नेकपा पाल्पाद्वारा १६ जनवर्गीय समिति गठन र १७ जनभेला सम्पन्न

नेकपा पाल्पाद्वारा १६ जनवर्गीय समिति गठन र १७ जनभेला सम्पन्न

काठमाडौँ : जनसङ्गठन निर्माण, जनभेला, प्रशिक्षण, जागरण अभियान अघि बढाइरहेको नेकपा पाल्पाले भदौ २६ देखि असोज ६ गतेसम्म जिल्लाका विभिन्न स्थानमा युवा सङ्गठनका ६, विद्यार्थी सङ्गठनका ३, महिला सङ्गठनका ३, मगर मोर्चाको १ र किसान सङ्गठनका ३ वटा समितिहरू निर्माण गरेको जानकारी प्राप्त भएको छ ।

यसबीचमा नेकपा पाल्पाले विभिन्न स्थानमा विभिन्नि राजनीतिक पार्टी र तत्वहरूसँग समसामयिक राजनीतिक विषयमा भेटघाट, अन्तरक्रिया, छलफल र बहस गर्नुका साथै १७ वटा जनभेला सम्पन्न गरेको पाल्पाबाट प्राप्त समाचारमा जनाइएको छ ।

अभियानका क्रममा पार्टी सेलहरूको बैठक, प्रशिक्षण र सदस्यता नवीकरणसमेत गरिएको जानकारी नेकपा पाल्पाका इन्चार्ज प्रवीणले दिएका छन् । त्यसैगरी अभियानका क्रममा जवस र मोर्चाको सदस्यता वितरण गर्नुका साथै दलहरूसँग जिल्ला र स्थानीय स्तरमा अन्तरक्रिया, छलफल र बहस निरन्तर जारी रहेको नेकपा पाल्पाले जनाएको छ ।

अभियानका क्रममा गाउँघरसम्म पुगेर सर्वसाधारणलाई कोरोना महामारीविरुद्ध जनचेतना जगाइएको, दलाल पुँजीवादी सत्ताको भ्रष्टाचार, कालोबजारी, महँगी, चर्को कर असुलीलगायत जनविरोधी कार्यको भन्डाफोर गरिएको र अभियानमा सयौँ जनताका बीचमा पार्टीको नीति, योजना र कार्यक्रम सम्प्रेषण गरिएको प्राप्त समाचारमा जनाइएको छ ।

गत भदौ १५ देखि सुरु भएको नेपाल कम्युनिस्ट पार्टी पाल्पाको अभियान जिल्लाभरि तीव्र रूपमा चलिरहेको पनि समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :