सर्वोच्चको आदेशमा रिहा हुनासाथ नेकपाका नेता बीसी पुनः गिरफ्तार

 

काठमाडौँ : सर्वोच्च अदालतको रिहाइ आदेशपछि रिहा भएलगत्तै नेपाल कम्युनिस्ट पार्टीका चितवन जिल्ला इन्चार्ज लालबहादुर बीसीलाई प्रहरीले पुनः गिरफ्तार गरी सुनसरी लगेको छ ।
बिहीबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि भएको बहसपछि सुनुवाइ गर्दै सर्वोच्च अदालतले नेकपा नेता बीसीलाई रिहा गर्न आदेश दिएको थियो । प्रहरीले बिनाआधार र प्रमाण प्रवृत्त भावना राखेर गिरफ्तार गरेको भन्दै सर्वोच्चले चितवन जिल्ला अदालतका न्यायाधीशको रोहबरमा बीसीलाई रिहा गर्न आदेश दिएको थियो । तर सुनसरीमा हातहतियार र सङ्गठित अपराधसम्बन्धी अर्को मुद्दा रहेको भन्दै बीसीलाई बिहीबार साँझ नै गिरफ्तार गरेर प्रहरीले सुनसरी लगेको हो ।
बिहीबार सर्बोच्च अदालतमा बीसीका तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरू कपिलचन्द्र पोख्रेल, खिमानन्द अधिकारी, कान्तिराम ढुङ्गाना, राजु अधिकारी, सन्तोष कोइराला, चूडाबहादुर निरौला र चिरञ्जीवी ढकालले बहस गरेका थिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :