डा. गोविन्द केसी १९ औँपटक आमरण अनशनमा, अनशन सात दिन पुग्न लाग्दा समर्थनमा राजधानीमा प्रदर्शन

काठमाडौँ : विगत लामो समयदेखि चिकित्सा क्षेत्र सुधारको माग गर्दै राज्यको ध्यानाकर्षण गराउन आमरण अनशन बसेर सर्वसाधारणको मन जित्दै आएका डा. गोविन्द केसी १९ औँपटक आमरण अनशन बसेका छन् । पछिल्लोपटक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सञ्चालन हुनुपर्नेलगायत माग राखेर ६ दिनअघि जुम्लामा आमरण अनशन बसेका डा. गोविन्द केसीले राखेका माग पूरा गर्न दबाब दिँदै काठमाडौँमा प्रदर्शन सुरु भएको छ ।

माइतीघर मण्डलामा शनिबार केसीका समर्थकहरूले ‘डा. केसीका माग पूरा गर, डा. केसीको जीवन रक्षा गर’ लगायत नारा लेखिएको प्लेकार्डसहित युवाहरूले प्रदर्शन गरेका छन् । कोरोना संक्रमणको त्रासका कारण भौतिक दूरी कायम गर्न भन्दै एक ठाउँमा ५ जना मात्र जम्मा भएर प्रदर्शन गरिएको डा. केसकिा समर्थकहरूले बताए ।

डा. केसी कोरोना भाइरसको पीसीआर परीक्षण व्यापक बनाउनुपर्ने, निःशुल्क गुणस्तरीय शिक्षा र स्वास्थ्यमा समान पहुँचको सुनिश्चितता हुनुपर्नेलगायत माग राखेर गत भदौ २९ गतेदेखि जुम्लामा अनशनमा बसेका हुन् । १९ औँपटक अनशन बसेका केसीले विगतमा सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वयन गर्नुपर्ने माग पनि अघि सारेका छन् । सरकारले पटकपटक उनलाई अनशन तोडाउन उनका माग सम्बोधन गर्ने भन्दै सहमति गरे पनि माग भने पूरा गर्ने गरेको छैन ।

जुम्लामा अनशनरत डा. केसीका माग सम्बोधन गर्दै उनको जीवन रक्षा गर्न नेपाल चिकित्सक संघले सरकारसँग माग गरेको छ ।

यसैबीच संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पनि चिकित्सा क्षेत्र सुधारका माग राखेर आमरण अनशनमा बसेका डा. केसीका माग पूरा गर्न सरकारसँग माग गरेको छ । काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गर्दै डा. केसी जुम्लामा अनशनमा बसेको एक साता पुग्न लाग्दा पनि सरकारले संवादको कुनै पहल नगर्नुलाई गम्भीरतापूर्वक लिएको बताएका छन् ।

२०७५ साल साउन १० गते प्रधानमन्त्री केपी वलीकै अग्रसरतामा सम्झौता गरेको स्मरण गराउँदै शर्माले विज्ञप्तिमा भनेका छन्, ‘त्यही वर्ष माघ महिनामा सरकारले उल्लङ्घन गरेको नजिर नदोहोर्याएर ‘इमानदार वार्ता र सार्थक कार्यान्वयन’ का लागि सरकारसमक्ष माग गर्दछ ।’

काङ्ग्रेस प्रवक्ता शर्माले डा. केसीका जायज माग पूरा गर्ने दिशामा तत्काल प्रक्रिया आरम्भ गर्न सङ्घीय सरकार र कर्णालीको प्रदेश सरकारलाई पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :