नेकपाका नाममा चन्दा माग्ने गिरोह पक्राउ


पोखरा : विप्लव नेतृत्वको नेकपाको कार्यकर्ता हुँ भन्दै व्यवसायीसँग चन्दा माग्ने अर्जुन राउत र रामकुमार डीसीलाई कास्कीबाट प्रहरी र नेकपा कास्कीको संयुक्त सहकार्यमा पोखराबाट पक्राउ गरिएको छ ।

पोखरा भद्रकाली मार्गमा रहेको एक खाद्यान्न पसलमा विगत लामो समयदेखि धम्की दिँदै आफू विप्लव नेकपाका कार्यकर्ता हुँ भन्दै मोटो रकम माग गरेको बताइएको छ । यसै क्रममा पसले विशाल थापाले नेकपा कास्कीसँग यस्तो सूचना आएको बताएपछि नेकपा कास्कीले छानबिन अघि बढाएको थियो ।

लामो समयको छानबिनपछि नेकपा कास्कीले आफ्नो नाममा यस्ता गलत क्रियाकलाप गर्नेलाई जिल्ला प्रहरीसँग सहकार्य गरेर नियन्त्रणमा लिन भनेको बताइएको छ । यसैअनुरूप चन्दा माग्ने गिरोह आउने खबर पाएपछि जिप्रका कास्की र नेपाल कम्युनिस्ट पार्टी कास्कीको सहकार्यमा उनीहरूलाई पोखराको हल्लनचोकबाट पक्राउ गरिएको हो । पक्राउ परेका राउत र डीसीलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा लगेर थप अनुसन्धान हुने बताइएको छ । उनीहरूले व्यवसायी थापासँग दुई लाख नगद माग गरेको रसिदसमेत भेटिएको पोखराबाट रमाकान्त बास्तोलाले तयार पारेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :