कारागारहरूमा कोरोना, कैदीबन्दीको जीवन जोखिममा

काठमाडौँ : कोरोना भाइरस सङ्क्रमणका कारण नेपालका कारागारहरूमा राखिएका कैदीबन्दीहरूको जीवन जोखिममा परेको छ । पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट कारागारमा रहेका ४ जना कैदीबन्दीको ज्यान गएको छ । केन्द्रीय कारागार सुन्धाराका चार कैदीको ज्यान गएको हो ।

नेपालका कारागारहरूमा क्षमताभन्दा धेरै कैदीबन्दी राखिएको कुरा कुनै नौलो विषय होइन । कम क्षमताको भौतिक संरचना भएका कारागारहरूमा क्षमताभन्दा धेरै कैदीबन्दीहरू राखिँदा अन्य भौतिक कठिनाहरू त हुन्छन् नै त्यसमा पनि विभिन्न सरुवा रोगहरूको जोखिम उच्च हुने गर्छ । देशका विभिन्न ठाउँका समुदायमा कोरोना सङ्क्रमण समुदाय स्तरमा पुगिसकेको बेला कारागारहरू पनि यसबाट अछुतो रहेका छैनन् ।
नेपालमा ७७ जिल्लामा ७१ वटा कारागार छन् । ती कारागारहरूको क्षमता १० हजार मात्र छ तर त्यहाँ २४ हजार कैदीबन्दी राखिएको छ । यीमध्ये अहिले १ दर्जन जति कारागारहरूमा कैदीबन्दीमा कोरोना सङ्क्रमण देखिएको छ ।
यतिबेला कारागारहरूमा रहेका कैदीबन्दीहरू उच्च जोखिममा परेका छन् । समूहमा रहने सुरक्षाकर्मीहरू कोरोनाको उच्च मारमा परेको बेला कैदीबन्दीहरूको सम्पर्कमा सुरक्षाकर्मीहरू नै पुग्ने हुँदा कारागार र हिरासतभित्र बसेकाहरू पनि सङ्क्रमित हुन पुगेका हुन् । कारागारहरूबाट कैदीबन्दीहरूलाई अस्पताल लग्दा–ल्याउँदा र अदालतहरूमा लैजाँदा पनि कोरोना सर्ने जोखिम हुन्छ । आइतबार मात्रै केन्द्रीय कारागारका ३५ जना कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो तर केन्द्रीय कारागारमा करिब १०० जनामा कोरोना सङ्क्रमण भएको हुनसक्ने आशङ्का गरिएको छ । कारागार व्यवस्थापन विभागका अनुसार अहिलेसम्म स्वाब सङ्कलन गरी परीक्षण गरिएकामध्ये १५० जनाभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै बुटवलको प्रहरी हिरासतमा रहेका १३ जनामा कोरोना भाइरस सङ्क्रमण देखापरेको छ । बुटवलकाें इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका १५ जना सङ्क्रमितमध्ये नेपाल कम्युनिस्ट पार्टीका ९ जना कार्यकर्तालाई कोरोना पोजेटिभ देखिएको छ । भीम अस्पतालमा गरिएको स्वाब सङ्कलनको रिपोर्टमा १५ जना थुनुवाको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसमध्ये गत साउन १३ गते गिरफ्तार गरिएका नेकपाका १० जना कार्यकर्तामध्ये ९ जनालाई कोरोना सङ्क्रमण देखिएको थियो । प्रहरीले गिरफ्तार गरेका १० मध्ये ५ जनालाई प्रहरीलाई दुव्र्यवहार ५ जनालाई हातहतियार तथा खरखजाना मुद्दा लगाइएको थियो । यस्तै सिराहा जिल्लाको लाहान इप्रकामा रहेका ७ जना थुनुवालाई पनि कोरोना सङ्क्रमण भएको छ ।
कारागारमा सयौँजना समूहमा बस्ने भएकाले एकजना मात्र सङ्क्रमित भएमा महामारीकै रूप लिनसक्ने खतरा हुन्छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार सुरक्षित राख्न आवश्यक हुन्छ । कारागार ऐनअनुसार प्रत्येकका लागि २ मिटर चौडाइ र ३ मिटर लम्बाइ भएको स्थान उपलब्ध गराउनुपर्छ । त्यो न्यूनतम् मापदण्ड पनि पु¥याइएको छैन । त्यसैगरी स्वास्थ्य मापदण्डअनुसार एक व्यक्ति र अर्को व्यक्तिबीच न्यूनतम् २ मिटर दूरी कायम भएको हुनुपर्छ ।
कारागारहरूमा एउटै कोठामा २० देखि २५ जनासम्म थुनुवा कोचेर राख्ने र कतिपय ठाउँमा सजिलोसँग सुत्न पनि नमिल्ने गरी कोचेर राख्ने गरिएको छ । जेलहरूमा क्षमताभन्दा ३ गुणा बढी बन्दी र कैदी छन् । थुनुवा, कैदी र बन्दीलाई मास्क, सेनिटाइजर र साबुनको व्यवस्था छैन । नुहाउने र लुगा धुने पानीको अभाव छ । तर सरकारको त्यतातिर पटक्कै ध्यान गएको छैन । सरकार जबाफदेही र जिम्मेवार नहुँदा जेल र हिरासतहरू कोरोनाको महामारीको केन्द्र बन्दै जाने खतरा बढेको छ र कैदीबन्दीहरूको जीवन उच्च जोखिममा परेको छ ।
यस्तै चितवनको भरतपुर जिप्रका, रौतहटको गौर जिप्रका, सिन्धुपाल्चोक, पर्साको वीरगन्ज जिप्रका, बाराको कलैया जिप्रका, सुनसरीको इनरुवा जिप्रका, बाँकेको नेपालगन्ज जिप्रकाका थुनुवामा पनि कोरोना सङ्क्रमण देखिइसकेको छ ।
नेपालका कारागारहरूमा निकै भीडभाड गरेर राखिएका कारण उनीहरूको स्वास्थ्य सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाउन र कारागारको जनशक्ति घटाई जीवनरक्षाका लागि मानवअधिकारकर्मीले माग गरेका छन् ।
यसअघि नै सर्वोच्च अदालतले पनि गम्भीर प्रकृतिका कसुरबाहेकका कैदीबन्दीहरूलाई प्रक्रिया पु¥याएर सहुलियतपूर्ण कानुनी व्यवस्था कार्यान्वयन गर्न सरकारका नाममा आदेश जारी गरेको थियो । तर उक्त आदेश सरकारले कार्यान्वयन नगर्दा समूहमा खाँदिएर बस्ने अवस्था रहेकाले कारागारहरूमा बस्नेहरू समस्यामा पर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :