कोरोनाको समाचार लेख्ने ७१ जना सञ्चारकर्मी नै कोरोना सङ्क्रमित

कोरोना सङ्क्रमणका समाचार लेख्ने, बोल्ने र प्रसारण गर्ने सञ्चारकर्मी नै कोरोनाको उच्च जोखिममा पर्न थालेका छन् । नेपालमा देशभरका ७ मध्ये ६ प्रदेशमा ७१ जना सञ्चारकर्मीलाई कोरोना सङ्क्रमण भइसकेको सार्वजनिक भएको छ । यसअघि सुरक्षाकर्मी र स्वास्थ्यकर्मी कोरोना सङ्क्रमणबाट बढी प्रभावित हुँदै आएका थिए ।
नेपाल पत्रकार महासङ्घले ६ प्रदेशका ७१ जना सञ्चारकर्मी कोरोना सङ्क्रमित भएको जनाएको छ । सुदूरपश्चिमका सञ्चारकर्मीमा भने कोरोना सङ्क्रमण नपाइएको समाचारमा जनाइएको छ ।
प्राप्त जानकारीअनुसार प्रदेश १ मा १३ जना पत्रकार कोरोना सङ्क्रमित भएका छन् । त्यसमा मोरङका १२ र उदयपुरका १ जना रहेको जनाइएको छ । प्रदेश २ मा २७ जना पत्रकार सङ्क्रमित भएका छन् । त्यसमा पर्साका १३, बाराका ४, धनुषाका २, सप्तरीका ३, सर्लाहीका ३, महोत्तरीका १ र रौतहटका १ जना छन् । ३ नं प्रदेश अर्थात् बागमतीमा ११ जना पत्रकार सङ्क्रमित भएका छन् । त्यसमा काठमाडौंका ९ र ललितपुरका २ जना रहेको समाचारमा जनाइएको छ ।
प्राप्त समाचारअनुसार गण्डकी प्रदेशका ८ जना सञ्चारकर्मी कोरोना सङ्क्रमित पाइएका छन् । त्यसमध्ये कास्कीका १ र नवलपुरका ७ जना छन् । प्रदेश ५ मा बाँकेका २, बर्दियाका १, कपिलवस्तुका ६ र रुपन्देहीका २ गरी ११ जना सङ्क्रमित भएका छन् । कर्णालीकी दैलेख जिल्लामा १ जना पत्रकार सङ्क्रमित भएका छन् ।
नेपाल पत्रकार महासङ्घले विज्ञप्ति जारी गर्दै कोरोना सङ्क्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मीहरूको निःशुल्क पीसीआर परीक्षणको व्यवस्थाका साथै सङ्क्रमित सबै पत्रकारहरूको उपचारको उचित व्यवस्था गर्न सरकारसँग माग गरेको छ । महासङ्घले कोरोना महामारीको विषम परिस्थितिमा आफ्नो पेसागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका साथ सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्दै स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न आग्रह पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :