सरकारी संविधानविरुद्ध देशव्यापी प्रदर्शन

कतै रुँदै र कतै कालोपट्टी बाँधेर संविधान र सरकारको विरोध

काठमाडौँ : गणतन्त्रविरुद्ध भाषण दिँदै हिँड्ने केपी वली गणतन्त्र नेपालकै प्रधानमन्त्री बनेर गणतन्त्र पक्षधरलाई संविधानको व्याख्या गर्दै गरेको समयमा देशव्यापी संविधानको व्यापक विरोध र प्रदर्शन भएको छ ।

वर्तमान सत्ता/व्यवस्था र सरकारका विरुद्ध एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापनाका लागि लडिरहेको र सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले यो संविधान खारेज गर्दै जनसंविधान जारी गरेको पाँच वर्ष पूरा भइसकेको छ भने जनता समाजवादी पार्टीलगायत संसद्वादी पार्टी र केही अभियन्ताहरूले कालोपट्टी बाँधेर कालो दिवस मनाएका छन् । कसैले रुँदै र चिच्याउँदै नयाँ शैलीले संविधानको विरोध गरेका छन् । सबैको विरोधको सारमा यो संविधानको खारेजी, परिवर्तन र नयाँ संविधानको लेखन/कार्यान्वयन रहेको देखिन्छ । संसद्वादका पक्षधर भएर पनि यो पनि अस्वीकार गर्नेहरुले संविधानको आफूअनुकूल संशोधनको माग गरेका छन् भने अभियन्ताहरुले संविधान बनाउनेहरुले नै संविधान मिचेको भन्दै सरकारको तीक्ष्ण आलोचना गरेका छन् । नेकपाले भने संविधान र सरकार मात्र नभएर संसदीय व्यवस्थाकै अन्त्य र वैज्ञानिक समाजवाद स्थापनाको कार्यक्रम अघि सार्दै क्रान्ति सञ्चालन गरिरहेको छ ।

सरकारी संविधान दिवसकै दिन एकखाले अभियन्ताहरूले वर्तमान सरकारले संविधानको मर्म र भावनाको हत्या गरेको भन्दै सामूहिक रूपमा रोएर राजधानीलगायत देशका विभिन्न भागमा विरोध प्रदर्शन गरेका छन् । स्वतन्त्र राष्ट्रिय अभियान, नेपालको आयोजनामा राजधानीलगायत विभिन्न स्थानमा यसप्रकारको नयाँ शैलीको विरोध कार्यक्रम गरिएको हो ।

अभियानले संविधान हजारौँ मान्छेको बलिदानीबाट आएको भए पनि विभिन्न पार्टीले सरकारमा रहँदा विभिन्न समयमा संविधानको भावनाविरोधी कार्य गरेकाले यो औचित्यहीन बनेको भन्दै संविधानको साङ्गेसमेत गरेको छ ।

अभियानले रुँदै संविधानको विरोध गर्ने कार्यक्रम राजधानीको माइतीघर मण्डलामा गर्न लाग्दा प्रहरीले रोकेको थियो । त्यसपछि कोटेश्वर तीनकुनेमा कार्यक्रम गर्न लाग्दा पनि प्रहरीले गर्न नदिएपछि आयोजकहरूले पशुपतिमा पुगी संविधानको साङ्गे गर्दै सामूहिक रूपमा रोएर संविधानप्रति शोक प्रकट गरेका थिए ।

राजधानीमा भएको कार्यक्रममा तिमीलाई जन्माउनेले नै मारेर छोडे नि…भन्दै प्रदर्शनकारीहरू डाँको छोडेर रोएका थिए । त्यसैगरी यति धेरै खर्च गरेर तिमीलाई जन्माएको काम लागेन नि, गाँस, बास, कपास भन्दाभन्दै, तिम्रै आशामा बस्दाबस्दै तिम्रै हत्या भयो नि, स्वतन्त्र अभियानले त पहिलेदेखि नै राइट टु रिजेक्ट र रिकल भएन भने तिम्रो मर्मको हत्या हुन्छ भनेकै थियो नि, चुनाव हारेकालाई पनि मन्त्री, प्रधानमन्त्री र सांसद बनाएर तिम्रो धुकधुकीलाई ठहरै बनाए नि भन्दै प्रदर्शनकारीहरू रोएका थिए । पशुपतिमा सम्पन्न कार्यक्रममा स्वतन्त्र राष्ट्रिय अभियान नेपालका केन्द्रीय सचिवालय सदस्य कृष्ण प्रसाईं, केन्द्रीय अर्थ विभाग प्रमुख बोधनाथ न्यौपाने, सङ्गठन विभाग सदस्य सचिव दुर्गा बस्नेत, युवा तथा खेलकुद विभाग प्रमुख सेफर्ड लिम्बू, सञ्चार विभाग प्रमुख चर्चित ढुङ्गेललगायतले संविधानविरुद्ध बोलेको समाचारमा जनाइएको छ ।

अभियानले यसअघि भ्रष्टाचारीलाई साङ्केतिक रूपमा थुक्ने, राष्ट्रघातीहरूले राष्ट्रिय झन्डा हल्लाएर हिँड्दै बिटुलो बनाएको भनेर राष्ट्रिय झन्डा धुने, एमसीसीको विरोधमा प्रधानमन्त्री, मोदी, डोनाल्ड ट्रम्पसमेतको टाउको र अनुहार अङ्कित फुटबल बनाएर खेल्ने, सरकारविरोधी नारा लेखिएको नाइट्रोजन भरिएको बेलुन निषेधित क्षेत्रतर्फ उडाउने, विदेशी दलालहरूको लुतो फाल्नेलगायत कार्यक्रम गर्दै आएको जनाएको छ ।

यसैबीच वर्तमान संविधानविरुद्ध जनता समाजवादी पार्टी नेपालले पनि देशव्यापी रूपमा प्रदर्शनसहितका विरोध कार्यक्रम सम्पन्न गरेको छ । संसद्को तेस्रो ठूलो दल जनता समाजवादी पार्टी नेपालले काठमाडौँ बबरमहलस्थित पार्टी कार्यालयमा कालोपट्टी बाँधी संविधान दिवसको विरोध गरेको हो ।

जसपाले देशका विभिन्न जिल्लाहरूमा विरोध कार्यक्रम गरेको छ । जसपा नेपालका नेता एवम् प्रदेश २ सरकारका भूमि, व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले प्रदेशका प्रत्येक जिल्लामा एकैसाथ विरोधका कार्यक्रम सम्पन्न गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :