरी बसिरहेको बेला थापालाई प्रहरीले गिरफ्तार गरेको थियो ।

यस्तै नेकपाका भेरी–कर्णाली ब्युरो सदस्य तथा जुम्ला जिल्ला सेक्रेटरी राजबहादुर भाव ‘उदय’ र युवा सङ्गठनका जुम्ला संयोजक नवीन पनि रिहा भएको समाचार प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :