कोरोनाले भयावह बन्दै भारत

नेपालको दक्षिणी छिमेकी मुलुक भारतले कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या उच्च हुनेमा नयाँ रेकर्ड कायम गरेको छ । यसअघि कोरोना भाइरस महामारीले सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा १७ जुलाईमा ७८ हजार २९९ जना एकै दिन सङ्क्रमित फेलापरेर नयाँ रेकर्ड कायम भएको थियो ।
तर भारतमा पछिल्लो विवरणअनुसार एकै दिनमा झन्डै ८४ हजारजना कोरोना भाइरसबाट सङ्क्रमित भेटिएका छन् । भारतमा पछिल्लो २४ घन्टामा ८३ हजार ८८३ जना सङ्क्रमित भेटिएका हुन् । यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि भारतीय अधिकारीहरुको भनाइ छ ।
योसँगै भारतमा कुल सङ्क्रमितहरुको सङ्ख्या ३८ लाखभन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा कोरोना भाइरसकै कारण अहिलेसम्म ६७ हजार ३७६ जनाको मृत्यु भएको छ । तीमध्ये एक हजार ४३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ ।
भारतमा अहिलेसम्म कुल सङ्क्रमित ३८ लाख ५३ हजार रहेकोमा २९ लाख ७० हजार मानिस सङ्क्रमणमुक्त भइसकेका छन् । भारतमा अहिलेसम्म साढे चार करोडको कोरोना परीक्षण गरिएको बताइएको छ ।
भारतमा कोरोनाकै कारण पूर्वराष्ट्रपति प्रणव मुखर्जीको मृत्यु भएको छ । ८४ वर्षीय मुखर्जी २०१२ देखि २०१७ सम्म भारतका राष्ट्रपति थिए । योभन्दा अगाडि भारतमा एकजना मन्त्री कमला रानीको पनि मृत्यु भएको थियो ।
कोरोना भाइरसले आक्रान्त बने पनि भारत र अमेरिकाले देशको अर्थतन्त्रमा असर पर्न नदिने भन्दै प्रतिबन्धात्मक व्यवस्थाहरु हटाइरहेको पृष्ठभूमिमा यति धेरै कोरोना सङ्क्रमित थपिएका हुन् । तर आफ्नै किसिमको समाजवाद प्रयोग गरिरहेको देश चीन र पुँजीवादी देश कोरियाले सङ्क्रमित र मृत्युदर नियन्त्रण गरेरै अर्थतन्त्रमा गिरावट आउन दिएका छैनन् । सबैभन्दा पहिले कोरोना भाइरस देखिएको चीनको वुहानको जनजीवन भने सामान्य अवस्थामा फर्किसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :