दैलेखमा सरकारी कर्मचारीले निजी विद्यालयमा छोराछोरी पढाउन नपाउने

 

दैलेखको गुराँस गाउँपालिकाले निजी विद्यालयमा छोराछोरी पढाएका ३० जनालाई जरिबाना तोकेरै पत्र काटेको छ । गाउँपालिकाभरिका शिक्षक, अन्य सरकारी कर्मचारी सबैले अनिवार्य रूपमा आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने, त्यसो नगरेमा जरिबाना तिर्नुपर्ने नीति गत आर्थिक वर्षको गाउँसभाबाटै पारित गरिएको थियो ।
गाउँसभाले पारित गरेको नीतिविपरीत काम गरेका ३० जनालाई जरिबाना तोकेर पालिकाले पत्र पठाएको छ । पालिकाको पत्रमा नीति उल्लङ्घन गरेको भन्दै १० हजार जरिबानासमेत तोकिएको छ ।
आर्थिक वर्ष ०७६–७७ मा कार्यान्वयन गर्ने गरी नीति लागू गरिएको थियो । करिब १०० जना सरकारी कर्मचारीलाई पालिकाले नीति पारित गरिसकेको भन्दै छलफल गरेको थियो । त्यसमध्ये गत वर्षको रेकर्डमाथि छानबिन गर्दा करिब ७० जनाले सरकारी विद्यालयमा पठनपाठन सुरु गरिसकेको र बाँकी ३० लाई पत्र काटिएको जानकारी गाउँपालिकाका अध्यक्ष खेमराज वलीले दिए । वलीले भने, ‘हामीले सरकारी विद्यालयमा निजी विद्यालयसरहको सुविधा, भौतिक संरचना र शिक्षकको पढाइ व्यवस्थापनमा पनि उत्तिकै ध्यान दिएका छौँ ।’
गाउँपालिकाबाट लाभको पद धारण गर्ने जनप्रतिनिधि र सबै कर्मचारीका लागि नियम अनिवार्य छ । अन्य सरकारी कर्मचारीले समेत यो नियम मान्नुपर्ने कानुन पालिकाले पारित गरिसकेकाले आफूहरूले कार्यान्वयन मात्र गरिदिएको गुराँस गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले बताए ।– रासस

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :