तिम्रो संविधान दिवसमा !

कविता

यो त प्रस्टै देखियो–
तिम्रो उल्लासमा मेरो विनास हुने रहेछ
तिम्रा पेट अघाउँदा
मेरो पेट भोकै हुने रहेछ
तिम्रो आङ ढाकिँदा
मेरो आङ नाङ्गै हुने रहेछ !
नत्र किन यस्तो बीभत्स दृश्य देख्नुपथ्र्यो दुनियाँले–
तिम्रो शिरमा हेलिकोप्टरबाट पुष्पवर्षा भइरहँदा
मेरो शिरमा लाठी र बुट–वर्षा भइरहेको !

तिमीले मुलुक गणतन्त्रमय भयो भनेका छौ
भन्न त मैले पनि त्यही भनेर रगत रोपेको थिएँ ।
तिमी गणतन्त्रका पक्षमा नहुँदानहुँदै
तिम्रो जीवनमा गणतन्त्र फल्यो
भनौँ तालुमा आलु फल्यो
मेरो जीवनमा भने फलिरहेछ अझै
फासिवादी दुष्चक्र र कहर ।
तिमीले तिम्रो संविधानमा
मुलुक समाजवाद उन्मुख भयो भनेका छौ
हुनत मैले पनि
समाजवादकै लागि बगाएको हुँ रगत
र गुमाएको हुँ घरको मूलीलाई वर्गयुद्धमा
तर आज हट् घोडा हट् गरिरहेका छौ तिमी र
तिम्रो समाजवादी घोडाको टापले
झनै थिचिरहेछ मलाई भुइँमा लडाएर !

तिमीले मुलुकमा सङ्घीयता आयो भनेका छौ
घरघरमा सिंहदरबार पुर्याउँछु भनेका छौ
भान्छाभान्छामा ग्याँसको पाइप र
घरघरमा पुग्ने पानीजहाज र रेल पुर्याउँछु भनेका छौ
मैले पनि तानाशाही एकात्मकताविरुद्ध सङ्घीयता चाहिन्छ भनेरै
गुमाएको हुँ शरीरको महत्वपूर्ण अङ्ग विद्रोहमा
तर भइदियो अर्कै
तिमी सङ्घीयताविरोधी हुँदाहुँदै फेरि
तिम्रै महलतिर मात्र प्रवेश गर्यो सङ्घीयता
आउन त आयो सिंहदरबार मेरो घरमा पनि
तर त्यो भ्रष्टाचार, कमिसन र कुशासन मात्र लिएर भित्रियो
भान्छामा आएको ग्याँसको पाइप
र घरघरमा आएका पानीजहाज र रेलहरू
मेरा छाप्रामा धुवाँ, खरानी, अभाव र मृत्यु पस्किँदै आए र
सोझिए तिम्रा घरतिर मात्रै
किन भइरहेछ यस्तो !

तिमीले अजीर्ण हुने गरी मिष्ठान्न भोजन गरेको देखेर
भरिएन मेरो पेट
तिम्रो शरीरमा छिनछिनमा फेरिएका नौरङ्गी वस्त्र देखेर
ढाकिएन मेरो आङ
युद्ध र क्रान्तिमा थुप्रिएका
मेरा हाड र कङ्कालहरूले बने
तिम्रा नयाँ–नयाँ सिंहदरबार
तर तिनै दरबारहरूमा लुटिए
मेरा असङ्ख्य दिदी, बहिनी र आमाहरू
नलेखिएरै पनि तिम्रो संविधानमा राष्ट्रघात र जनघात
कमलकोठीले गुँडमा झुसिल्कीरा थुनेर
आफूजस्तै कमलकोठी उत्पादन गरेजस्तै
तिम्रो संविधानले जन्माइरह्यो
राष्ट्रघाती–जनघाती लेन्डुपे कमलकोठीहरू !

त्यसैले महोदय !
मेरो भोको पेट र नाङ्गो आङमा बुट र सङ्गीन बजारेर
तिमीलाई पुष्पवर्षा गराउने संविधान मेरो होइन
मेरा प्रियजनहरूलाई जेल र हिरासतमा कैद गरेर
उत्सव मनाउने संविधान मेरो होइन
थुनेर जनताको विद्रोहलाई ग्याँसच्याम्बरमा
तिमी मनाइरहेका छौ उत्सव र
गरिरहेका छौ अन्तिम भोज !
त्यस्तो विभेदकारी संविधान जन्माउने सत्ता मेरो होइन
र त्यसको रक्षा गर्ने सरकार मेरो होइन
त्यसैले करोडौँ म र मेरा लागि जन्माइरहेछु म
रक्तभेलबाट सिर्जित नयाँ संविधान
जनक्रान्तिबाट सिर्जित नयाँ सत्ता
श्रमिक र सर्वहारा वर्गको जनसंविधान
एकीकृत जनक्रान्तिको मैदानबाट !

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :