जनक्रान्तिविरुद्ध दमनमा उत्रिएकाहरू अब खरानी हुनेछन्

प्रवक्ता कमरेड तपाईंलाई रातो खबरमा स्वागत छ ।

यसका निम्ति रातो खबर परिवारलाई धन्यवाद ।

देश असाध्यै अशान्त, अस्थिर र अन्योलग्रस्त बन्दै गएको छ । तपाईंहरूले अहिलको परिस्थितिलाई कसरी विश्लेषण गर्नुभएको छ ?

देश यतिखेर आफ्नो इतिहासमै पहिलोपटक महासङ्कटको भुमरीमा परेको छ । देशको जीवनमा सिर्जित यस अवस्थाका निम्ति सत्तासीन दलाल पुँजीपति वर्ग, त्यसको राज्यसत्ता र शासन व्यवस्था मुख्य जिम्मेवार छन् । नेपाली जनताले देश र आफ्नो मुक्तिका निम्ति ०७ सालदेखि यतातिर सञ्चालन गरेका राजनीतिक आन्दोलन र जनयुद्धका मूल्य, मान्यता, बलिदान, भावना र आकाङ्क्षाविपरीत राष्ट्रघात, जनघात, भ्रष्टाचार, कमिसन, सामाजिक असुरक्षा र कहालीलाग्दो जनजीविका देश र जनताको जीवनमाथि थोपरिएको छ । परिणामतः देशमा भयावह स्थितिको सिर्जना भएको छ ।

गत डिसेम्बरबाट उब्जेको कोरोना भाइरसको विश्वव्यापी महामारी र त्यसको नेपाली समाजमा परेको डरलाग्दो असर पनि राष्ट्रको जीवनमा अर्को प्राकृतिक स्वास्थ्य विपत्तिका रूपमा आइलागेको छ । राष्ट्रिय सङ्कटलाई महासङ्कटमा पुर्याउने कोरोना भाइरसको महामारी पनि भएको छ ।

मानव समाजको जीवनमा आइपर्ने कुनै पनि महाविपत्तिको पूर्वजानकारी हुँदैन । खतराको अनुमान मात्र गर्न सकिन्छ । त्यसका आधारमा समाज, राज्य आधारभूत रूपमा मानसिक एवम् भौतिक रूपमा तयारी अवस्थामा रहनु पर्दछ । बाँकी त विपत्तिले निम्त्याएको चुनौतीको सामना गर्ने दृष्टिकोण, नीति, योजना र कार्यक्रम बनाएर सिङ्गो देशलाई परिचालन गर्ने हो । हाम्रो देशका सन्दर्भमा राज्यको दृष्टिकोण र तत्परता दुईटै कमजोर साबित भयो । भएका प्रयासहरू पनि सकारात्मक हुँदाहुँदै पनि कमसल साबित भए । नेपाली जनता कोरोना भाइरसको आतङ्कले आक्रान्त छ ।

राज्यसत्ता र कोरोना भाइरसले देश र नेपाली जनताको जीवनमा निम्त्याएको महासङ्कटको हल गर्न निर्णायक ‘नेपाली जनक्रान्ति’ को आँधीका निम्ति वर्तमान देशको अवस्थाले अपिल गरिराखेकोे छ ।

विश्वमा फैलिरहेको कोरोना भाइरसको महामारीका कारण नेकपाका गतिविधि पनि कम भएका छन् । त्यस विषयमा केही बताइदिनुहुन्छ कि ?

वर्तमान विश्व मानवसभ्यता र व्यवस्थामाथि धावा बोल्दै कोरोना भाइरसको महामारी प्रवेश गर्यो । यसले विश्वस्तरमा जुन तवाहा सिर्जना गरिरहेको छ, त्यसको असर नेपालमा पर्ने नै थियो र परिराखेको छ । नेपाली श्रमजीवी जनताको पार्टी हुनुले नेपाल कम्युनिष्ट पार्टी दलाल पुँजीपति वर्गको राज्यसत्ताले नेपाली जनतामाथि गर्ने अत्याचारका विरुद्ध मात्र होइन, प्रकृतिले थोपर्ने विपत्तिका विरुद्ध पनि लड्नु यसको दायित्व हो । यसर्थ पार्टीको सङ्घर्षलाई अहिले कोरोना भाइरसका विरुद्धको मोर्चामा मूलभूत रूपमा बदलेको मात्र हो ।

कोरोना नियन्त्रणका लागि लकडाउन हुँदै अहिले आएर ठाउँठाउँमा कफ्र्यु लगाउन थालिएको छ । यसबारे तपाईंको धारणा के छ ?

कोरोना भाइरसका विरुद्ध लड्ने हतियारका रूपमा स्वास्थ्य विज्ञानले बन्दाबन्दी (लकडाउन) लाई पनि एउटा हतियार मानेको छ । यसको विश्वव्यापी प्रयोग पनि भइरहेको छ । बन्दाबन्दीलाई अझ कडा स्वरूप दिई निषेधाज्ञा बनाउन खोजिँदैछ । निषेधाज्ञाले जनजीवन झन् कष्टकर बनाएको छ ।

राज्य र सरकारले के कुरा बुझ्नुपर्यो भने बन्दाबन्दी वा निषेधाज्ञा कोरोना भाइरसको सङ्क्रमणलाई निको पार्ने साधन होइनन् । यी त सङ्क्रमणको फैलावटलाई रोक्ने साधन मात्र हुन् । नेपाली जनतामा कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न त उपचार प्रणालीलाई नै वैज्ञानिक, गुणात्मक र व्यापक बनाउनुपर्छ । परीक्षणको दायरालाई व्यापक बनाएर सङ्क्रमित बिरामी र सङ्क्रमणको जोखिममा रहेका मान्छेलाई बन्दाबन्दीमा राख्ने हो । पूरै देशलाई लामो समयसम्म बन्दाबन्दी वा निषेधाज्ञामा राख्ने होइन । यसले देशमा अर्को भयावह स्थितिको सिर्जना गर्छ । कोरोना भाइरसलाई नियन्त्रण गर्न र यसले निम्त्याउने अन्य खतरालाई रोक्न सरकारले समग्र रणनीति र कार्यनीतिका साथ काम गर्नुपर्दछ जुन अहिले भैराखेको छैन ।

कोरोनापछि विश्व–राजनीति नयाँ दिशातर्फ जाँदैछ भन्ने छ । के विश्वमा सङ्घर्ष देखापरेको हो ?

मानवसमाज विकासका क्रममा मानवसमाजलाई आइपर्ने कठिनाइहरूको समाधान गर्नुपर्ने आवश्यकताको उपज राज्य हो । समाज विकासको पहिलो प्रतिनिधि राज्य आदिम साम्यवाद समाजसेवी र जनहितकारी चरित्रको हुनु यसैको परिणाम हो । समाजमा आइपर्ने मानवनिर्मित वा प्राकृतिक समस्या वा सङ्कटको व्यवस्थापन गर्नु त्यसको दायित्व थियो ।

अहिलेको विश्वको राज्यव्यवस्था मूलतः उत्तरसाम्राज्यवादी वा विश्वपुँजीवादी राज्यव्यवस्था हो । प्रथम आदिम साम्यवादी राज्यको चरित्रका विरुद्ध विश्व–मानव समाजलाई धनी र गरिबबीचको महाखाडल खनेर विश्व–मानवसभ्यतालाई एकपछि अर्को सङ्कटग्रस्त र आतङ्कित बनाई नै राखेको थियो । कोरोना भाइरसको प्राकृतिक विपत्ति विश्वव्यापी डढेलोझैँ फैलिँदा, लाखौँलाख मान्छे सङ्क्रमित हुँदा र मृत्यु हुँदासमेत आफूलाई विश्व–प्रभुत्वकारीको दाबी गर्ने र एक नम्बर अर्थतन्त्रको फुइँ लगाउने संयुक्त राज्य अमेरिकी शासक वर्ग र डोनाल्ड ट्रम्प सरकार नै विश्वको सबैभन्दा अक्षम र असफल राज्य र सरकार बन्न पुग्यो । तथ्याङ्कमा कोरोनाबाट हालसम्मका सबैभन्दा बढी जनता मर्ने र सङ्क्रमित हुने देशमा अमेरिका दर्ज भयो जहाँ आजका मितिसम्म १ लाख ८३ हजार मानिसको मृत्यु भएको छ भने ६० लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । अरू आफूलाई शक्तिशाली देशको दर्जामा राख्नेहरूको हालत पनि खराब भएको छ । दक्षिणएसियामा आफूलाई शक्तिशाली र विकसित ठान्ने भारतीय शासक वर्गको सबैभन्दा खराब स्थिति भएको छ । अमेरिकालाई उछिनेर भारत दैनिक सङ्क्रतिक सङ्ख्या ७८ हजारभन्दा बढी भई दैनिक उत्यधिक सङ्क्रमित सङ्ख्या हुने देश बन्न पुगेको छ । हालसम्म त्यहाँ ६४ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने ३६ लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । कोरोना महामारीका कारण अमेरिकामा दसौँ लाख मानिसले रोजगारी गुमाएका छन् भने दैनिक बेरोजगार भत्ता माग गर्ने र लिने जनताको सङ्ख्या तीन करोड पुगेको छ । लाखौँलाख मानिस बेरोजगार भत्ताका निम्ति दैनिक लाममा रहेका छन् ।

यी मुख्यमुख्य घटनाहरू र तथ्यले उत्तरसाम्राज्यवादी वा पुँजीवादी विश्व–व्यवस्था र पुँजीपति वर्ग समानतामूलक, न्यायपूर्ण र उन्नत समाज निर्माण गर्न मात्र होइन, प्राकृतिक विपत्तिको व्यवस्थापन गर्न र मानवसभ्यताको संरक्षण गर्नसमेत अन्तिम रूपमा असफल भएको कुरा दुनियाँले बुझ्ने गरी प्रस्ट भएको छ ।

अबको विश्व–मानवसभ्यताको संरक्षण, मानवीय आवश्यकताको परिपूर्ति र प्राकृतिक विपत्तिको कुशल व्यवस्थापनका निम्ति विश्वका श्रमजीवी जनता, उत्पीडित राष्ट्र र उत्पीडित वर्गलाई साम्यवादी विश्व–व्यवस्था अनिवार्य बन्न गएको छ । कोरोना भाइरसको महामारीको प्रतिवाद र विश्वका श्रमजीवी जनताको रक्षा गर्ने सवालमा अमेरिकी उत्तरसाम्राज्यवाद र विश्व–पुँजीवादी व्यवस्थाको दयनीय र घोर अक्षमताले वस्तुतः यही विषयको पुष्टि गर्दछ । अबको विश्वको अनिवार्य सङ्घर्ष भनेको उत्तरसाम्राज्यवाद एवम् विश्व–पुँजीवादको अन्त्यका निम्ति विश्वका श्रमजीवी जनताको विश्व–साम्यवाद स्थापनाको अन्तिम सङ्घर्ष हो ।

देशमा गणतन्त्र छ । संविधान बनिसकेको छ तर तपाईंहरू अझै पनि सशस्त्र विद्रोह गर्नुपर्छ भनिरहनुभएको छ । अब पनि विद्रोह सम्भव होला र ? त्यो केका लागि ?

गणतन्त्र, सङ्घीयता र संविधान दलाल पुँजीवादी राज्यव्यवस्था संसदीय राजनीतिका दलाल तत्वहरूको प्रतिक्रान्तिकारी चरित्रमा पर्दा हाल्न बलियो रक्षाकवच बनाउने र नेपाली जनतालाई एक/दुई दशक भ्रमित पारेर ती हतियारको बलमा नेपाली जनतालाई लुट्ने दलाल पुँजीपतिहरूको रणनीति एकदुई वर्षमै जनतामाझ सर्वाङ्गै भयो । सबैले सजिलै थाहा पाउने गरी यो संसदीय राजनीति भनेको दलाल पुँजीपति वर्गको राष्ट्रघाती र जनविरोधी तत्वहरूको राजनीति हो र गणतन्त्र, सङ्घीयता र संविधान ठग्ने अस्त्र हुन् भन्ने कुरा बुझ्न बाँकी छैन । अतः विद्यमान राज्यसत्ता, शासन व्यवस्था र नेतृत्वमा क्रान्तिकारी परिवर्तन आजको अनिवार्य आवश्यकता बनिसकेको छ । नेपाली श्रमजीवी जनताको वैज्ञानिक समाजवादी व्यवस्था स्थापनार्थ निर्णायक एकीकृत जनक्रान्ति सम्भव मात्र होइन, तात्कालिक कार्यसूची बन्न पुगेको छ ।

देशमा भ्रष्टाचार चरम छ । बेरोजगारी बढिरहेको छ । जनताको दैनिक जीवन कष्टकर बनिरहेको छ । यसको समाधान के हो त ?

राष्ट्रिय स्वाधीनताविरुद्ध सौदाबाजी, जनताको राजनीतिक स्वतन्त्रतामाथि प्रतिबन्ध, राज्यको ढुकुटीमाथि भ्रष्टाचार एवम् कमिसनको जाँतो र बेरोजगारीको समस्याले विदेशका गल्लीगल्लीमा भौँतारिनु पर्ने अवस्थाको सिर्जना, कष्टसाध्य जनजीवनलगायत समस्याहरूको सिर्जना दलाल पुँजीपति वर्गको संसदीय व्यवस्थाका दैनिकी हुन् । यसको आयु जति बढ्दै जान्छ समस्याहरू झन् विकराल बन्दै जाने कुरामा नेपाली जनता किञ्चित् भ्रमित हुनु हुँदैन । रातारात यसको अन्त्य जरुरी छ । त्यसका निम्ति एकीकृत जनक्रान्तिको सम्पन्नता र वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना नै एक मात्र विकल्प हो ।

नेपालमा क्रान्तिलाई पटकपटक धोका दिएका धेरै उदाहरण छन् । तपाईंहरूले पनि धोका दिनुहुन्न भन्ने के ग्यारेन्टी छ ?

यो प्रश्न अहिले राष्ट्रिय स्तरमा र मुख्य विषयका रूपमा छैन । २०६२–६३ पछि माओवादी पार्टी र आन्दोलनमा विचलन र पलायन आएपछि हामीले त्यसका विरुद्ध विद्रोह गर्दा यो प्रश्नले राष्ट्रिय राजनीतिमा स्थान पाएको थियो । आजसम्म आउँदा हाम्रो पार्टी र नेतृत्वले यस प्रश्नको जबाफ विचार, राजनीतिमा मात्र होइन, वर्गसङ्घर्षको कठिन मोर्चाबाट पनि व्यावहारिक उत्तर दिँदै गइरहेकाले अहिले मुख्य प्रश्न छैन । छ भने सानो दायरामा मात्र छ ।

नेपालको राजनीतिक आन्दोलनमा राणा शासनका विरुद्धको आन्दोलनदेखि अहिलेसम्म भएका आन्दोलन, सशस्त्र सङ्घर्ष र जनयुद्धमा पटकपटक नेपाली काङ्ग्रेस, माले, वाम मोर्चा र माओवादीका नाममा देश र नेपाली जनतालाई दिएको धोकाले जनता आजित नै भएको छ । अबको क्रान्ति र क्रान्तिकारी पार्टीका बारेमा राष्ट्रिय राजनीतिमा उठ्ने प्रश्नको वस्तुगत आधार विगतको धोकाधडीसँग सम्बन्धित रहेको छ ।

जहाँसम्म हाम्रो पार्टी, नेतृत्व र एकीकृत जनक्रान्तिमा नेपाली जनतालाई फेरि धोका हुन्छ कि भन्ने प्रश्न हो सचेतताका निम्ति गरिने प्रश्नबाहेक त्योसँग व्यावहारिक आधार छैन । हाम्रो पार्टी राष्ट्रिय मुक्ति, उत्पीडित नेपाली जनता र एकीकृत जनक्रान्तिप्रति प्रतिबद्ध पार्टी हो । अहिलेको दुनियाँको सामाजिक क्रान्तिको वैज्ञानिक विचार माक्र्सवाद, लेनिनवाद, माओवादद्वारा निर्देशित पार्टी हो । नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा नेपाली क्रान्तिको प्रक्रिया धेरै अगाडि बढिसकेको छ जसको परिणाम नेपाली जनताको आशा, विश्वास र भरोसा पार्टी, नेतृत्व र एकीकृत जनक्रान्तिप्रति धेरै बढ्दै गएको छ । नेपाली जनताका निम्ति अबको विकल्प नेपाल कम्युनिस्ट पार्टी र एकीकृत जनक्रान्ति बन्दै गएको छ । नेपाल र नेपालीका निम्ति यो निकै गौरव र गह्रौँ कुरा हो ।

राष्ट्र र जनताको आवरणमा आफ्नो सङ्कीर्ण एवम् छुद्र राजनीतिक स्वार्थ सिद्धिका निम्ति कहिले आन्दोलन त कहिले युद्धको फन्डा गर्ने अवसरवादी र गद्दार नेता र पार्टीहरूले नेपाली जनतालाई धोका दिएका छन् । क्रान्तिले आफ्नैविरुद्ध खडा गर्ने जीवनमरणको खतराको सामना गर्न नसकेर भागेका भगौडा र बलिदानबाट डराएर आत्मसमर्पण गरेका जिउँदा लासहरूले नेपाली क्रान्ति र राजनीतिक आन्दोलनमा अक्षम्य अपराध गरेका छन् । हाम्रो पार्टी भगौडा र जिउँदा लासहरूको खरानीबाट जन्मेको पार्टी हो । यसका अगाडि कि त राष्ट्र र जनताको मुक्ति छ, कि त अनवरत सङ्घर्ष र बलिदान छ । तसर्थ हाम्रो पार्टी, नेतृत्व र एकीकृत जनक्रान्तिलाई बिनाकुनै सङ्कोच विश्वास गर्न र साथ दिन म आमनेपाली जनतामा विनम्रतापूर्वक अनुरोध गर्दछु । नेपाली जनताले पार्टीलाई साथ दिनुहोस्, पार्टीले तपाईंहरूलाई क्रान्ति र मुक्ति दिनेछ ।

सरकारले नेकपाका नेता–कार्यकर्तालाई गिरफ्तार गरेको छ तर तपाईंहरूले सरकारमाथि दबाब दिने कुनै कार्यक्रम ल्याउन नसकेको आरोप लाग्न थालेको छ नि ?

यो कुरा सत्य होइन । अहिलेको राज्य र सरकारले नेपाली जनता र राष्ट्रका विरुद्ध गरेका गल्तीलाई लिएर सङ्घर्ष गरेका कारण नै राज्य दमनमा उत्रिएको हो । दमनको परिणाम तपाईंले भनेको गिरफ्तारी गरेको छ । क्रान्ति भनेको दमनका विरुद्ध प्रतिवादको मोर्चा पनि हो ।

राज्य र सरकारले हाम्रो पार्टी र यसका कार्यक्रममाथि प्रतिबन्ध लगाएर दमन अभियान चलायो । नेपाली राजनीतिक आन्दोलनको इतिहासमा सजिलै सच्याउन नसकिने गल्ती सरकार र सरकारी पार्टीले गरेको छ । सरकारी पार्टीका नेता र सरकारले हाम्रो पार्टीलाई जुन आरोप लगाएर प्रतिबन्धित गर्यो र दमन गर्यो, त्यसको औचित्य पुष्टि गर्न सकेन । हाम्रो पार्टीलाई आतङ्ककारी, विध्वंशात्मक, लुटेरा, हत्यारा, पैसाका निम्ति गरिएका हर्कतलगायत नानाथरी अभियोग लगाइयो । तर त्यसको राष्ट्रिय राजनीतिमा पुष्टि भएन, बरु पुष्टि त ठीक उल्टो भयो । सरकारी पार्टी र सरकारलाई आत्मसमीक्षक बन्न र वास्तविकतालाई आत्मसात गर्न जबर्जस्ती धक्का निश्चितै दिइरहेको छ । हाम्रो पार्टी र जनक्रान्तिका विरुद्ध साम्राज्यवादी र दलाल तत्वहरूको दमन र षड्यन्त्रको प्रतिवादमा पार्टीले लिने आगामी मोर्चाबाट खरानी हुनेछन् ।

कम्युनिस्टहरू विचार र सिद्धान्तका कुरा धेरै गर्ने तर काम पटक्कै गर्दैनन् भन्ने आरोप छ । त्यसमा कत्तिको सत्यता छ ?

विचार र सिद्धान्तका कुरा धेरै गर्ने, काम पटक्कै नगर्ने ती कम्युनिस्ट होइनन् । माक्र्स, एङ्गेल्सको समयका मजदुर आन्दोलनभित्र पुँजीपति वर्गले जन्माएका अभिजात वर्ग र तिनका प्रतिनिधहरू हुन् । यिनीहरू त बर्नस्टिन, काउत्स्की, ट्राट्स्की, छन तु स्यु र लिलि सानका नेपाली चेलाहरू हुन् । कुरा विचार र सिद्धान्तको गर्ने, काम पुँजीवादी प्रतिक्रियावादी, दलाल पुँजीवादी वा श्रमजीवी जनताविरोधी गर्ने नेपालका सन्दर्भमा संशोधनवादी एवम् संसद्वादी कम्युनिस्टहरूको चिन्तन र चरित्र हो । यसलाई महान् लेनिनले कुरामा समाजवादी, व्यवहारमा पुँजीवादी, यो साम्राज्यवाद हो भन्नुभयो । हाम्रो युगमा यो उत्तरसाम्राज्यवाद हो । संसदीय संशोधनवादलाई कम्युनिस्ट सोच्नु कि त डरलाग्दो भ्रम हो, कि हदैसम्मको अनभिज्ञता हो । विचारअनुसारको व्यवहार र सिद्धान्तअनुसारको काम त क्रान्तिकारी कम्युनिस्टहरूको मात्र हुन्छ जुन हाम्रो पार्टी र नेतृत्व प्रयोगको कठिन घडीमा प्रवेश गरिराखेको छ । विचार र सिद्धान्तका कुरा धेरै गर्ने, काम पटक्कै नगर्ने वा ठीक उल्टो गर्ने संसदीय संशोधनवाद हो ।

केपी वली सरकार असफल देखिन्छ । केही आन्दोलनका झिल्काहरू पनि देखिने गरेका छन् । जनतामा आक्रोश बढिरहेको छ । यसलाई कसरी हेर्नुभएको छ ?

वली सरकारको कुरा मात्र होइन, त्योभन्दा मुख्य कुरा सामान्यतः नेपालको परिवर्तनकामी राजनीतिक आन्दोलन, विशेषतः १० वर्षको महान् नेपाली जनयुद्ध र १९ दिने ऐतिहासिक जनआन्दोलनका विरुद्ध साम्राज्यवाद र यो देशका पुराना र नयाँ दलाल पुँजीवादी तत्वहरूले नेपाली समाज र जनताको थाप्लोमा शान्तिका नाममा षड्यन्त्रमूलक ढङ्गले थोपरेको राज्यसत्ता र शासन व्यवस्था नै दुईतीन वर्ष पुग्दानपुग्दै नेपाली जनताको नजरमा मात्र होइन, विश्वका सामु बदनाम र असफल साबित भयो । आफ्नाविरुद्धको षड्यन्त्रको पर्दाफास भएपछि नेपाली जनतामा राज्यसत्ता, शासन व्यवस्था र नेताप्रति आक्रोश, घृणा, आवेग र विद्रोहको ज्वाला दन्किराखेको छ । यसलाई हाम्रो पार्टीद्वारा सञ्चालित एकीकृत जनक्रान्ति निर्णायक हुनुपूर्वको अवस्थाका रूपमा मैले लिएको छु ।

सरकारी नेकपाभित्रको विवादलाई यहाँले कसरी बुझ्नुभएको छ ? यसको अन्त्य कसरी होला ?

उत्तरः यो असैद्धान्तिक, अराजनीतिक, अनीतिक र अराजकतावादी झगडा हो । कोही माक्र्सवादी विचार, कम्युनिस्ट राजनीतिक कार्यदिशा र जनताको कार्यक्रमलाई लिएर गरिएको वैचारिक, राजनीतिक सङ्घर्ष होइन । यो सत्ताको कुर्सी र पार्टीको मुख्य पदका निम्ति गरिएको लफडा मात्रै हो जसले सरकारी नेकपाका नेताहरूका बारेमा नेपाली जनतामा बाँकी रहेका भ्रम साफ गरिदिएको छ । नेपाली राष्ट्रियतामाथि भारतीय साम्राज्यवादको लिपुलेक सडककाण्ड र लिम्पियाधुरासम्मको नक्साकाण्डमार्फत आक्रमण गरेपछि विपक्ष र पक्षका रूपमा पनि सरकारी पार्टीभित्रको विवादको केही सम्बन्ध रहेको छ ।

विभिन्न क्रान्तिकारी पार्टी र समूहसँग तपाईंहरूको एकता र धु्रवीकरण गर्ने भन्ने थियो । अहिले खासै चर्चा सुनिँदैन । के भइरहेको छ ?

अबको नेपाली क्रान्तिको विचार र कार्यदिशा तय गर्ने क्रम र यसलाई व्यावहारिक रूपमा अगाडि बढाउने सन्दर्भमा नेपालको कम्युनिस्ट आन्दोलन र शक्तिशाली क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणको विषयलाई लिएर पार्टीमा अध्ययन र ठूल्ठूला बहस केन्द्रित गरेका छौँ । बहसको उच्चता र संश्लेषणको दृष्टिले पार्टीको दाङ प्रथम राष्ट्रिय सम्मेलन र ऐतिहासिक थबाङ आठौँ महाधिवेशन मुख्य हुन् । क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई राष्ट्रिय रूपमा धु्रवीकृत गर्ने र मजबुत श्रमजीवी धु्रव खडा गर्ने नीति पार्टीले लिएको छ । यसलाई लागू गर्ने क्रममा सापेक्षित र कार्यनीतिक सफलताहरू प्राप्त भएका छन् । रणनीतिक सफलताका निम्ति अथक मेहनत र निरन्तर प्रयासको माग गरिरहेको छ । पार्टी र नेतृत्वबाट त्यो कार्य जारी रहनेछ ।

तपाईंहरूले भनेजस्तो नेपालमा वैज्ञानिक समाजवाद सम्भव छ भनेर जनतालाई कसरी आश्वस्त पार्न सक्नुहुन्छ ?

यस प्रश्नसँग सम्बन्धित विषयमा मैले माथि धेरै चर्चा गरिसकेको छु । वैज्ञानिक समाजवादी राज्यव्यवस्था नेपाली श्रमजीवी र उत्पीडित जनताको राज्यव्यवस्था हो । अहिले देशमा पैदा भएको महासङ्कट र जनताले भोग्नुपरेको दुःख, कष्ट, पीडा र राष्ट्रले भोग्नुपरेको घातले सम्भव मात्र होइन, नेपाली जनताको वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना र नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व अनिवार्य भइसकेको छ ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ कि ?

देश र जनताले राष्ट्रियतामाथि भारतीय साम्राज्यवादी अतिक्रमण, राष्ट्रिय राजनीतिक सङ्कट र कोरोना भाइरसको डरलाग्दो आतङ्कको सामना गरिराखेको परिस्थितिमा पार्टीका धारणाहरू सार्वजनिक गर्ने वातावरणका निम्ति रातो खबरलाई धन्यवाद व्यक्त गर्दछु ।

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!